हमासले इजरायल दिएको अकल्पनीय धमासको भित्री १० कारण

हमासले इजरायल दिएको अकल्पनीय धमासको भित्री १० कारण
Picture : Google
www.europenepalikhabar.com २०८० असोज २३ गते मंगलबार, 10-10-2023


इजरायल र सशस्त्र प्यालेस्टिनी समूह ‘हमास’ को द्वन्द्वमा हालसम्म झण्डै एक हजारजनाले ज्यान गुमाइसकेका छन् । १० जना नेपालीको समेत निधन भएको छ । इजरायलमा पढ्न गएका नेपाली विद्यार्थीहरू सुतिरहेको स्थानमा बम खसाइएको थियो ।

हमासले गरेको बर्बर आक्रमण र यसको जटिलताले अहिले विश्वभरका नेताहरूलाई स्तब्ध पारेको छ । हमासको यो कदम इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुको सरकारका निम्ति गम्भीर चुनौती हुने देखिन्छ । सरकारले औपचारिक युद्धको घोषणा गरिसकेको छ ।

सशस्त्र विद्रोहीको रूपमा चिनिएको समूह हमास आखिर के हो ? हमासले यो युद्ध किन सुरू गर्‍यो ? जानौँ केही तथ्य-

– हमास के हो ?

अरबी भाषाको शब्द ‘हमास’ लाई शाब्दिक अर्थमा कुनै कारण वा उद्देश्यको खोजीमा बोकिने ठूलो ऊर्जा वा जोस भनेर बुझ्न सकिन्छ । यो एउटा इस्लामिक प्रतिरोध आन्दोलन हो । हमास समूहले इजरायलको विनाश गर्ने शपथ खाएको छ र यसलाई एउटा इस्लामिक राज्यद्वारा विस्थापित गर्न चाहन्छ ।

हमासले लगभग ३६५ वर्गकिलोमिटर (१४१ वर्ग माइल) को क्षेत्रमा रहेको गाजापट्टिलाई राजनीतिकरूपमा नियन्त्रण गर्ने गर्दछ, जहाँ २० लाखभन्दा बढी मानिसहरू बसोबास गर्छन् । प्यालेस्टिनी प्राधिकरण र प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ) का प्रमुख महमूद अब्बासको वफादार ‘फताह सेना’ हरू विरुद्धको छोटो युद्धपछि सन् २००७ देखि हमास गाजापट्टीको सत्तामा आएको हो । त्यसयता हमासले कयौंपटक इजरायलविरुद्ध लडाइँ गरिसकेको छ । यी लडाइँहरूमा हमासले इजरायलतर्फ हजारौंको संख्यामा रकेट प्रहार गरेको छ । इजरायलले पनि बारम्बार हमासमाथि हवाई कारवाही गर्नुका साथै इजिप्टसँग मिलेर गाजापट्टीमा नाकाबन्दी लगाएको छ ।

हमास कहिले गठन भयो र यसको उद्देश्य के हो ?

‘पहिलो इन्तिफादा (प्यालेस्टिनी इलाका र इजरायलमा प्यालेस्टिनीहरूद्वारा गरिएको विरोध प्रदर्शन र हिंसात्मक दंगाहरूको निरन्तर श्रृंखला)’ अर्थात प्यालेस्टिनी क्षेत्रहरूमा इजरायलको कब्जाविरुद्धको विद्रोह सुरू भएको केही समयपछि इमाम शेख अहमद यसिन र उनका सहयोगी अब्दुल अजिज अल-रन्तिसीद्वारा सन् १९८७ मा गाजामा हमास आन्दोलन सुरू भएको थियो ।

यो आन्दोलन इजिप्टमा मुस्लिम ब्रदरहुडको एक शाखाको रूपमा सुरू गरिएको थियो । शाखासँगै ऐतिहासिक प्यालेस्टाइनलाई स्वतन्त्र गराउने उद्देश्यले इजरायलविरुद्ध सैन्य शाखा इज अल-दिन अल-कसम ब्रिगेड्सहरूको सिर्जना गरियो । यसले इजरायली कब्जाबाट पीडित प्यालेस्टिनीहरूलाई सामाजिक कल्याणका कार्यक्रमहरू पनि गर्दछ । मूलत यो इजरायललाई समाप्त पार्नकै लागि गठन गरिएको इस्लामिक संगठन हो ।

– हमासका सिद्दान्तहरू के हुन् ?

हमासले इजरायलको राज्यलाई मान्यता दिँदैन, र १९६७ सिमानामा रहेको प्यालेस्टिनी राज्यलाई मान्छ । हमासले सन् १९९० को मध्यमा इजरायल र पीएलओले गरेको ओस्लो शान्ति सम्झौताको हिंसात्मकरूपमा विरोध गर्दछ ।

‘दबाब र कब्जाहरू जतिसुकै लामो भए तापनि हामी प्यालेस्टिनी गृह माटोको एक इन्च पनि छोड्ने छैनौं,’ प्यालेस्टिनी समूहका निर्वासित नेता खलिद मेसालले सन् २०१७ मा भनेका थिए ।

हमास औपचारिकरूपमा आफ्नो सीमाभित्र प्यालेस्टाइन राज्य स्थापना गर्न प्रतिबद्ध छ । कब्जा गरिएको प्यालेस्टाइन क्षेत्र र इजरायल दुबैमा बसोबास गर्ने इजरायली सैनिकहरू र नागरिकमाथि आक्रमण गर्ने हमासको घोषित उद्देश्य हो । यस समूह वा यसको सैन्य शाखालाई इजरायल, संयुक्त राज्य अमेरिका, युरोपेली संघ, क्यानडा, इजिप्ट र जापानले आतंकवादी संगठनको सूचीमा राखेका छन् ।

हमासका सहयोगी को हुन् ?

हमास क्षेत्रीय गठबन्धनको हिस्सा हो, जसमा इरान, साइरिया र लेबनानमा रहेको ‘हेजबोल्लाह’ समुह समावेश छ । यस गठवन्धनले मध्यपूर्व र इजरायलले पछ्याउने अमेरिकी नीतिहरूको विरोध गर्दछ । ‘हमास’ र ‘इस्लामिक जिहाद’ सो क्षेत्रकै दोस्रो ठूलो सशस्त्र समूह हुन् जो प्रायः इजरायलविरुद्ध एकजुट हुने गर्दछन् ।

हमास र इस्लामिक जिहाद गाजामा विभिन्न सशस्त्र समुहहरूबीच सैन्य गतिविधिको समन्वय गर्ने संयुक्त अपरेशन कोठाका सबैभन्दा महत्वपूर्ण सदस्यहरूसमेत हुन् । हमासले इजरायलविरुद्धको आक्रमण रोक्न इस्लामिक जिहादलाई दबाब दिएपछि अहिले दुई समूहबीचको सम्बन्ध केही तनावपूर्ण बनेको छ ।

गाजापट्टी भनेको के हो ?

इजरायल, इजिप्ट र मेडिटेरियन सागरबीच रहेको ४१ किलोमिटर लामो र १० किलोमिटर फराकिलो क्षेत्र गाजापट्टीका रूपमा परिचित छ । यो संसारमै धेरै जनघनत्व भएको क्षेत्रमा पर्छ, जहाँ २३ लाख मानिसहरू बस्छन् ।

गाजामाथिको हवाइ क्षेत्र इजरायलको अधिनमा छ । यसको सीमानाबाट केकस्ता वस्तुहरूलाई भित्र-बाहिर गर्न दिने वा नदिने पनि इजरायलको हातमा छ । साथै, गाजामा आउने जाने मानिसहरूलाई इजिप्टले नियन्त्रण गर्छ । गाजामा बसोबास गर्ने ८० प्रतिशतभन्दा बढी जनसंख्या अन्तर्राष्ट्रिय सहायतामा निर्भर छन् । १० लाख मानिसहरू दैनिक खाद्यान्न सहायताको भरमा बाँचिरहेका छन् ।

प्यालेस्टाइन र इजरायलको द्वन्द्व किन सुरू भयो ?

पश्चिमी किनारा र गाजा, जुन प्यालेस्टिनी क्षेत्रका रूपमा परिचित छन्, साथसाथै पूर्वी जेरुसेलम र इजरायल सबै भूमिहरूलाई रोमनको समयदेखि प्यालेस्टाइन भन्ने गरिन्थ्यो । यी भूमिहरू बाइबलमा यहुदी राज्यका रूपमा उल्लेखित छन् र यहुदीहरूले यसलाई आफूहरूको प्राचीन मातृभूमि मान्ने गर्छन् ।

सन् १९४८ मा इजरायल अलग राज्यका रूपमा घोषणा भयो । तर, यसलाई मान्यता नदिएका समूहहरूले इजरायललाई अझै पनि प्यालेस्टाइनको भूमि मान्ने गर्छन् । प्यालेस्टिनीहरूले पश्चिमी किनारा, गाजा र पूर्वी जेरुसेलमलाई संयुक्तरूपमा प्यालेस्टाइन भन्ने गर्छन् ।

– इजरायलमा शनिबारको आक्रमणको कारण के हो ?

कुनै पूर्वचेतावनीविना हमासले शनिबार इजरायलमाथि भीषण हमला गर्‍यो । अल जजिराका अनुसार हमासका प्रवक्ता खालिद कादोमीले हमासले गरेको सैन्य कारबाही प्यालेस्टिनीहरूले दशकौंदेखि सामना गरेको अत्याचारको जवाफमा हो ।

‘हामी चाहन्छौं कि अन्तर्राष्ट्रिय समुदायले प्यालेस्टिनी जनता र अल-अक्सा (मस्जिद) जस्ता हाम्रा पवित्रस्थलहरू विरुद्ध गाजामा हुने अत्याचारहरू बन्द गरोस् । यी सबै कुरा नै यो लडाइँ सुरू गर्नुको मूल कारण हो,’ उनले भने ।

शनिबार सुरू गरेको आक्रमणलाई हमासको अहिलेसम्मकै सबैभन्दा महत्वाकांक्षी कारवाहीका रूपमा हेरिएको छ । इजरायलले एक पुस्ता क्रस बोर्डरमा सामना गरेको सबैभन्दा गम्भीर आक्रमणका रूपमा पनि यसलाई लिइएको छ । लडाकुहरूले थुप्रै स्थानमा गाजा र इजरायललाई छुट्याउने तारहरू तोडेका छन् ।

हमासले शनिबारका आक्रमणहरू शुरुवात मात्र भएको बताउँदै अन्य समूहहरूलाई पनि लडाइँमा सामेल हुन आह्वान गरेको छ ।

– के हमासले सर्वसाधारणलाई निशाना बनाइरहेको छ ?

हमासका वरिष्ठ प्रवक्ता ओसामा हमदानले आफ्नो समूहले नागरिकहरूलाई आक्रमण नगरेको दाबी गरेका छन् । यद्यपि शनिबारको लडाइँमा, हमास समूहको आफ्नै भिडिओहरूमा वृद्ध इजरायलीहरूलाई बन्धक बनाएको देखाइएको छ ।

एम्नेस्टी इन्टरनेशनलजस्ता अधिकार समूहहरूले पनि इजरायली नागरिक हमासद्वारा मारिएको कुरा औंल्याएका छन् । तर, हमदानले भने आफ्नो समूहले अवैध बस्तीमा बसोबास गर्नेहरूलाई मात्र आक्रमण गरेको कुरामा जोड दिएका छन् ।

– हमासले कसरी आक्रमण गर्न सफल भयो ?

हमासका लडाकुहरूले धेरै इजरायलीहरूलाई एन्क्लेभ (ठूलो क्षेत्रले घेरिएको एक भाग) मा बन्धक बनाएको र लडाकुहरूले रगतले लतपतिएका सैनिकहरूलाई तानेको भिडियो सार्वजनिक भएका छन् । बन्धकहरूमा इजरायली सेनाका वरिष्ठ अधिकारीहरू रहेको दाबी गरिएको छ । जारी गरिएका भिडिओहरू तुरुन्तै पुष्टि गर्न नसकिए तापनि क्षेत्रको भौगोलिक विशेषताहरूसँग मेल खाएकाले बन्धक बनाएको हुनसक्ने अनुमान गरिएको छ ।

अहिलेको इजरायलीहरूलाई गरिएको अपहरणले सिपाही गिलाड शालितलाई गरिएको अपहरणको स्मरण गराएको छ, जसलाई हमासका लडाकुहरूले सन २००६ मा सीमापार आक्रमणमा कब्जा गरेका थिए । इजरायलले बन्दी बनाएका १,००० भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई मुक्त नगरेसम्म हमासले शालितलाई पाँच वर्षसम्म आफ्नो नियन्त्रणमा राखेको थियो ।

– अब के हुन सक्छ ?

हमासका लडाकु कमाण्डर मोहम्मद डिफले प्यालेस्टाइन र अन्य अरब राष्ट्रहरूलाई इजरायल बढार्ने अभियानमा सहयोग गर्न आह्वान गरेका छन् । अब पश्चिम किनारा र पूर्वी जेरुसेलमका मात्रै वा सबैतिरका प्यालेस्टाइनीले उनको आह्वानलाई महत्व दिन्छन् भन्ने महत्वपूर्ण प्रश्न छ ।

इजरायलले युद्धको घोषणा गरिसकेको छ । सबैभन्दा खराब अवस्थामा यसले शक्तिशाली लेननानी लडाकु समूह हजबोल्लाहलाई तान्न सक्छ । आइतबार बिहान हेजबोल्लाहले उत्तरी इजरायलमा थुप्रै संख्यामा मिसाइलहरू प्रहार गरेका थिए, तर कुनै हताहति भएन ।

इजरायली सेनाले ठूलो संख्यामा जनशक्ति भर्ती गर्ने तयारी गरेको छ । यसले गाजामा छापा मार्ने कार्यलाई पनि तीव्र तुल्याएको छ । जसको अर्थ यसले त्यहाँ ग्राउन्ड अपरेसनको तयारी गरिरहेको छ भनेर बुझ्न सकिन्छ ।

(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित