पोर्चुगलकी खुसी, सानीनानी तर विलक्षण प्रतिभाकी खानी

पोर्चुगलकी खुसी, सानीनानी तर विलक्षण प्रतिभाकी खानी
बाल कवयित्री खुसी खनाल आफ्नो पुस्तक “THE POEMS OF SMALL KHUSI” साथ
www.europenepalikhabar.com २०८० माघ ६ गते शनिबार, 20-01-2024


राजकुमार थापा / युरोपनेपाली खबर, पोर्चुगल, २० जनवरी ।

मानिस वा जीवित जीव र जीवात्माहरु अनेकौं प्रकारले आनन्दित र खुसी हुने गर्छन् वा खुसी हुन सक्छन् । खुसी आफैंमा एउटा सुन्दर अनुभवको सार्थक अभिव्यक्ति हो । भनिन्छ, "जो मानिस साना साना कुरामा पनि खुसी हुनसक्छ, उसको जीवनमा दु:ख सधैं दुर हुन्छ" । निश्चय नै नाम खुसी हुनु अनि नाम अनुसार काम र प्रतिभाले समाजमा छुट्टै पहिचान बनाउनु वास्तवमा नै कुनै पनि मानिसको जीवनमा प्राप्त अनुपम उपहार हो ।

आज यहाँ यस्तै एउटा उपहारको नाम जो विलक्षण प्रतिभाको रूपमा उदाउँदै र फक्रदैं गरेकी ९ बर्षिय सानी बालिका "खुसी खनाल" को बारेमा केही चर्चा गरिंदैछ । बुबा भक्तिप्रसाद खनाल र आमा टीका ढकाल खनालको कोखबाट जन्मिएकी खुसी अहिले आफ्नो बुबाआमाका साथ पोर्चुगलको राजधानी लिस्बनमा बस्छिन् र यहीँको स्थानीय स्कुलमा ३ कक्षामा पढ्दै छिन् ।

अबोध बालिका खुसीमा गतबर्षको अप्रिल देखि अद्भुत र विलक्षण प्रतिभा प्रष्फुटित हुन थालेको छ । उनी आँशु कवि जस्तै जुनसुकै शिर्षकमा तुरुन्तै कविता लेख्न सक्छिन् । गत बर्षको अप्रिल १३ तारीखबाट यसरी कविता लेख्न थालेकी खुसीले हालसम्म ४८० वटा पोर्चुगिस भाषामा र २५० वटा अग्रेजीमा कविता लेखिसकेकी छन् ।  “THE POEMS OF SMALL KHUSI” नामक अग्रेजी र पोर्चुगिस भाषाका उनका दुईवटा कविताका पुस्तक पनि पोर्चुगलको एक प्रकाशक संस्थाले प्रकाशित गरिसकेको छ । चाडै अर्को पुस्तक प्रकाशन हुन लागिरहेको उनका बुबाले जानकारी दिनुभयो । 

प्रतिभाशाली बालिकाको विलक्षण क्षमता अझ उजागर होस् भन्ने अभिप्रायले आज गैरआवासीय नेपाली संघ(एनआरएनए) पोर्चुगलले एक अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा सानीनानी खुसीले आफ्नो परिचय दिंदै आफुले जुनसुकै शिर्षक दिएपनि एकदिनमा एकसय वटा पोर्चुगिस र पचास वटा अग्रेजी भाषामा कविता लेख्न सक्ने कुरा बताइन् ।

आफ्ना बुबा भक्तिप्रसाद खनालका साथ उपस्थित भएकी खुसीले एनआरएनए कार्यालयमा एनआरएनए पदाधिकारी र पत्रकारहरुका सामु आयोजकहरुले बिना पुर्व जानकारी Feliz(Happy) र My Lovely Home  शिर्षकमा कविता लेख्न दिएका थिए, उनले पोर्चुगिस र अग्रेजी भाषामा ४ मिनेट ३० सेकेन्डमा दुईवटा कविता सबैसामु लाइभ लेखेर प्रदर्शन गरी उपस्थित मानिसहरुलाई खुसी मात्र तुल्याइनन् आश्चर्य चकित पनि पारिन् । कार्यक्रमको अनुभव बारेको Today शिर्षकमा उनले थप एक कविता २ मिनेट भित्र लेखेर प्रदर्शन गरिन् । 

उनका कविताका पुस्तकहरु www.khusikhanal.com मा उपलब्ध छन् र त्यहीँबाट डाउनलोड गरेर पढ्न पनि सकिन्छ।

उक्त अवसरमा एनआरएनए आइसिसी सदस्य राजकुमार थापा, एनआरएनए पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्का, वरिष्ठ उपाध्यक्ष दीपा काफ्लेले बालिकामा विलक्षण प्रतिभा देखिएको र उनलाई हौसला प्रदान गर्दै व्यापक रूपमा प्रचारप्रसार गरी राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनारी गराउनु पर्ने र यसका लागि  एनआरएनए पोर्चुगल र अन्तर्राष्ट्रिय समितिले सक्दो सहयोग र संयोजन गर्ने प्रतिवद्दता व्यक्त गरे ।

एनआरएनए पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्काको अध्यक्षता र कार्यवाहक महासचिव दीपेशबिक्रम बिष्टको संचालनमा भएको कार्यक्रममा बालिकाका बुबा भक्तिप्रसाद खनालले आफ्नी छोरीको पढाईलेखाइ, दैनिकी र उनमा देखिएको असाधारण क्षमताबारे प्रकाश पार्दै पोर्चुगलको नेपाली समुदायलाई छोरी खुसीको प्रतिभालाई सबैतिरबाट उजागर गरिदिन आग्रह गरे । कार्यक्रममा एनआरएनए पोर्चुगलका पदाधिकारी तथा सदस्यहरु र अनेसास पोर्चुगलका महासचिव एनबी अन्जानको पनि उपस्थिति थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित