पूर्व राजा ज्ञानेन्द्र सिंहदरबार पुग्दा किन देखियो यस्तो दृश्य, यसले के संकेत गर्दछ ?

पूर्व राजा ज्ञानेन्द्र सिंहदरबार पुग्दा किन देखियो यस्तो दृश्य, यसले के संकेत गर्दछ ?
युरोपनेपाली खबर २०७८ पुष २७ मंगलबार, 11-01-2022


हतपत्त सार्वजनिक कार्यक्रममा ननिस्कने पूर्वराजा ज्ञानेन्द्र शाह आज पृथ्वी जयन्तिको अवसर पारेर सिंहदरबारको मूलगेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न निस्किए।पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ति एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर शाह उक्त स्थानमा पुगेका थिए।

शाह पुग्ना साथ अत्याधिक भिड बढेकाले ट्राफिक र स्वयंसेवकलाई नै भिड व्यवस्थापन गर्न हम्मे–हम्मे परेको थियो।उनी त्यहाँ पुग्नसाथ हजारौँ कार्यकर्ता र शुभेच्छुकले उनको पक्षमा नाराबाजी गर्न थाले । सरकारले आइतबार सूचना जारी गर्दै २५ जनाभन्दा धेरै मानिस भेला हुन नपाउने नियम बनाएपनि आज सो अवसरमा कोरोना र सरकारी निर्देशनलाई कुनै वास्ता गरेनन्। कार्यक्रममा हजारौं मानिसहरुको उपस्थिति रहेको थियो।

स्वतस्फुर्त ढंगले हजारौँ नागरिक राष्ट्रिय झण्डा बोकेर जनसागरको रुपमा उत्रिएका थिए। हिन्दु धर्मका विभिन्न धर्मगुरु, बाबादेखि विभिन्न समुदायका मानिसहरुले आफ्नो मौलिकता अनुसारको सांस्कृतिक प्रदर्शन गरेका थिए।गणतन्त्र घोषणा हुनुभन्दा पहिले सरकारले राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक विदा दिने गरेको भएपनि देश संघीय गणतान्त्रिक व्यवस्थामा गएपछि बिदा दिने चलन हटेको छ।

यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा विभिन्न राजनीतिक दलका नेताहरुले पृथ्वीनारायण शाहको योगदानलाई उच्च प्रशंसा गर्दै शुभकामना भने ब्यक्त गरेका छन्। र, आजको दिनलाई राष्ट्रिय एकता दिवसकै रुपमा मानेका छन्।यो अवसरमा गणतन्त्रपछिका सरकारले सार्वजनिक बिदा दिन हिच्किचाए पनि पृथ्वीनारायण शाह नभएको भए नेपाल देशको अस्तित्व नरहने भन्नेमा कुनै शंका नभएको कुरा भने स्वीकार गरेका छन् ।

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, पर्यटनमन्त्री प्रेमबहादुर आले लगायत विभिन्न राजनीतिक दलका नेता तथा पूर्वमन्त्रीहरुको उपस्थिति रहेको थियो ।उपस्थित अधिकांक्ष नेताहरुले पृथ्वीनारायण शाहको योगदानकै कारण नेपाली भन्ने पहिचान रहेको बताए। तर पूर्वराजाले भने कुनैपनि टिप्पणी गरेनन्।

उनको आगमन हुनसाथ राजसंस्था र राष्ट्रियताको पक्षमा चर्को नारा लागिरहेको थियो।

हँसिला अनुहारका पूर्वराजा उक्त जनलहर र उनीप्रतिको आकर्षणले थप चम्किला भएका थिए। बाक्लो भिडका कारण उनले राम्रोसँग पुष्पगुच्छा पनि चढाउन सकेनन्। परैबाट सहयोगीको साथमा माल्यार्पण गरेर हात हल्लाएर बिदा भए।उनले हात हल्लाउँदा मात्र पनि जनलरहले उनको पक्षमा चर्को नारा लगाइरहेको थियो।

यसरी सिंहदरबारकै अगाडि अहिलेका नेता र उनीहरुका आचरणविरुद्ध चर्को नारा लागिरहँदा नेपाली जनतामा अहिलेको व्यवस्थाभन्दा पूर्वराजाप्रति आकर्षण बढेको भन्ने पनि केहीले तर्क गरेका छन् ।गणतन्त्रपछि सम्भवतः पूर्वराजा शाह पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पहिलो पटक निस्केका हुन्।

अहिलेको व्यवस्था र नेताहरुको रवैयाका कारण नागरिक चरम निराशामा पुगेका छन् भन्ने मनोविज्ञान पनि पूर्वराजाले राम्रोसंग बुझेका छन्।त्यसैलेपनि उनी बेला बेला सार्वजनिक हुन्छन् र संकेतिक रुपमै जनमत जित्न र जनताको मनोविज्ञान बुझ्न उनलाई कुनै सकस पर्दैन। उनको बेला बेलामा हुने तीर्थ भ्रमण होस् वा एल.ओ.डि रात्रीक्लबमा गएर हात हल्लाएर नाच्दा समेत गणतन्त्रका मसिहा हुँ भन्ने नेताहरु झस्कने गर्दछन्।

त्यसैले पूर्वराजाको आजको कार्यक्रमपनि अर्थपूर्ण रुपमा हेरिएको छ। कोरोनाको नयाँ कहर त्यसमाथि कुनै तयारीबिना भएको कार्यक्रमा हजारौँ नागरिकले उपस्थिति जनाउँदै उनको पक्षमा नारा लगाउनुले कतै गणतन्त्र संकटमा त छैन ? भन्ने प्रश्न उब्जेको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित