युरोपनेपाली खबर, लिस्बन । सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपालको धादिङ जिल्ला घर भएका दुई नेपाली युवाको शव भेटिएको छ ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङ र यसैगरी सोही गाउँपालिकाको एकै वडाका अर्का युवा ३० वर्षीय धनबहादुर तामाङको केही दिन अघिपछि गरेर शव समुद्री किनारमा भेटिएको हो ।
समुद्रमा बेपत्ता भएकाहरुको शव भेटिएको र आफन्त, हस्पिटलबाट पनि डाक्टरहरुले पहिचान गरिसकेको स्थानीय प्रहरी र हस्पिटललाई उद्धृत गर्दै खोजीकार्यमा सक्रिय समन्वय गरिरहेका तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योन्जनले जानकारी दिए । परिवारको आग्रहमा दुवैको शव नेपाल पठाउन सहयोगका लागि पोर्चुगलको नेपाली समुदायसंग अध्यक्ष योन्जनले आग्रह समेत गरेका छन् ।
गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सि फुड) खोज्ने क्रममा टेकबहादुर तामाङ र धनबहादुर तामाङको समुद्रमा डुबेर बेपत्ता भएका थिए ।
परिवारको आग्रहमा दुवै जनाको शव नेपाल पठाउन लागिएको र यसका लागि कागजीलगायतका आवश्यक प्रक्रियाको तयारी भइरहेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए ।
वैदेशिक रोजगारीको सिलसिलामा चार महिनाअघि क्रोसिया आएका टेकबहादुर एक महिनाअघि मात्रै पोर्चुगल आएका थिए भने धनबहादुर फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए ।
नाताले काकाभतिज पर्ने दुवै जना लिस्बन नजिकैपर्ने मोन्तिजोमा सँगै बस्दै आएका थिए । अहिले यी दुवैको शव लिस्बनस्थित साओ जोसे अस्पतलामा राखिएको छ ।
FOUNDER/CHIEF EDITOR :