महारानीको निधनसंगै अब बेलायतमा के के परिवर्तन हुनेछ ?

महारानीको निधनसंगै अब बेलायतमा के के परिवर्तन हुनेछ ?
www.europenepalikhabar.com २०७९ भदौ २४ गते शुक्रबार, 9-09-2022


लन्डन — बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनले बेलायत राष्ट्रिय शोकमा डुबेको छ । बेलायती नागरिकहरु महारानीको कार्यालय रहेको बकिङ्घम प्यालेस, निवास बिन्जर क्यासल, बालमोरल क्यासल, सान्ड्रिघमलगायत अघि भेला भई उनको सम्मानस्वरुप पुष्पगुच्छा अर्पण गर्नुका साथै तथा मैनबत्ती प्रज्ज्वलन गरिरहेका छन् ।

महारानीको निधनले विश्व राजनीतिमा अपूरणीय क्षति भएको भन्दै विश्वभरका नेता तथा सर्वसाधारणले दु:ख व्यक्त गरेका छन् ।

९६ वर्षीय महारानी एलिजावेथको स्कटल्यान्डस्थित बाल्मोरल दरबारमा बिहीबार निधन भएको थियो । २ दिन पहिले मात्र महारानीले बाल्मोरल दरबारमा लिज ट्रसलाई बेलायती प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । सन् १९५२ मा पिता जर्ज छैटौंको निधनपछि एलिजावेथले राजगद्दी सम्हालेकी थिइन् । ७० वर्षसम्म एकछत्र गद्दीमा रहेकी उनी बेलायतको इतिहासमै सबैभन्दा लामो समयसम्म राजगद्दीमा रहहने राष्ट्राध्यक्ष हुन् । उनी बेलायतलगायत १४ वटा मुलुकको राष्ट्र प्रमुख थिइन् ।

बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्य सुवेदीले महारानी एलिजावेथको निधनलाई ‘एक युगको अन्त्य’ को रुपमा अथ्र्याएका छन् । ‘हामी जीवनको अधिकांश समय महारानी छन् भनेर हुर्किएका हौं । उनको निधनले सारै दु:खी भएका छौं,’ उनले भने । आफूले महारानीबाटै लन्डन विश्वविद्यालय सोआसमा क्राउन रिप्रेजेन्टेटिभ, नेपाली नागरिकका रुपमा पहिलो ओबीई र क्यूसी गरी तीन वटा नियुक्ति पाएको स्मरण गर्दै उनले महारानीको जीवनबाट सबैले सिक्नुपर्ने पाठ धेरै भएको बताए । ‘बेलायतमा राजनीतिक स्थायित्व प्रदान गर्न महारानीको ठूलो योगदान थियो । उनको निधन बेलायतका लागि मात्र नभई, संसारकै लागि अपुरणीय क्षति हो,’ उनले भने ।

४३ वर्षदेखि बेलायतमा बसोबास गर्दै आएका वरिष्ठ चिकित्सक राघवप्रसाद धिताल (ओबीई) ले पनि महारानीको निधनबाट आफू अत्यन्तै दु:खी भएको बताए । ‘उहाँ मुलुक र मुलुकवासीका बारेमा सोच्ने, एकदमै राष्ट्रवादी र कमनवेल्थलाई कसरी फाइदा हुन्छ भनेर कदम चाल्ने एक गैर राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो,’ डा. धितालले भने । बेलायतमा राजसंस्था निकै जनप्रियसमेत रहेको उनको बुझाइ छ ।

ब्राइटनस्थित युनिभर्सिटी अफ ससेक्समा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनमा स्नातकोत्तर गरिरहेकी सरिता सुवेदीले बकिङ्घम प्यालेसमा दिवंगत महारानीप्रति श्रद्धाञ्जलि अर्पण गर्न आएका सर्वसाधारणको भीड छिचोलि नसक्नु भएको बताइन् । ‘यसले बेलायतमा राजसंस्था र महारानीको लोकप्रियता कति रहेछ भन्ने स्पष्ट हुन्छ,’ उनले भनिन् ।

दिवंगत महारानीको सम्मानमा शुक्रबार इंग्ल्यान्डको विन्डसर कास्टलअघि गुलाबको फूल अर्पण गर्दै एक बालिका । तस्बिर : एपी

चार्ल्स तृतीय बने नयाँ राजा

७० वर्षसम्म शासन चलाएकी आमा एलिजावेथको निधनसँगै अब उक्त जिम्मेवारी छोरा चार्ल्स को काँधमा आएको छ । ‘प्रिन्स चार्ल्स ’ का रुपमा रहेका उनलाई अब ‘महाराजा चार्ल्स तृतिय’ को नामले पुकारिनेछ । संवैधानिक राजाको रुपमा उनको भूमिका सीमित हुनेछ तर राष्ट्राध्यक्ष तथा राष्ट्र मण्डलको नेताको रुपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछन् ।

निधनका समय आमासँगै रहेका राजा चार्ल्स तृतीय शुक्रबार स्कटल्यान्डबाट फर्किएका छन् । राजाको कार्यालय बकिङघम प्यालेस आइपुग्दा उनलाई त्यहाँ उपस्थित सयौं सर्वसाधारण र शुभेच्छुकलले समवेदना व्यक्त गरेका थिए । उनले सबैमाझ हात हल्लाउँदै र पुष्पगुच्छा स्विकार्दै अभिवादन गरेका थिए । उनले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।

राजा चुनिएसँगै चार्ल्स सामु महत्वपूर्ण जिम्मेवारी मात्र होइन, चुनौतीसमेत छन् । ‘महारानी एलिजाबेथले राज्यारोहण गर्ने बेलाको बेलायत र चार्ल्स ले राज्यारोहण गर्ने बेलाको बेलायतमा धेरै नै फरक आइसकेको छ,’ बीबीसीसँग कुरा गर्दै प्राध्यापक भर्नन बोगदानरले भनेका छन्, ‘अहिले ब्रिटेन बहुजातीय र बहुधार्मिक मुलुक बनिसकेको छ । नयाँ राजाले सबै धर्म र सम्प्रदायका मानिसहरुसँग सम्पर्क बढाउने छन् भन्ने आशा छ ।’

यसअघि चार्ल्स सँगै प्रिन्सेस ट्रस्टमा काम गरेका सर लोयड डर्फम्यान भने राजा भइसकेपछि पनि चार्ल्स ले जलवायु परिवर्तन तथा प्रांगारिक खेतीजस्ता उनको मन छोएका विषयहरु तुरुन्तै छाड्न नसक्ने आकलन गर्छन् । ‘उहाँ निकै ज्ञानी र सबैमाझ प्रभाव छोड्ने खालको हुनुहुन्छ । त्यसैले राजा बन्नासाथै उहाँले यी विषय छोड्नु होला जस्तो मलाई लाग्दैन,’ उनले भने ।

बेलायती मुद्रा र राहदानीको भविष्य के ?

महारानी एलिजावेथको निधनसँगै उनको तस्बिर अंकित मुद्रा, छाप, नोट र राहदानीको भविष्य के होला ? नयाँ राजाका रूपमा चार्ल्स चुनिएसँगै के ती सबै वस्तुले कानुनी वैधता गुमाउनेछन् ? हरेक बेलायतीका लागि वर्षौंदेखि अभिन्न अंगजस्तै बनेका उल्लेखित विभिन्न वस्तु तथा माध्यममा अंकित महारानीको तस्बिर वा पोट्रेटलाई लिएर अब आमजनधारणा कस्तो बन्ला भन्ने पनि आमचासो छ । तर, महारानीको तस्बिर अंकित मुद्रा तत्कालै हट्ने भने छैन ।

बेलायती मुद्रा प्रकाशन गर्दै आएको कम्पनी द रोयल मिन्टले नयाँ राजा चुनिएसँगै उनको तस्बिर अंकित मुद्रा कस्तो हुने र कहिलेदेखि प्रकाशन गर्नेबारे अहिल्यै केही खुलाइसकेको छैन । कम्पनीका अनुसार महारानीको तस्बिर अंकित करिब २९ अर्ब थान मुद्रा बजारमा छन् । ती मुद्रा वर्षौंसम्म बजारमा रहिरहने र नयाँ मुद्रा बजारमा निष्काशन हुन थालेपछि क्रमश: विस्थापित हुँदै जाने बताइएको छ ।

राजगद्दी सम्हालेको ७० वर्ष लामो अवधिमा एलिजावेथका फरक–फरक तस्बिर अंकित गरी ५ पटक मुद्रा छापिएको छ । पछिल्लो पटक उनी ८८ वर्षको हुँदा सन् २०१५ मा नयाँ स्वरूपको मुद्रा बजारमा ल्याइएको थियो । नोटमा भने सन् १९६० बाट मात्रै उनको तस्बिर अंकित हुन थालेको हो । पहिलो पटक स्कटिस र नर्दन आइरिस बैंकले एक पाउन्डको नोटमा उनको तस्बिर राखेको थियो । अहिले ८० अर्ब पाउन्ड बराबरका करिब ४ अर्ब ५० करोड थान नोट बजारमा छन् । यी सबै नोट र मुद्राले अहिले नै कानुनी वैधता नगुमाउने द बैंक अफ इंग्ल्यान्डले जनाएको छ । यदि परिवर्तन या नयाँ नोटसँग साट्नुपर्ने भएमा बैंकले सूचना जारी गर्नेछ ।

रोयल मिन्ट कम्पनीले सन् २०१८ मा चाल्सको ७० औं जन्मदिनका अवसरमा विशेष मुद्रा प्रकाशन गरेको थियो । धेरैले नयाँ मुद्रा सोही स्वरूपकै हुने आकलन गरिरहेका छन् । उक्त मुद्रामा दायाँतर्फ हेरेको चाल्सको तस्बिर अंकित थियो । तर, नयाँ राजाको तस्बिर मुद्रामा अंकित गर्दा त्यसको स्वरूप परम्पराअनुसार नै निर्धारण गर्ने प्रचलन छ । बेलायत सरकारले मुद्रा निष्काशनसम्बन्धी निर्णय गरेपछि मात्रै दक्षिण वेल्सको लान्ट्रिसान्टस्थित रोयल मिन्टको कारखानामा चाल्सको तस्बिर अंकित मुद्राको छपाइ हुनेछ ।

नयाँ राजा चयन भएसँगै सरकारी छाप र पोस्ट बक्सको स्वरूपसमेत परिवर्तन हुनेछ । तर, कहिलेदेखि भन्ने निक्र्योल भइसकेको छैन । बेलायतको सरकारी हुलाकी सेवा दिने निकाय रोयल मेलले पछिल्लो पटक सन् १९६७ मा एलिजावेथको तस्बिर अंकित छाप प्रकाशन गरेको थियो । जुन चिठीपत्र र पार्सलमा अहिलेसम्म पनि प्रयोग हुँदै आएको छ । केही समययता उक्त छापको प्रकाशन बन्द गरेको रोयल मेलले उक्त डिजाइनलाई परिवर्तन गर्ने प्रक्रिया अघि बढाएकै बेला एलिजावेथको निधन भएपछि उक्त प्रक्रिया केही समयका लागि स्थगन हुने भएको छ ।

सरकारी छाप र पोस्ट बक्सका अलावा हाल जारी हुँदै आइरहेको ‘हर म्याजेस्टी’ अंकित सबै बेलायती राहदानीको समेत वैधता तत्काल सकिने छैन । अब जारी हुने नयाँ राहदानीमा भने ‘हिज म्याजेस्टी’ उल्लेख हुने जनाइएको छ । इंग्ल्यान्ड र वेल्सका प्रहरीको हेल्मेट प्लेटमा अब एलिजावेथको सट्टा चाल्सको तस्बिर अंकित हुनेछ ।

हाल बेलायतको राष्ट्रगानमा ‘ईश्वरले महारानीको रक्षा गर्नेछन्’ उल्लेख छ । चार्ल्स ले आधिकारिक रूपमा राजगद्दी सम्हालेपछि सेन्ट जोसेफ प्यालेसको बालकोनीबाट नयाँ राष्ट्रगान सार्वजनिक गर्नेछन् । जसमा ‘ईश्वरले राजाको रक्षा गर्नेछन्’ उल्लेख हुनेछ । पछिल्लो पटक सन् १९५२ सम्म मात्रै राष्ट्रगानमा उक्त वाक्य समेटिएको थियो ।

-नवीन पोखरेल, लन्डन, इकान्तिपुर । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित