गैरआवासीय नेपाली नागरिकता पाउने बाटो खुल्दै

गैरआवासीय नेपाली नागरिकता पाउने बाटो खुल्दै
www.europenepalikhabar.com २०८० जेठ १२ गते शुक्रबार, 26-05-2023


पोर्चुगल । गैरआवासीय नेपालीहरुले नागरिकता पाउने प्रावधान समेत रहेको नागरिकता विधेयक  सरकारले संघीय संसदबाट पारित भएर राष्ट्रपति कार्यालयमा  प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले गत असोजदेखि राष्ट्रपति कार्यालयमा निर्णयविहीन अवस्थामा रहेको विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

प्रमाणीकरण नगरी राष्ट्रपतिको कार्यालयमा त्यत्तिकै थन्किएर रहेको नागरिकता विधेयक कसरी टुंगो लगाउने भन्नेबारे राष्ट्रपति रामचन्द्र पौडेल कानुनी परामर्शमा थिए । उनले विधेयक प्रमाणीकरण गर्ने आधार र कानुनी धरातलबारे बारम्बार जिज्ञासा राखेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्ता सहित संवैधानिक मामिलाका कानुन व्यवसायीहरुसँग विधेयक अघि बढाउनेबारे परामर्श गरेका थिए ।

आफ्नो सन्देश सहित एक पटक फर्काएको विधेयक हुबहु फेरि पेश भएपछि निवर्तमान राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गरेकी थिइनन् । त्यतिबेला त्यसै छाडिएको विधेयक अघि बढाउन सरकारले पत्र लेखेको हो ।

संघीय संसदले दोस्रोपटक पेश भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक प्रावधान छ । समयसीमा कटेपछि प्रमाणीकरण गर्न बाधा भएको अर्थमा बुझ्न नहुनेबारे भन्दै महान्यायाधिवक्ता लगायत कतिपय कानुनविद्ले विधेयक प्रमाणीकरण गर्न सल्लाह दिएका थिए ।

त्यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक पेश गर्नेमध्ये तल्लो सदन (प्रतिनिधिसभा)को पदावधि सकिएकाले नयाँ जनादेश सहितको प्रतिनिधिसभाले फेरि विधेयक पेश गरे विचार गर्ने जवाफ लेखेकी थिइन् ।

त्यसक्रममा सबैले कुनै टुंगो नलागेर राष्ट्रपति कार्यालयमा विधेयक त्यसै  रहेको अवस्थामा संसदमा नयाँ विधेयक लैजान नसकिने, विधेयक फिर्ता हुने सम्भावना पनि नभएकाले प्रमाणीकरण नै सही विकल्प भएको सुझाव दिएका थिए ।

संघीय संसदबाट पारित भएको नागरिकता विधेयकलाई निवर्तमान राष्ट्रपति भण्डारीले सन्देश सहित फिर्ता पठाएकी थिइन् । संसदले हुबहु पारित गरेर फेरि पठाएपछि उनले प्रमाणीकरण नगरी विधेयक त्यत्तिकै रहेको थियो ।

अदालतमा मुद्दा परेपछि तत्कालीन राष्ट्रपति भण्डारीले आफूले ‘विशेषाधिकार’ प्रयोग गरेर विधेयक यथास्थितिमा राखेको दाबी गरेकी थिइन् । पहिलोपटक विधेयक पेश भएपछि सन्देशसहित संघीय संसदमा पेश भएको विधेयक कुनै छलफल र परिमार्जन विना यथास्थितिमा आएको भन्दै राष्ट्रपति कार्यालयले त्यतिबेला त्यसलाई ‘सन्देशको अनदेखा गरिएको’ निष्कर्ष निकालेको थियो । लिखित जवाफमा भनिएको थियो, ‘प्रमाणीकरणका लागि मात्रै पठाउनुले यो संस्थाको गरिमा कायम रहेन ।"

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित