पोर्चुगल। गैरआवासीय नेपालीहरूले अब "गैरआवासीय नेपाली नागरिकता" राख्ने सुविधाको लागि बाटो खुलेको छ ।
नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै गैर आवासीय नेपाली नागरिकता पाउने भएका हुन् । उनीहरुले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिदा विदेशी नागरिकता परित्याग गर्नु पर्दैन् ।
अब नेपाली नागरिकता त्यागेर विदेशमा बसेका व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउनेछन्। गैर आवासीय नागरिकता दक्षिण एसियाबाहेक अरू देशमा बसोबास गर्नेले मात्र पाउने छन् ।
गैरआवासीय नेपालीहरुका अधिकारहरुका बारेमा भने एनआरएनए ऐनले छुट्टै व्याख्या गर्ने छ तर गैर आवासीय नागरिकताले भोट दिन, चुनाव लड्न, पासपोर्ट बनाउन पाउने छैनन्। तर सम्पत्ति राख्न, व्यापार (व्यवसायमा लगानी गर्न पाउने बताइएको छ ।
गैर आवासीय नागरिकता पाउन पाँच वटा प्रमाण निवेदनसाथ बुझाउनुपर्ने छ।
– नागरिकता लिन चाहने व्यक्तिका बाबु वा आमा तथा बाजे वा बजै यसअघि नेपालकै नागरिक भएको प्रमाण।
– पहिले नेपाली नागरिकता लिएको भए त्यसलाई त्यागेको प्रमाण।
– विदेशी मुलुकको नागरिकता लिएको प्रमाण।
– दक्षिण एसियाली बाहेकका मुलुकमा बसोबास गरेको प्रमाण।
– नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्र।
– झुटा विवरण बुझाएर गैर आवासीय नागरिकता लिने व्यक्तिलाई तीन महिनादेखि एक वर्षसम्म कैद र २५ हजारदेखि ५० हजार रुपैयाँ जरिवाना हुनेछ।
यसरी कायम राख्न सकिन्छ वंशजको नागरिकता :
गैरआवासीय नेपालीहरुले आफ्नो पुरानो अर्थात वंशजको नागरिकता कायम राख्न चाहेमा विदेशी नागरिकता त्याग गरे पछि लिन सक्ने छन् । विदेशी नागरिकता परित्याग गरेको हिस्सा जिल्ला प्रशासन कार्यालयमा पेश गरे पछि साविकको नागरिकता कायम रहनेछ । उनीहरुलाई राजनीतिक लगायतका सबै नेपाली सरह अधिकार रहने छन् ।
विज्ञप्ति :
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएकोमा हामी हर्षविभोर छौँ ।
नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त बमोजिम प्रमाणीकरण भएको यस नागरिकता विधेयकले विश्वभर छरिएर रहेका लाखौं गैरआवासीय नेपालीले सन् २००३ देखि उठाउँदै आएको ‘गैरआवासीय नेपाली नागरिकता’ को माग सम्बोधन गरेको छ ।
सम्माननीय राष्ट्रपति ज्यूको यस कदमले ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूलमन्त्रलाई छिट्टै सार्थक बनाउनेमा पनि हामी विश्वस्त छौं । साथै, विश्वभरि रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्र्याउन थप दायित्व बोध गरेका छौं । गैरआवासीय नेपालीहरुको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागि समेत यस कदमले ठोस् वातावरण तयार पार्ने विश्वास लिएका छौं ।
अन्त्यमा, यस ऐतिहासिक उपलब्धि हासिल गर्न मुख्य भूमिका निर्वाह गर्नुहुने नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री ज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, मन्त्रीज्यूहरु, सांसदज्यूहरु, नेपाल सरकारका मुख्य सचिवज्यू, सचिवज्यूहरु, सम्पूर्ण राजनीतिक दल लगायत कानूनविद्, सरोकारवाला, सञ्चारकर्मी एवं गैरआवासीय नेपाली संघका संस्थापकदेखि हालसम्मका पदाधिकारी तथा अभियन्ताहरु, नागरिकता निरन्तरता कार्यदलका प्रमुख तथा सदस्यहरु लगायत यस अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण प्रति कृतज्ञता व्यक्त गर्दछौँ ।
FOUNDER/CHIEF EDITOR :