युनान र रोमन सभ्यताको विघटन भइसकेको थियो । रोमन साम्राज्यको विघटनपछि मध्य-युगीन युरोपको नक्सामा जर्मनीको उदय भयो । स्थापित इसाई क्याथोलिक चर्चको शक्तिले युरोपको जनमानसमा एकाधिकार जमाएको थियो । जर्मनी र चर्चको शक्तिले युरोपलाई सभ्यताको बाटोमा अग्रगति दिने कार्य गरिरहेको थियो । युरोपका पूर्वी सभ्यताहरूसँग स्थल-मार्गबाट सम्पर्क जोडिएको थियो । अनि त्यसै समयमा इस्लामको नवोदित शक्तिको झण्डामुनि अरबहरू र तत्पश्चात् तुर्कहरूले युरोपको ढोका ढकढक्याउन सुरु गरिसकेका थिए ।
अरबीहरूले उत्तरी अफ्रिकाहुँदै भूमध्यसागरको पारि पोर्चुगल र स्पेनको एउटा ठूलो भागमा अधिकार कायम गरे, अनि तुर्कहरूले पवित्र रोमन-साम्राज्यको पूर्वी भाग र इसाईहरूको पवित्र तीर्थस्थल जेरुसेलमलाई आफ्नो अधीनमा पारे । यसरी युरोपका लागि पूर्वी सभ्यताहरूसँग सम्पर्क गर्ने स्थल-मार्ग पूर्णतः तुर्कहरूको नियन्त्रणमा आइसकेकाले बन्द भयो ।
युरोपका लागि यो जीवन-मरणको प्रश्न थियो । यिनीहरूका अगाडि विशाल एट्लान्टिक महासागर फैलिएको थियो । यो युरोपका देशहरूका लागि चुनौती र अवसर दुवै थियो । महासागरको पारि अवस्थित द्वीपहरूमा भएका सभ्यताहरूसँग सम्पर्क जोड्ने एउटा मात्र विकल्प तत्कालीन समयमा तिनीहरूका लागि जलमार्गको खोज र अनुसन्धान थियो । यसका लागि शक्तिशाली जहाजी बेडाहरूको निर्माण, नौसैनिक क्षमतामा वृद्धि र कुशल तथा साहसिक नाविकहरू चाहिन्थ्यो ।
चुनौतीलाई स्वीकार गर्दा अवसरको ढोका खुल्यो अनि आवश्यकताले आविष्कार जन्मायो । इङ्ल्यान्ड, फ्रान्स, डेनमार्क, स्पेन, पोर्चुगल, इटाली, नर्वे, स्वीडेनजस्ता युरोपका देशहरूले समुद्री खोज तथा अनुसन्धानलाई प्राथमिकता दिए, जसले गर्दा ती देशहरूमा खोजी, दक्ष तथा साहसिक नाविकहरू जन्मिए-हुर्किए र पेसागत रूपले तयार भए ।
अरब र तुर्कहरूले इस्लामको शक्तिमार्फत खडा गरेको अवरोधको स्थितिलाई उल्ट्याउनका लागि इसाई युरोपबाट जुन-जुन देश सबैभन्दा पहिले अगाडि सरे, ती थिए- पोर्चुगल र स्पेन ।
युरोपको मानचित्रमा पोर्चुगलको महत्त्व भौगोलिक विस्तारको दृष्टिकोणले सानो हुन सक्छ तर युरोपको विस्तारवादी स्वरूपको जग उसैले राखेको हो । मुसलमानहरूसँग शताब्दीयौँसम्म संघर्ष गर्दा इसाई पोर्चुगिजले एकताको पाठ सिकेका थिए । सन् १४१५ मा उसले उत्तरी-अफ्रिकाको स्युटा नगरमाथि अधिकार जमायो, अनि भूमध्यसागरमा मुस्लिम-शक्तिसँग सिधै आक्रमण गर्नुको साटो अफ्रिकाको पश्चिमी तटहुँदै अगाडि बढ्नुमा नै धेरै सुरक्षा देखेर त्यही बाटो पहिल्यायो ।
पन्ध्रौँ शताब्दीमा एट्लान्टिक-महासागरस्थित अजोर र केनरी द्वीपमाथि अधिकार जमाएर स्वर्ण र दासहरूको व्यापार गर्नमा युरोपमा पोर्चुगिजहरू नै सबैभन्दा अगाडि थिए । सन् १४८८ मा बार्थोलोम्यु डियाज अफ्रिकाको पश्चिमी तटबाट उत्तमाशा-अन्तरिप द्वीपसम्म पुग्न सफल भए । यो अभियानको दश वर्षपश्चात् बास्को-डि-गामाले अफ्रिकी किनारको परिक्रमा गर्दै भारत पुगेर त्यहाँबाट पोर्चुगल फर्किन सफल भए । हिन्द महासागरमाथि पोर्चुगलको अधिकार कायम भयो ।
अरबीहरूको भद्दा र मत्थर गति भएको निःशस्त्र जहाजी बेडा पोर्चुगलको सामना गर्न असमर्थ थियो, जसले गर्दा पोर्चुगिजहरूले गरम-मसलाको व्यापारमाथि अरबीहरूको एकाधिकारलाई भारत, चीन र पूर्वी-द्वीप-समूहमा नौसैनिक अड्डा र किल्लाहरू स्थापना गरेर तोडिदिए ।
अनि तात्यो स्पेन
क्षेत्रफलमा आफूभन्दा सानो छिमेकी पोर्चुगलको साहसिलो उदाहरणबाट प्रेरित भएर स्पेनले पनि शक्तिशाली शासकको नेतृत्वमा आफ्नो हात-खुट्टा फैलाउन थाल्यो । स्पेनका इसाईहरूले सातौँ शताब्दीसम्म आक्रान्त अरबीहरूसँग संघर्ष गरिरहे । तर, उनीहरूले सफलता पाउन सकेनन् । जबकि क्यास्टाइलकी रानी इसाबेला प्रथम र अरागाङ्को राजा फर्डिनान्ड द्वितीयको संयुक्त शक्तिले मुरो (उत्तर-पश्चिमी अफ्रिकावासी) हरूलाई स्पेनको धरतीबाट बाहिर धपाए, अनि इसाई-एकता तथा राष्ट्रिय-मुक्तिको नाममा आन्तरिक प्रतिद्वन्द्वीहरूलाई पनि अधीनता स्वीकार गर्न बाध्य पारे । इस्लामको विरुद्धमा अपनाइएको यस स्पष्ट नीतिले एकीकृत स्पेनलाई पनि सामुद्रिक-भौगोलिक अन्वेषण र विस्तारको मार्गप्रशस्त गरायो ।
यसै समयमा इटालीमा जन्मेका तर पोर्चुगलमा पानीजहाजमा नै कामगर्दै हुर्केका समुद्री अन्वेषक क्रिस्टोफर कोलम्बस (सन् १४५१-१५०६) जस्तो कुशल, साहसिक र समर्थ नाविक दृश्य-पटलमा देखिए । पश्चिमी समुद्री मार्गबाट पूर्वी द्वीप-समूहसम्म पुग्न सकिन्छ भन्नेमा उनको विश्वास थियो । उनले आफ्नो समुद्री यात्राका योजनाहरू पोर्चुगल र स्पेनका शासकहरूलाई बुझाए तर आरम्भमा दुईमध्ये कसैले पनि उनको योजनामा लगानी गर्न स्वीकार गरेनन् । तर, अफ्रिकन मुरो जातिको अन्तिम गढ ग्रेनेडाको पतनपछि स्पेनको क्याथोलिक शासकले उत्साही भएर कोलम्बसलाई स्पेनको सेनापति मात्र नियुक्त गरेनन्, बरू उनले पत्ता लगाउने नयाँ प्रदेशहरूका लागि स्पेनको प्रतिनिधि र प्रमुख प्रशासकसमेत उनलाई नै तोक्यो । स्पेनलाई विश्वास थियो कि ऊ पूर्वी-देशहरूका लागि एउटा नयाँ समुद्री-मार्ग खोजेर आफ्नो प्रतिद्वन्द्वी पोर्चुगलभन्दा अगाडि बढ्नेछ ।
सन् १४९२ अगस्तमा तीन जहाज र ९० नाविकहरूको साथमा कोलम्बसले एट्लान्टिक-महासागरलाई छिछोल्न सुरु गरे । नौ हप्ताको अविरल समुद्री यात्रापछि १२ अक्टुबर १४९२ मा उनी आफू चढेको जहाज सान्ता मारियाबाट बहामा टापुको धरतीमा उत्रिए । यो उनको यात्राको पहिलो बिसौनी थियो । त्यहाँबाट उनी क्युबा र सान्टो डोमिनगो (वर्तमान हाइटी) पुगे र त्यसको अन्वेषण गरे । उनी आफूले समातेका केही स्थानीयवासीसहित सन् १४९३ जनवरीको प्रारम्भमा कैस्टाइल (स्पेन) फर्किए । उनको यात्राको चर्चा जंगलको आगोझैँ युरोपभरि फैलियो ।
त्यसको दश वर्षमा उनले थप तीनपटक यस्तो लामो समुद्री यात्रा सम्पन्न गरे । आरम्भमा उनले आफू भारतीय द्वीप पुगेको भ्रम पालेका थिए र आफ्नो जीवनको अन्त्यसम्म पनि आफूले खोजेको द्वीप सानो द्वीप-समूह हो भन्ने मान्यतामा उनी अडिग थिए । र, त्यसै मार्ग पहिल्याएर पूर्वी द्वीप-समूहसम्म पुग्न सकिन्छ भन्ने उनको विश्वास कायमै थियो ।
जे होस्, पोर्चुगल र स्पेनको व्यापार र साम्राज्य-विस्तारको आपसी प्रतिद्वन्द्विताको परिणामस्वरूप कोलम्बसले तत्कालीन सभ्य भनिने संसारलाई त्यस समयसम्म ज्ञात नभएको पृथ्वीमा अवस्थित एउटा विशाल महाद्वीपमा स्पेनको खोजी दलको नेतृत्वकर्ताको हैसियतले पाइला टेकेका थिए । यही अभियानले विस्तारवादी युरोपका लागि अमेरिकी महादेशमा उपनिवेश स्थपनाका लागि ढोका खुलेको थियो । तर, यो संयोग थियो, किनकि कोलम्बस जलमार्ग खोज्दै भारतीय द्वीप पुग्न खोजेका थिए ।
उनी संयोगले पुगेको (खोजेको होइन) यो द्वीप निर्जन थिएन । पुरातत्वबेत्ता र मानव-समाज अन्वेषक भन्छन्, ‘यस महादेशमा ई.पू. २०००० - १०००० वर्षपहिलेदेखि नै आदिवासी जनजातिहरूले बसोबास गर्न सुरु गरेका थिए र तिनीहरूको आफ्नै संस्कृति र सभ्यता विद्यमान थियो । कोलम्बसले त्यो धरतीमा पाइला टेक्दा त्यस विशाल भूमिमा सयौँ जातिहरूको करोडौँ जनसंख्या थियो ।’यो त भयो कोलम्बस पूर्वको कथा ।
कोलम्बसपश्चात् के भयो त ?
यसै महाद्वीपको एउटा विशाल भू-भाग ओगटेर आगामी दुई सय चौरासी वर्ष (१४९२-१७७६) पछि संयुक्त-राज्य अमेरिकाको नामले विश्व मानचित्रमा एउटा महाशक्ति राष्ट्रको उदय भयो । यो आगामी समयमा घट्ने घटनाक्रमहरूका बारेमा कोलम्बसलाई थाहा हुने कुरा त भएन तर शक्तिशाली अमेरिका निर्माणको झण्डै तीन शताब्दीको अवधिमा त्यो नयाँ धरतीमा के के घटना भए, इतिहासका हजारौँ पानाहरूले वर्तमान पुस्तालाई भनिरहेकै छन् र भावी पुस्तालाई पनि सुनाइरहनेछन् ।
नवोदित राष्ट्र र युवा संस्कृति
आधुनिक विश्वको रङ्गमञ्चमा संयुक्त-राज्य अमेरिकाजस्तो नवोदित र शक्तिशाली राष्ट्रको उदय नि:सन्देह मानव-जातिको प्रगतिको एउटा महत्त्वपूर्ण अध्याय हो । तत्कालीन सभ्य संसारभन्दा निकै टाढा, विशाल महासागरको पारि एउटा अज्ञात र अनाम धरतीमा एउटा यस्तो राष्ट्रले आकार ग्रहण गर्नु, जसले आफ्नो समृद्धि र सामर्थ्यको बलमा विश्वमा भएका पुराना र नयाँ सबै सभ्यता तथा शक्तिहरूलाई पछाडि पारिसकेको छ, त्यो मानवमा निहित जीवन-शक्ति, जिजीविषा, खोज र प्रगतिको उत्कट आकांक्षाको ज्वलन्त प्रमाण हो भन्दा अत्युक्ति नहोला ।
भौतिक क्षेत्रमा एउटा राष्ट्रले कुन सीमासम्म महान्भन्दा महान्तम उपलब्धिहरू प्राप्त गर्न सक्दछ भन्ने उदाहरण विकासको आफ्नो ४०० वर्षको अविरल र संघर्षपूर्ण यात्रामा संयुक्त-राज्य अमेरिकाले प्रस्ट रूपमा प्रमाणित गरेर विश्व समुदायलाई देखाइसकेको छ ।
उत्पादन, उद्योग-व्यापार, पारवहन, सञ्चार, प्रशासन, शिक्षा-साहित्य, खेलकुद, मनोरञ्जन, विज्ञान, प्रविधि, अनुसन्धान र जीवनका सुख-सुविधाहरूसँग सम्बन्धित हरेक क्षेत्रमा ऊ आज पनि सबैभन्दा अगाडि छ ।
अमेरिकी संस्कृति अनेक विदेशी तत्त्वहरूको सम्मिश्रणले निर्माण भएको एउटा युवा-संस्कृति हो । यसको विकासमा अनेक जात-जातिहरूको विभिन्न विश्वास र परम्पराको हात छ । इङ्ल्यान्डको एङ्ग्लो-सैक्सन र स्काँट जातिको मात्र होइन, अपितु आयरिश, डच, स्पेनी, जर्मन, फ्रान्सिसी, इतालवी, स्लाव, यहुदी र निग्रोहरूको पनि यसमा उत्तिकै योगदान छ । बीसौँ शताब्दीको उत्तरार्द्धपछि चिनियाँ, जापानी, कोरियाली, भारतीय र नेपालीहरूले पनि अमेरिकन युवा-संस्कृतिलाई जीवित बनाइराख्न आ-आफ्नो तत्त्व प्रदान गर्नमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।
आश्चर्यको कुरा त के छ भने यत्ति विविध विश्व-जातीय प्रभावहरूलाई ग्रहण गरेर पनि अमेरिकी संस्कृतिको आफ्नो स्वतन्त्र अस्तित्व यस अर्थमा छ कि स्थूलतः यसले व्यक्तिको गरिमा, जीवनाधिकार, स्वतन्त्रता र सुखान्वेषणलाई विशेष महत्त्व दिन्छ । अमेरिकी जीवन-पद्धतिको यो यस्तो तत्त्व हो, जसको आकर्षणले विश्वभरिबाट बर्सेनि लाखौँ होइन, करोडौँ मानिसहरूलाई सागर-महासागरको त्यो पारिबाट अमेरिकातिर शक्तिशाली चुम्बकले फलामका सूक्ष्म कणहरूलाई आफूतिर तानेझैँ तानिरहेको छ ।
आज पनि अमेरिकी जनसंख्याको एउटा ठूलो हिस्सा वंशले होइन, जन्मले होइन, अपितु स्थानान्तरण र निवासको प्रक्रियाद्वारा अमेरिकी-नागरिक भएकाहरूले ओगटेका छन् । अर्थात् प्रवासीहरूको संख्याले अमेरिकाको जनसंख्यामा एउटा ठूलो हिस्सा समेटेको छ ।
किन छ अमेरिका आप्रवासनको बढ्दो आकर्षण ?
युरोपका गोरा जातिहरूका लागि अमेरिका एउटा आदर्श प्रजातान्त्रिक मुलुकको रूपमा रहेको छ भने तिनैका निर्धन तथा दलित-वर्ग यहाँ राम्रो र सम्पन्न जीवनको खोजीमा ओइरिने गर्छन् । जापानजस्तो सम्पन्न अनि चीन, कोरिया, भारतजस्तो सम्पन्नताउन्मुख देशहरूका युवालगायत नेपालजस्तो विकासशील देशहरूका युवा पुस्ताहरू उच्च शिक्षा, रोजगारी, उन्नतिको अवसरको खोजी र भौतिक सम्पन्नता प्राप्त गर्ने प्रमुख उद्देश्य बोकेर नै अमेरिका आउने गर्छन ।
आफ्नो उच्च शिक्षालाई पूर्णता दिइसकेपछि पनि अमेरिकी कानुनले नबोलेसम्म आफ्नो देश फर्कने आन्तरिक इच्छा नगन्य मात्रले राखेको पाइन्छ । शिक्षा आर्जन गर्न आएका प्रायः सबै देशका युवा-युवतीहरू सकेसम्म अमेरिका प्रवासलाई लम्ब्याउने, स्टाटस जोगाउने, ग्रीनकार्डको प्रक्रियामा जाने र अमेरिकी नागरिक कसरी हुने भन्ने तनावपूर्ण कानुनी प्रक्रियामा अल्झिरहेको अवस्था उनीहरूसँग गरिने छोटो अन्तर्क्रियाबाट पनि सहजै थाहा पाउन सकिन्छ ।
एक्काइसौँ शताब्दीको यो तेस्रो दशकमा अस्ट्रेलिया, क्यानडा, चीन, दक्षिण कोरियाजस्ता देशहरू पनि नयाँ आर्थिक शक्ति र शैक्षिक हबको रूपमा विश्व मानचित्रमा उदाएका छन् । उच्च शिक्षा, रोजगारी, अवसरको खोजी तथा बसोबास छनोटका लागि समेत यी देशहरू खोजी युवा-पुस्ताहरूको आकर्षण र गन्तव्यको केन्द्रको रूपमा विकास भैसकेका छन् । युरोपका पुराना शक्तिराष्ट्रहरू इङ्ल्यान्ड, फ्रान्स, जर्मनी, इटालीजस्ता देशहरूको आकर्षण अलि मधुरो भए पनि मद्दिम भइसकेको छैन । एसियायी देश जापानको आकर्षण पनि घटेको छैन ।
आकर्षणको विकल्प यति धेरै भएर पनि अमेरिका विश्वका बहुसंख्यक देशका युवा पुस्ताहरूका लागि सर्वोत्तम आकर्षण र आशाको केन्द्रको रूपमा स्थापित भएको छ । भविष्यमा कुनै अकल्पित दुर्घटना भएन भने आउने केही दशकहरूसम्म पनि यो आशा-भरोसाको केन्द्रमै रहने देखिन्छ । यो तथ्य यसरी पनि प्रमाणित हुन्छ कि खोजी युवाहरूको आकर्षक गन्तव्यको विकल्प बन्दै गरेका उदाउँदा देशहरूका खोजी युवाहरूको पनि पहिलो रोजाइ आफ्नो देश नभएर अमेरिका नै हुने गरेको छ । अपवादबाहेक अरु देशका युवाहरूको पनि पहिलो रोजाइमा अमेरिका नै पर्ने गरेको छ । विकल्पमा मात्र प्राथमिकताका क्रममा अस्ट्रेलिया, क्यानडा र अरु देशहरू पर्ने गर्छन् ।
अमेरिका ओइरिने यी युवाहरू भन्छन्, 'अमेरिका कर्मठ, जागरुक र खोजी-साहसी व्यक्तिहरूका लागि उन्नतिको अवसर दिने एउटा उर्वर धरती हो । यहाँ मानव जीवनमा प्राप्त गर्न सकिने सर्वोत्तम उपलब्धिहरूमाथि एउटा विशेष सम्पन्न-वर्गको मात्र हालीमुहाली छैन । विषधर सर्पले कुण्डली मारेर मणि लुकाएझैँ सम्भावित अवसरहरूलाई छोपेर बसेको कुनै परम्परावादी सामन्ती-वर्ग छैन ।'
अर्का एक युवाले भने, ‘कटु अतीतलाई बिर्सेर जो नवीन ढंगले जीवनलाई आरम्भ गर्न चाहन्छ, अमेरिका त्यस्ता व्यक्तिहरूका लागि आफ्नै घर हुन सक्छ ।’ अर्कोले त्यसैमा थपे, ‘नवीन ढंगले जीवन आरम्भ गर्न, स्वतन्त्रताको स्वाद चाख्न, सम्पन्न र सुखी जीवन भोग्न चाहने नै अमेरिका आउँछन् ।’
सकारात्मक तथ्यले भन्छ- यो मुलुक भौतिक अभावहरूबाट मुक्त छ र यसले परिश्रम र प्रतिभाहरूलाई पुरस्कृत गर्न कुनै कञ्जुस्याइँ गर्दैन । यहाँको खुला परिवेश मानसिक र आत्मिक अत्याचारहरूबाट पनि मुक्त छ । यहाँ मानवको कल्पना, चिन्तना र सिर्जनामाथि चर्च वा कुनै अन्य धार्मिक-संस्थाहरूको मात्र होइन, राज्यको नियन्त्रणसमेत मान्य छैन । त्यसैले त यस उर्वर धरतीमा हरेक क्षेत्रका नौलो र साहसिक प्रतिभाहरूको जन्म र प्रफुस्टन हुन पाएको छ ।
तर यो कसरी भयो त ?
आधुनिक अमेरिकी समाजमा देखिएका यी सबै लक्षणहरू यसको आफ्नै आरम्भिक औपनिवेशिक समाजका लक्षणहरूबाटै विकसित भएको हो । नयाँ संसार भनिने पृथ्वीको यस भू-भागमा प्राकृतिक संसाधनहरूको कुनै अभाव थिएन र अहिले पनि छैन । युरोपका साहसिक खोजीहरूले संयोगले जब यस भू-भागमा पाइला टेके, अनि आरम्भिक चरणको बाधा र अप्ठ्यारो परिस्थितिको बीचमा पनि उनीहरूलाई धन-सम्पदा र सम्पन्नताले पछ्याउन थाल्यो ।
युरोपबाट आएका अधिकांश गोराहरूले आफ्नो मुलुकमा जीवनयापन गरिरहेको भन्दा यस नयाँ धरतीमा अपेक्षाकृत सुखी-सम्पन्न र विलासी जीवन बिताउन लागे । उनीहरूलाई आफ्नो जीवन-अवस्थामा निरन्तर सुधार र परिमार्जन गर्दै लैजाने बाटो पनि स्पष्ट हुँदै गयो । उपनिवेशको तत्कालीन प्रशासन-व्यवस्था एउटा सीमासम्म आप्रवासीहरूको रुचि र इच्छाहरूअनुकूल हिँड्न बाध्य भयो ।
युरोपमा त्यस समय निरंकुश शासन व्यवस्था थियो । राजनीतिक र सामाजिक वातावरण उकुस-मुकुस र रुढिग्रस्त थियो । अहिलेका मूल अमेरिकीहरूका पूर्वजहरू जो युरोपबाट आप्रवासीको रूपमा यस नयाँ धरतीमा आए, तिनीहरूलाई आफ्नो देशको निस्सासिँदो वातावरणबाट मुक्त भएर स्वतन्त्रताको श्वास लिने सौभाग्य प्राप्त भएको थियो । अब उनीहरू आफ्नो प्रतिभा र क्षमतालाई पहिचान गरी न्यूनतम राजनीतिक र प्रशासनिक हस्तक्षेपमा व्यापार-व्यवसाय र आफ्नो सोख पूरा गर्न सक्दथे ।
औपनिवेशिक त्यस समयमा पनि पुरुष जनसंख्याको एउटा ठूलो भागले मताधिकार प्रयोग गर्न पाउँथे । यद्यपि त्यस समयमा नेतृत्ववर्ग र बुद्धिजीवीहरूमा निर्णय र नेतृत्वको सम्बन्धमा कुनै एउटा मतको प्रादुर्भाव भइसकेको थिएन । तर, त्यस समय जबकि पृथ्वीका अन्य गोलार्द्धमा राजा, महाराजाहरू र शक्तिशाली सामन्तहरूको शासनसत्तामा एकाधिकार थियो, यस नयाँ धरतीमा स्वतन्त्र व्यक्तिहरूको मतद्वारा राजनीतिमा स्वशासनको अभ्यास भइरहेको थियो । यसले भविष्यमा त्यहाँ एउटा लोकप्रिय शासन व्यवस्था फस्टाउनेतर्फ संकेत गरिरहेको थियो ।
युरोपका विभिन्न मुलुकहरूबाट बसाइ-सराइ गरेर यस नयाँ मुलुकमा आएका इसाई धर्मका विभिन्न सम्प्रदायहरू यहाँ एकसाथ मिलेर बस्न बाध्य हुनुपर्यो, जसले गर्दा अमेरिकी राष्ट्र निर्माणको जगमा नै धार्मिक-स्वतन्त्रताका विचारहरूले प्रोत्साहन पाए । औपनिवेशिक युग समाप्त हुँदासम्म अमेरिकी नागरिक आफ्नो रुचि र चाहनाअनुसार पूजा-अर्चना र आध्यात्मिक खोजका लागि स्वतन्त्र भैसकेका थिए । जुन कुरा तत्कालीन युरोपका लागि मात्र होइन, त्यस समय विद्यमान अन्य देशका नागरिकहरूका लागि समेत यो स्वतन्त्रता दुर्लभ थियो ।
औपनिवेशिक अमेरिकामा चर्च र राज्यबीचको आपसी बन्धन खुकुलो भइसकेको थियो भने स्वाधीनता संघर्षले यो खुकुलो भइसकेको गाँठोलाई फुस्काउने काम गर्यो ।
अब अमेरिकामा युरोपीय सामाजिक मूल्याङ्कनका मापदण्ड र सूचकहरू फेरिए । कुलीनताको ठाउँमा व्यक्तिगत सफलता परिवारको स्तर निर्धारण गर्ने मापदण्ड बन्यो । यो गहिरो रूपमा व्यक्तिगत स्वतन्त्रता, कर्मठता, क्षमता र अभिनव प्रतिभासँग जोडिएको विषय थियो । अब त्यहाँ कुनै वंश परम्परा थिएन, न त त्यहाँ विशेषाधिकार सम्पन्न कुनै वर्ग नै थियो । तर, यसै पृष्ठभूमिमा त्यहाँ द्रवणशील आर्थिक-सामाजिक ढाँचाले आकार ग्रहण गर्यो, जसमा कसैलाई पनि अगाडि बढ्ने र माथि उठ्न सक्ने समान अवसर प्राप्त भएको थियो ।
नौलो धरतीमा पहिलोपटक पाइला टेकेका आप्रवासी युरोपीहरूका भावी पुस्ताले औपनिवेशिक व्यवस्थामा आर्जन गरेको अनुभवले दिएको बलका आधारमा त्यस्तो सिद्धान्तलाई खोज्न सफल भए, जसको पृष्ठभूमिमा एट्लान्टिक र प्रशान्त महासागरपारि पृथ्वीको एउटा विशाल भूभागमा उनीहरू नयाँ राष्ट्र अमेरिकाको बलियो जग राख्न सफल भए । व्यक्ति-स्वतन्त्रता, समानता र अभिव्यक्तिको स्वतन्त्रता ती विशेषताहरू थिए, जसलाई आधार बनाएर १८औँ शताब्दीमा विश्व राजनीतिक मञ्चमा एउटा नयाँ राष्ट्रको जन्म भयो ।
के सबै राम्रै मात्र छ त अमेरिकामा ? स्पेनले कसरी स्थापना गर्यो आफ्नो उपनिवेश ? कसरी भयो अमेरिकी महादेशमा इङ्ल्यान्डको प्रवेश र कसरी स्थापना भयो नयाँ धरतीमा उसको पहिलो उपनिवेश ? नयाँ महादेशका उपनिवेशहरूमा कसरी सुरु भयो स्वायत्त शासनको विभिन्न प्रयोग ? कहाँ हराए स्पेन, फ्रान्स र डेनमार्क ? कसरी बन्यो अमेरिका विश्व महाशक्ति राष्ट्र ? यी विषयमाथिको छलफल क्रमशः
- उमेशप्रसाद उपाध्याय
FOUNDER/CHIEF EDITOR :