पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा बेलायतबाट रामशरण सिम्खडाले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा हुने संघको ११ औँ विश्व सम्मेलनमा आफ्नो उम्मेदवारी उपाध्यक्षमा रहने सिम्खडाले जानकारी दिए ।
सिम्खडा हाल संघको उपमहासचिवको हैसियतमा रहेका छन् भने संघमा उनलाई बलियो साङ्गठनिक पकड भएका अभियन्ताका रूपमा चिनिन्छ ।
सन् २००१ देखि बेलायत बस्दै आएका उनी संघमा स्थापनाकालदेखि नै सक्रिय छन् । संघको बेलायतस्थित राष्ट्रिय समन्वय परिषद्को स्थापनामा समेत सक्रिय भूमिका खेलेका सिम्खडा नेपालीले विदेशमा हासिल गरेको ज्ञान, सिप, दक्षता र पुँजीलाई मातृभूमिको समृद्धिका लागि प्रयोग गर्दै नेपालको आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिन्छन् ।
सन २००४ को अन्त्यतिरबाट एनआरएनए युकेको स्थापनासँगै अभियानमा सरिक उनी त्यसयता सक्रियरुपमा लागिरहेका छन् । २००५ मा संघको पहिलो विधान मस्यौदा समिति, २०११ मा एनआरएनए युकेको राष्ट्रिय संयोजक, २००७–११, २०१३–१७ यूके सल्लाहकार हुँदै २०१७–१९, २०१९–२१ दुई कार्यकाल आईसीसी सदस्य बनेका उनी विधान समिति सदस्य ३ पटक, उपसंयोजक एक कार्यकाल र केन्द्रीय नीति निर्माण समिति संयोजक, केन्द्रीय परोपकार तथा मानव कल्याण समिति सदस्य सचिव हुँदै उनी हाल केन्द्रीय उपमहासचिव पदमा क्रियाशील रहेका हुन् ।
आफ्नो रुचिको पद महासचिव भए पनि ‘सबै सँग सँगै हिँडौँ’भन्ने अभिलाषाले केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । विधि विधानतः संस्थालाई हिँडाउने र संघको मौलिक पहिचान ‘नेपालमा पर्दा केही गर्ने अठोट’ लाई पुनर्जागृत गराउने स्पष्ट मार्गचित्र सहित केन्द्रीय उपाध्यक्षमा आकांक्षी रहेको उनले बताए ।
गैरआवासीय नेपाली संघभित्र मौलाउँदै गएको विकृति र स्वार्थको कारण २०२१–२३ को कार्यकालले जम्बो टिम निर्माण गर्नु परेको उनको भनाइ छ । ‘हामीले संस्थालाई शिरदेखि तिरैसम्म २ भागमा फुटाउनु भन्दा आलोचना सहेर भए पनि संस्था दुई चिरा हुन नदिऔँ भनेर बहुपदीय अवधारणामा गयौँ । यसै बिचमा पनि एनआरएनका केही थातिरहेको मुद्धाहरुले यसै कार्यकालमा मुर्तरुप पाएको छ,’ उनले भने ।
बेलायतका एनआरएनए आइकन सिम्खडा आइसीसी उपाध्यक्ष उम्मेदवार
बेलायतमा ‘एनआरएनए’ अभियानका पर्यायजस्तै छन् रामशरण सिम्खडा ।
दुई दशकअघि स्थापित प्रवासी नेपालीहरुको प्रतिनिधि संस्थाका संस्थापकध्ये एक उनी अहिलेसम्म पनि यो अभियानमा उत्तिकै समर्पित र क्रियाशिल छन्।
एनआरएनए एनसीसी बेलायतमा महासचिव (तत्कालिन राष्ट्रिय संयोजक) तथा आइसीसीमा सदस्य, सचिव हुँदै हाल उपमहासचिवको भूमिकामा आफ्नो क्षमता देखाइसकेका सिम्खडा आसन्न आइसीसी महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन्।
हालसम्म काम गर्दा संगालेको अनुभव, संस्थाको आवश्यकता र आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्ने तीव्र ईच्छाशक्तिका जगमा उपाध्यक्ष पदमा उम्मेद्वारी दिने सोचमा पुगेको उनले नेपालीलिंकलाई बताए।
‘गैरआवासीय नेपाली संघभित्र थुप्रै विमति, असमझदारी र विकृति देखिएका छन्। यीनै चुनौतिहरुको सामना गर्न र सबैले सोचेजस्तो सुन्दर संस्था निर्माणका लागि योगदान दिन लालायित रहेकोले यस पटकको महाधिवेशनमा म उपाध्यक्षमा उम्मेद्वारी दिने निचोडमा पुगेको छु’, सिम्खडाले भने। ‘संस्थागत विकास, दर्बिलो एकताः साझा एनआरएन, हाम्रो प्रतिवद्धता’ उनको मूल एजेण्डा छ ।
यसअघि महासचिव उम्मेदवारका रुपमा आँकलन गरिएका उनी किन उपाध्यक्षमा उममेदवार बने त ? ‘अभियानप्रति समर्पित एक अभियन्ताले आफ्नो चाहनासंगै समय र संस्थाको आवश्यकतालाई पनि बुझ्न सक्नुपर्छ भन्ने मेरो मान्यता छ’, उनको जवाफ छ।
सन् २०११–१३ मा एनसिसी बेलायतको राष्ट्रिय संयोजक (हालको महासचिव) पदमा सिम्खडाले निर्वाह गरेको सक्रिय र सशक्त भूमिका अहिले पनि एनआरएनए वृत्तमा स्मरण र चर्चा हुने गरेको छ। सोहि कार्यकालमा उनकै सोच र पहलमा एनआरएनए अन्तरराष्ट्रिय पत्रकारिता पुरस्कारको अक्षय कोष स्थापना भएको थियो ।
सन् २०१७–१९ मा बेलायतको तर्फबाट आइसीसी सदस्य बनेका उनले परोपकार तथा मानवीय सहयोग विभागको सदस्यसचिवका रुपमा काम गरे भने सन् २०१९–२१ कार्यकालमा केन्द्रीय नीति निर्माण समितिको संयोजकको जिम्मेवारी सम्हाले। सन् २०२१–२३ को वर्तमान कमिटीमा उनी उपमहासचिव छन्।
कार्यकारी भूमिकाबाहेक आइसीसीका विभिन्न टास्कफोर्स संयोजक र एनआरएनए यूके सल्लाहकार रहंदा पनि उनी आफ्नो जिम्मेवारीमा सधै सक्रियतासाथ खटिंदै आएका छन्।
एनआरएनएको जननी मानिने बेलायतमा संस्था जन्माउने संस्थापकमध्येकै एक सिम्खडा अहिलेसम्म पनि अविच्छिन्न क्रियाशिल र उस्तै सक्रिय छन्। संस्थाका हरेक मञ्चहरुमा ‘भिजिबल’ उनी एनआरएनए आइकनकै रुपमा परिचित छन्।
एनआरएनए अभियान र यसका एजेन्डाहरुलाई सुक्ष्म ढंगले बुझेका सिम्खडा संस्थामा अध्ययन गर्ने र तर्कसंगत ढंगले प्रस्तुत हुने नेताका रुपमा चिनिन्छन्। संस्था विधि र प्रक्रियासम्मत् ढंगले सञ्चालन हुनुपर्ने पक्षमा उनको निरन्तर लबिङ रहंदै आएको छ।
प्रवासी नेपालीहरुबीच आपसी भाईचारा बढाउने, नेपालसंग जोडिने र संसारभर संजाल बिस्तार गर्ने एनआरएनएको लक्ष्यले आफू यस अभियानको सुरुआतदेखि नै आकर्षित बनेको अनुभव सिम्खडा सुनाउँछन्।
गैरआवासीय नेपाली संघ स्थापनाका दुई दशकमा भएका थुप्रै कार्यहरुमा एक अभियन्ताको रुपमा उनलाई गौरव छ । वर्तमान कार्यकालको जम्बो टीमकै पालामा पनि एनआरएनए नागरिकता, सामाजिक सुरक्षा नीतिलगायतका गैरआवासीय नेपालीका सरोकार रहने महत्वपूर्ण उपलब्धि हासिल हुनुलाई सिम्खडाले सुखद ठानेका छन् ।
तर पनि कार्यशैली, जनअपेक्षा र धरातलीय अवस्थाको सुक्ष्म मुल्याङ्कन गर्दै २१औ शताब्दी सुहाउंदो सांगठानिक संरचना र कार्यशैली अपनाएर मात्रै संगठनलाई दिगो र भरपर्दो बनाउन सकिने उनको धारणा छ।
FOUNDER/CHIEF EDITOR :