विदेशमा रहेको व्यक्तिले नेपालमा मुद्दामामिला तथा घरजग्गा खरिदबिक्री कसरी गर्ने ?

विदेशमा रहेको व्यक्तिले नेपालमा मुद्दामामिला तथा घरजग्गा खरिदबिक्री कसरी गर्ने ?
www.europenepalikhabar.com २०८० फागुन ८ गते मंगलबार, 20-02-2024


युरोपनेपाली खबर, पोर्चुगल । तपाई विदेशमा हुनुहुन्छ, नेपालमा कुनै जग्गाजमिन खरिद वा बेचबिखन गर्नुछ । वा, नेपालमा कुनै मुद्दा मामिला गर्नुछ । यसका लागि तपाईँ नेपाल आइरहनु पर्दैन ।

विदेशबाटै अधिकृत वारिसनामा दिएर तपाईँले घरजग्गा खरिद बिक्री गर्न सक्नु हुन्छ । तपाईँले नेपालमा कसै विरुद्ध मुद्दा दायर गर्न वा कसैले तपाईँ विरुद्ध मुद्दा दायर गरेमा लिखित जवाफ वा प्रतिदाबी पेस गर्न पनि नेपालमा रहेको आफन्त वा अन्य व्यक्तिलाई अधिकृत वारिसनामा दिएर उक्त काम गर्न सक्नु हुनेछ । 

नेपालमा जग्गा खरिद  बिक्री गर्न वा मुद्दा मामिला गर्न स्वयं उपस्थित हुन अनिवार्य छैन । त्यहाँ रहेको नेपाली दूतावास वा महावाणिज्यदूतको कार्यालयमा तोकिएको ढाँचामा अधिकृत वारिसनामा बनाउन सकिनेछ ।  तर त्यसअगाडि नेपालमा अधिकृत वारिसनामा लिने व्यक्तिको तोकिएको ढाँचामा अधिकृत वारिसनामामा फोटो टाँसेर सहीछाप गरी तपाईँ रहे बसेको मुलुकमा तपाईँलाई पठाउनु पर्नेछ ।

नेपालबाट अधिकृत वारिसनामासँगै केही कागजातहरू अनिवार्य रूपमा पठाउनुपर्ने हुन्छ । दूतावास वा महावाणिज्यदूत कार्यालयले सम्बन्धित केही कागजात नभएमा अधिकृत वारिसनामा स्वीकृत नगर्न सक्छ । त्यसैले विदेशमा रहेका व्यक्तिले अधिकृत वारिसनामा बनाउँदा देहायबमोजिम कागजात एवं विधि-प्रक्रियामा ध्यान पुर्‍याउन आवश्यक छ । 

१. तोकिएको ढाँचाको अधिकृत वारिसनामाको दुईप्रति । अधिकृत वारिसनामा लिने व्यक्तिको तोकिएको स्थानमा फोटो टाँसेर सहीछाप गर्ने ।

२. अधिकृत वारिसनामा लिने व्यक्तिको सक्कल नागरिकता वा नोटरीद्वारा प्रमाणित प्रतिलिपि विदेश पठाउनुपर्ने छ । 

३. सम्बन्धित दूतावास वा नियोगलाई सम्बोधन गरिएको निवेदन पत्र पनि पठाउनुपर्नेछ । 

४. अधिकृत वारिसनामा दिने व्यक्तिको नागरिकताको सक्कलै दूतावास तथा नियोगमा पेस गर्नुपर्नेछ । 

५. घरजग्गाको कारोबारका लागि चालु आर्थिक वर्षको तिरो तिरेको सक्कल रसिद वा नोटरीद्वारा प्रमाणित प्रतिलिपि आवश्यक पर्छ । 

६. कुनै मुद्दा मामिला गर्ने सन्दर्भमा त्यससँग सम्बन्धित कागजात । जस्तो सम्बन्ध विच्छेद भए विवाह दर्ता वा नाता सम्बन्ध खुल्ने अन्य  कागजात । उक्त कागजात सक्कलै वा नोटरीद्वारा प्रमाणित प्रतिलिपि । कुनै मुद्दामा लिखित जवाफ प्रतिउत्तर पत्र वा प्रतिदाबी प्रस्तुत गर्नुपर्ने भएमा मुद्दा दायर भएर म्याद पाएको सक्कलै कागजात वा प्रमाणित प्रतिलिपि । 

७. अधिकृत वारिसनामा दिने र लिने दुवैको दुई प्रति फोटो आवश्यक पर्छ । 

८. अधिकृत वारिसनामा दिँदा दिने व्यक्तिको तीन पुस्ताभित्रको नातेदार भए शुल्क कम लाग्ने भएकोले यो पक्ष विचारणीय छ ।  यसो गर्दा लिने र दिने व्यक्तिको नाता खुल्ने सक्कल कागजात वा नोटरीद्वारा प्रमाणित प्रतिलिपि ।  

९. मस्यौदा गर्ने अधिवक्ताको प्रमाणपत्र वा परिचयपत्रको नोटरी प्रमाणित प्रतिलिपि ।  

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित