इटहरीलाई लाग्यो खानेपानीको चुनाव, यसपटक कसको पल्ला भारी होला ?

इटहरीलाई लाग्यो खानेपानीको चुनाव, यसपटक कसको पल्ला भारी होला ?
www.europenepalikhabar.com २०८० फागुन १२ गते शनिबार, 24-02-2024


इटहरी । इटहरीलाई खानेपानी संस्थाको चुनाव लागेको छ । खानेपानी संस्थाको उपभोक्ता समिति निर्माणका लागि निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । जसअनुसार फागुन १५ गते मतदाता नामावली प्रकाशन गरिनेछ भने चैत ३ गते चुनाव हुनेछ । 

विगतमा झैं यो पटक पनि राजनीतिक दलहरु आफ्नो आफ्नो प्यानल बनाएर चुनावमा होमिँदैछन् । खानेपानीको चुनावअन्तर्गत ३ गते सबै वडाका उपभोक्ताहरु चुनावमा भाग लिएर वडा उपभोक्ता समितिका लागि उम्मेदवारलाई भोट दिन्छन् । यसरी चुनिएका वडा उपभोक्ता समिति सदस्यहरुले पछि आफ्नो अध्यक्ष चुन्ने व्यवस्था छ । इटहरीमा धेरै मतदाताले भोट हाल्ने चुनावमा स्थानीय तहको चुनावपछि यो चुनाव पर्छ । यहाँ २२ हजार सक्रिय मतदाता छन् । 

राजनीतिक दलहरुबिचको प्रतिष्पर्धाको छाँया यो चुनावमा देख्न सकिन्छ भने यो चुनावको नतिजाले इटहरीमा कुन पार्टीको पकड दह्रो छ भन्ने पनि दर्शाउँछ । चुनावमा खासगरी एमाले र काँग्रेस उम्मेदवारहरुबिच भिडन्त हुने देखिन्छ । अघिल्ला चुनावहरुमा एमाले उम्मेदवारहरुले वडा समिति लगभग क्लिन स्वीप पारेका थिए । त्यसैले एमाले नेता रामप्रसाद चौलागाई दुई पटक खानेपानी संस्थाको अध्यक्ष बन्न सफल भएका थिए । त्यसैले यो पटक एमालेको किल्लालाई भत्काउने काँग्रेस रणनीति हुनेछ भने आफ्नो साख र जनमत जोगाइराख्ने कसरत एमालेको हुनेछ ।

तर दुवै पार्टीभित्र आन्तरिक कलह छ । त्यसमा को कति बलियोसँग प्रस्तुत हुन्छ भन्ने कुरा आँकलन गर्न गाह्रो छ । त्यसमाथि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यो चुनावमा प्रभाव पार्ने देखिन्छ । गएको संघीय चुनावमा रास्वपाका उम्मेदवारले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा २ नं. निर्वाचन क्षेत्रमा तेस्रो बढी मत ल्याएका थिए । उनले इटहरीका वडाहरुमा त नेतृत्व नै गरेका थिए । त्यसैले यो पटकको चुनावको प्रकृति केही फरक हुने सम्भावना छ । त्यसैले एमाले र काँग्रेस बढी सजग छन् । एमालेले वडा कमिटिहरुलाई परिचालन गरेर छुट्टै समिति बनाएर काम थालेको छ भने काँग्रेस पनि आन्तरिक तयारीमा जुटेको छ । 

प्रत्येक चार वर्षमा हुनुपर्ने निर्वाचन विभिन्न कारणले रोकिँदै ९ वर्षपछि हुन लागेको हो । खानेपानीलाई १८ वर्ष नेतृत्व गरेका अध्यक्ष रामप्रसाद चौलागाईले यो पटक नेतृत्व छाड्दैछन् । यस समयावधिमा उनले यो खानेपानी संस्थालाई उपभोक्ताहरुले सञ्चालन गरेको देशकै नमुना र धेरै उपभोक्ता भएको खानेपानी आयोजनाको रुपमा स्थापित गरेका छन् । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित