पोर्चुगलको संसदीय चुनावको आयो पूर्ण नतिजा, कुनै दलले ल्याउन सकेनन् बहुमत

पोर्चुगलको संसदीय चुनावको आयो पूर्ण नतिजा, कुनै दलले ल्याउन सकेनन् बहुमत
युरोपनेपाली खबर २०८० चैत ८ गते बिहीबार, 21-03-2024


- राजकुमार थापा,  युरोपनेपाली खबर, पोर्चुगल ।

२१ मार्च(चैत ८ गते),लिस्बन । पोर्चुगलमा गत मार्च १० तारिख आइतबार सम्पन्न संसदीय चुनावको पूर्ण नतिजा आज घोषणा भएको छ । पोर्चुगल बाहिर विदेशमा रहेका मतदाताका लागि छुट्याइएको ४ सीटको नतिजा आएसंगै संसदको २३० सै सीटको अन्तिम परिणाम प्रकाशित भएको हो ।

प्रकाशित अन्तिम नतिजाले वर्तमान सत्तारूढ सोसलिस्ट पार्टी (PS) ले आफ्नो पुरानो बहुमत सीट र लोकप्रिय मत समेत  गुमाएको छ । यसभन्दा अघि १२० सीट जितेर उसले पूर्ण बहुमतको सरकार संचालन गरिरहेको थियो । यो चुनावबाट उक्त पार्टीले ७८ सीटमा मात्र विजय हासिल गर्न सक्यो ।

कुनै दलको बहुमत नआएको २३० सदस्यीय संसदमा  प्रमुख विपक्षी सोसियल डेमोक्रेटिक पार्टी(PSD) सहितको गठबन्धन डेमोक्रेटिक एलायन्स (AD) ले ८० सीटमा विजय हासिल गर्दै सबैभन्दा ठूलो दल बन्नुका साथै  लोकप्रिय मत समेत प्राप्त गरेको छ । यसैगरी ५ बर्ष अघिमात्र स्थापना भएको अति दक्षिणपन्थी पार्टी सेगा (Chega)ले ५० सीटमा विजय हासिल गरी त्रिशंकु संसदमा चमत्कारिक निर्णायक तेश्रो शक्तिको रूपमा उदाएको छ । युरोप बाहिर सत्तारूढ सोसलिस्ट पार्टीको विगत चुनावमा रहेको एकलौटी प्रभावलाई पनि यसले भत्काएर देश बाहिरका मतदाताले छान्ने ४ सीटमा २ सीट जितेर चुनावी विश्लेषकहरुलाई समेत अचम्मित तुल्याएको छ । 

यस निर्वाचनमा अघिल्लो सन् २०२२ मा भएको चुनावमा भन्दा बढी मतदान भएको थियो ।  सम्पन्न निर्वाचनमा ५९.८४ प्रतिशत मत खसेको थियो भने अघिल्लो सन् २०२२ को चुनावमा ५१.५ प्रतिशत मात्र मतदान भएको थियो । 

विपक्षी डेमोक्रेटिक एलायन्स(AD) ले १० मार्चमा सम्पन्न संसदीय चुनावमा बहुमतकासाथ पहिलो स्थानमा पुग्ने ठानिएको थियो तर मतगणनाको अन्तिम परिणामले उसलाई  पूर्ण बहुमत मिल्न नस्कदा यसको ठूलो लाभ अति दक्षिणपन्थी सेगा लगायतका पार्टीहरूले उठाएका छन् ।

लोकप्रियतावादी अति दक्षिणपन्थी चेगा पार्टीले १८.०७ प्रतिशत भोटका साथ तेस्रो शक्ति भएको छ, यसले सन् २०२२ को चुनावमाभन्दा साढे दुई गुणा शक्ति वृद्धि गरेको छ, त्यो बेला उसले ७.२ प्रतिशत मत ल्याएको थियो ।  कडा अध्यागमन नीतिको पक्षधर यो पार्टी आप्रवासीप्रति अनुदार रहेको पाइन्छ । 

विपक्षी डेमोक्रेटिक एलायन्स(एडी) ले २८.०२(२८.९) प्रतिशत मत प्राप्त गरेको छ भने सत्तारुढ सोसलिस्ट पार्टी (PS) ले २८.०० प्रतिशत मत प्राप्त गरेको छ ।

"भर्खरै सम्पन्न मतदानले स्पष्ट रूपमा पोर्चुगिजहरू विपक्षी गठबन्धन एडी र अति दक्षिणपन्थी पार्टी सेगा बीचको गठबन्धन सरकार चाहन्छन् र हामीहरू वर्तमान सत्तारुढ पार्टी पिएससंग मिलेर सरकार बनाउन चाहन्नौ" चेगाका दक्षिणपन्थी नेता भेन्टुराले निर्वाचन पूर्ण परिणाम आएपछि भने ।

अघिल्लो निर्वाचनबाट पूर्ण बहुमतका साथ सरकार संचालन गरिरहेको सत्तारुढ समाजवादी पार्टीका प्रधानमन्त्री एन्टोनियो कोस्टालाई चार महिना अघि भ्रष्टाचारको मुद्दामा अनुसन्धान सुरु भएपछि राजीनामा दिएकाले १० मार्च आइतबार संसदको निर्धारित समयभन्दा २ बर्ष अघि नै नयाँ निर्वाचन भएको हो ।

पोर्चुगलको संसदमा पार्टीहरुले प्राप्त गरेको सीट संख्या :

AD (PSD)-80

PS - 78

CHEGA - 50

IL - 8

BE - 5

PCP-PEV - 4

L - 4

PAN - 1

यसरी अब २३० सै सीटको नतिजा प्रकाशित भएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित