हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु, के कारणले भयो दुर्घटना ?

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु, के कारणले भयो दुर्घटना ?
Picture : Google
www.europenepalikhabar.com २०८१ जेठ ७ गते सोमबार, 20-05-2024


पोर्चुगल—हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । 

दुर्घटनामा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमातीको पनि मृत्यु भएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार हेलिकप्टरमा सवार ९ जनाकै मृत्यु भएको छ । दुर्घटनामा राष्ट्रपति सवार बेल-२१२ हेलिकप्टरको पछाडिको केही भागबाहेक सबै जलेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समेत सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै इरानी राष्ट्रपति र विदेशमन्त्रीसँगै सबै यात्रुको मृत्यु भएको जनाएको छ । नाम उल्लेख नगरी इरानी उच्च अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, 'राष्ट्रपति रइसी, विदेशमन्त्री र सबै यात्रुको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।'

यसअघि इरानी रेडक्रस सोसाइटीका अध्यक्ष पिर हुसेन कोलिवान्दले समेत हेलिकप्टर दुर्घटनास्थलमा कोही पनि जीवित रहेको संकेत देखा नपरेको बताएका थिए । इरानी अर्धसकारी समाचार संस्था मेहर न्युज एजेन्सीले पनि राष्ट्रपति रइसी र विदेशमन्त्रीसँगै अन्य अधिकारी दुर्घटनामा सहिद भएको जनाएको छ ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार आइतबार अजरबैजानसँगको सीमा क्षेत्रमा बाँधको उद्घाटनपछि फर्किँदै गर्दा राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको हो । स्थानीय सञ्चारमाध्यमहरूले राष्ट्रपति रइसी सवार हेलिकप्टरले फोर्सल्यान्डिङ गरेको समेत जनाएका छन् । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।

को हुन् रइसी ?

रइसी सन् २०२१ मा इरानको राष्ट्रपति चुनिएका थिए । न्यायिक तथा धार्मिक कुलिन वर्गसँग निकट सम्बन्ध रहेका ६३ वर्षीय रइसीलाई इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको सम्भावित उत्तराधिकारीका रूपमा समेत हेरिन्छ । रइसी सन् २०१७ मा समेत राष्ट्रपतिका लागि उम्मेदवार बनेका थिए । तर उनी हसन रुहानीसँग पराजित भएका थिए ।

रइसी राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्दामा संलग्न थिए । अमेरिकाले उनीविरुद्ध प्रतिबन्ध लगाएको छ । इरानमा सर्वोच्च नेतापछि राष्ट्रपतीय पद दोस्रो वरीयताको हो 

इरानमा राज्यसम्बन्धी सम्पूर्ण मामिलाबारे अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले लिने गर्छन् । तर देशको आन्तरिक र वैदेशिक मामिलामा भने राष्ट्रपतिको महत्त्वपूर्ण प्रभाव हुने गर्छ । रइसीले आफ्नो व्यावसायिक जीवनको अधिकांश समय अभियोजनकर्ताको भूमिका निर्वाह गरेका छन् । सन् २०१७ मा राष्ट्रपति हसन रुहानीसँगको चुनावमा ठूलो अन्तरले हारेको दुई वर्षपछि सन् २०१९ मा उनी न्यायपालिका प्रमुख नियुक्त भएका थिए ।

रइसी सन् १९८० को दशकमा राजनीतिक बन्दीहरूलाई दिइएको सामूहिक मृत्युदण्डमा उनको उल्लेखनीय भूमिका रहेको भन्दै मानवाधिकारकर्मीहरूले आलोचना गर्ने गरेका छन् । यद्यपि, इरानले हालसम्म कहिल्यै पनि सामूहिक मृत्युदण्ड नदिइएको बताउँदै आएको छ ।

अब के हुन्छ ?

इरानी संविधानअनुसार कुनै पनि बहालवाला राष्ट्रपतिको निधन भएमा उपराष्ट्रपतिले कार्यभार सम्हाल्नेछन् । तर त्यसका लागि सर्वोच्च नेता अयोतल्लाह अली खामेनीको सहमति चाहिन्छ । साथै ५० दिनभित्र राष्ट्रपतिको चुनावसमेत गर्नुपर्नेछ । राष्ट्रपति रइसीको निधनसँगै उपराष्ट्रपति मोहम्मद मुखबरले इरानी सत्ता सम्हाल्ने आकलन गरिएको छ ।

इरानमा १२ जना उपराष्ट्रपति रहने प्रावधान छ । तर राष्ट्रपति रइसीको निधनसँगै पहिलो वरीयताका उपराष्ट्रपति मुखबरको काँधमा सत्ताको बागडोर आइपुग्नेछ ।

इरानमा राष्ट्रपतीय चुनाव २०२५ मा हुने तय भएको थियो । इरानी सर्वोच्च नेता खामेनी राज्य मामिलामा कुनै पनि अवरोध नहुने बताइसकेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित