पोर्चुगल—पुस्तौंदेखि विदेशी नागरिक भएर विभिन्न मुलुकमा बसेका नेपाली मूलका व्यक्ति र परिवारलाई नेपाली भएको पहिचान खुल्ने परिचयपत्र दिने गृहकार्य सरकारले थालेको छ । गैरआवासीय नेपालीको परिभाषाभित्र नअटाएका नेपाली मूलका विदेशी नागरिकका लागि बेग्लै परिचयपत्र दिन खोजिएको हो ।
त्यसका लागि गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ लाई संशोधन गर्नेबारे कानुन मन्त्रालयले छलफल अघि बढाएको छ ।
गैरआवासीय नेपालीका लागि भने सीमित अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ दिने कानुन छ । कानुनमन्त्री अजयकुमार चौरसियाका अनुसार पुस्तौंदेखि विभिन्न मुलुकमा बस्दै आएका नेपाली मूलका विदेशीलाई परिचयपत्र दिने गृहकार्य थालिएको हो । थाइल्यान्ड, मलेसिया, म्यानमार (बर्मा), फिजीलगायतका मुलुकमा पुस्तौंपुस्ता बसोबास गर्दै आएका नेपालीभाषीले यस्तो परिचयपत्रको माग गर्दै आएका छन् ।
काठमाडौंमा गत अक्टोबर २७ र २८ मा भएको गैरआवासीय नेपालीको ‘ग्लोबल कन्क्लेभ’ उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पुस्तौंदेखि बाहिर रहेका नेपाली मूलका व्यक्तिले उठाउँदै आएको मागप्रति सरकार सकारात्मक रहेको बताएका थिए ।
‘हामी नेपाली हौं र नेपाली भनेर चिनिन पनि चाहन्छौं, त्यसैले हामीलाई नेपाली भन्ने गौरव गर्ने स्थिति नेपाल सरकारले बनाइदेओस् भन्ने उहाँहरूको माग छ,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘उहाँहरूको ठूला माग वा समस्या होइन । न बाली दिनुपर्ने, न पैसा, न पेन्सन, न जमिन केही माग छैन । खालि नेपाली परिचयका साथ सम्मानित जीवन माग्नुभएको छ । यति कुरालाई किन कञ्जुस्याइँ गर्ने ? मिलेर समाधान गरौंला ।’
कानुनमन्त्री अजयकुमार चौरसिया भन्छन्, ‘पुस्तौंदेखि सार्कबाहेकका मुलुकमा बस्दै आएका नेपाली, जसले ती मुलुकमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै आएका छन्, उनीहरूले राख्दै आएको मागबारे सकारात्मक छलफल अघि बढेको छ । उहाँहरूले नेपाली मूलको हुँ भन्ने परिचय माग्दै आउनुभएको छ, त्यस्तो परिचयपत्र दिन आवश्यक पर्ने कानुनी प्रावधानबारे काम भइरहेको छ ।’
गैरआवासीय नेपालीसम्बन्धी ऐनले कम्तीमा तीन पुस्ताअघि नेपाली नागरिक रही विदेशिएका (सार्क मुलुकबाहेकमा) परिवारलाई मात्र नेपाली मूलको विदेशी नागरिक मानेको छ । उनीहरूका लागि सरकारले परिचयपत्र दिन सक्ने प्रावधान छ । त्यस्तै, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी उनीहरूले गैरआवासीय नेपाली नागरिकता पाउने व्यवस्था नागरिकता ऐनमा छ ।
तर सय/दुई सय वर्ष पहिला नै नेपाल छाडेकाका सन्ततिलाई गैरआवासीय नेपालीसम्बन्धी कानुनले चिनेको छैन । थाइल्यान्डमा बस्दै आएका नेपाली मूलका कुमार कार्की आफूहरूको पुस्ता १२० वर्षअघि नै नेपाल छाडेर म्यानमार (बर्मा) पुगेको र पछि थाइल्यान्ड आएको बताउँछन् ।
‘हामी नेपाली हौं, जहाँ भए पनि हामीले नेपाली भाषा, संस्कृति र रीतिरिवाजलाई पुस्ता–दरपुस्ता हस्तान्तरण गर्दै आएका छौं । जहाँ बस्छौं, त्यहाँकाले हामीलाई नेपाली वा गोर्खाली भनेर चिन्छन्,’ उनले भने, ‘हामी नेपालसँग जोडिइरहन चाहन्छौं । नेपाल सरकारले एउटा परिचयपत्र देओस् भन्ने हाम्रो माग हो ।’
गैरआवासीय नेपाली ऐनले आफूहरूलाई समेट्न नसकेको गुनासो उनले गरे । कार्कीका अनुसार म्यानमार (बर्मा), थाइल्यान्ड, मलेसिया, ब्रुनाई, मोरिसस, फिजीलगायतका देशमा पुस्तौं–पुस्ता अघि गएका नेपालीका सन्ततिहरू छन् । ‘उनीहरूलाई नेपाल सरकारले नेपाली भएको मान्यता देओस् भन्ने मात्र हो, कुनै अधिकार वा नागरिकता मागेका होइनौं,’ उनले भने ।
कैयौं नेपाली विभिन्न देशमा बसेर पुस्तौंदेखि त्यहाँको नागरिक भए पनि सम्बन्धित देशले अझैसम्म त्यहाँबाट दिने परिचयमा गोर्खा वा नेपाली लेखिदिने गरेको उनले सुनाए ।
FOUNDER/CHIEF EDITOR :