विपी आफैंले गोली चलाएको त्यो क्षण..!

विपी आफैंले गोली चलाएको त्यो क्षण..!
www.europenepalikhabar.com २०८१ पुष १७ गते बुधबार, 01-01-2025


(गृहमन्त्रीलाई मार्न भनेर कार्यालय/निवासमै पुग्ने समूहको निर्माणदेखि गृहमन्त्री स्वयंले आत्मसुरक्षाका लागि पेस्तोल पड्काएकोसम्मको घटना नेपाली राजनीतिको दुर्लभमध्येको एक हो ।)

विक्रम संवत् २००७ चैत ३० गते । दिउँसो साढे ३ जति बजेको थियो । मोहनशमशेर नेतृत्वको अन्तरिम सरकारका गृहमन्त्री बीपी कोइराला त्रिपुरेश्वरमा रहेको गृहमन्त्रालयको कार्यालय तथा आफ्नो सरकारी निवासको माथिल्लो तलामा पाहुनाहरूसँग छलफल गरिरहेका थिए । त्यहाँ थिए- रामेश्वरप्रसाद सिंह, होराप्रसाद जोशी र भारतीय सांसद बालकृष्ण गुप्ता ।

जरुरी सल्लाह गर्न भनेर गएका अन्तरिम सरकारकै उद्योग वाणिज्यमन्त्री गणेशमान सिंह पनि मिसिए । पार्टी महामन्त्री कृष्णप्रसाद भट्टराई पनि आफूले केहीबेरअघि पाएको सूचना बीपीलाई दिनका लागि त्यहीँ पुगे। अर्को कोठामा बीपीका आमा दिव्या, पत्नी सुशीला, छोरा प्रकाश लगायत थिए । बीपीका अंगरक्षक तल्लो र माथिल्लो तलामा ओहोरदोहोर गरिरहेका थिए । भूइँ तलामा गृहमन्त्रालयका कर्मचारी आ-आफ्नो काम गरिरहेका थिए।

माथिल्लो तलामा छलफल जारी रहँदा एउटा समूह बीपीविरुद्ध नारा लगाउँदै मूलगेट तोडेर, भेटे जतिलाई आक्रमणद्वारा घाइते तुल्याएर, सामान तोडफोड गरेर बीपी नजिक पुग्छ । र खुकुरी तेर्स्याउँछ । अन्योल र आतंक मिश्रित त्यस परिस्थितिमा बीपीले हातमा रहेको रिभल्बर ४/५ पटक पड्काइदिन्छन् । एक जना त्यहीँ मारिन्छन् । तीन जना घाइते हुन्छन् । उत्तेजक समूह तत्कालै तितरबितर हुन्छ ।

गृहमन्त्रीलाई मार्न भनेर कार्यालय/निवासमै पुग्ने समूहको निर्माणदेखि गृहमन्त्री स्वयंले आत्मसुरक्षाका लागि पेस्तोल पड्काएकोसम्मको घटना नेपाली राजनीतिको दुर्लभमध्येको एक हो ।

गोरखा दलको गडबडी

२००७ कात्तिक २१ मा तत्कालीन राजा त्रिभुवनले भारतीय दूतावासमा शरण लिएपछि राणा शासनविरुद्धको संघर्ष निर्णायक मोडमा प्रवेश गरेको थियो । त्यस घटनाले काठमाडौंलाई भावनात्मक र भौतिक दुवै पक्षबाट तरंगित गरेको थियो । राणा सरकार अप्ठ्यारोमा परेको थियो । प्रतिक्रियामा उनीहरूले त्रिभुवनकै माइला नाती ज्ञानेन्द्रलाई सिंहासनमा राखेका थिए । र अन्तर्राष्ट्रिय समुदायबाट राजाको मान्यता दिलाउन प्रयत्नशील थिए ।

यही बेला नेपाली कांग्रेसले राणा सरकारविरुद्ध सशस्त्र क्रान्ति सञ्चालन गरिरहेको थियो । विभिन्न मोर्चा कब्जा गर्न प्रयत्नशील थियो । राणा सरकारका देशभरका प्रतिनिधिहरू अप्ठ्यारोमा परेका थिए ।

मुख्यतः नेपालको आगामी राजनीतिक गोरेटो कोर्न भारतको राजधानी नयाँ दिल्लीमा प्रयास भइरहेको थियो ।

यी र यस्तै घटनाहरूलाई जोडेर राणाहरूले राजनीतिक परिस्थितिको संश्लेषण गरेका थिए- भारतको उक्साहटमा भारतमै शरण लिने त्रिभुवन राष्ट्रघाती हुन् । कांग्रेसले पनि भारतीय सरकारकै आडमा अराष्ट्रवादी क्रियाकलाप गरिरहेको छ । नेपालमा भारतीय हस्तक्षेप बढ्दै गएको छ । नेपालको सार्वभौमसत्ता र स्वतन्त्रता खतरामा परेको छ ।

ज्ञानेन्द्रलाई राजा बनाएर नेपालको राजनीतिक गतिलाई काबुमै राखेको प्रचार गर्न र दिल्लीमा विकसित घटनाक्रमको सामूहिक प्रतिवाद गर्न काठमाडौंमा २००७ पुस २० गते एउटा समूहको जन्म भयो । यसमा मुख्यतः भाइभारदारदेखि आठपहरियासम्म संलग्न थिए । यसलाई पृष्ठभूमिबाट साथ दिएका थिए- प्रधानमन्त्री मोहनशमशेर र कमाण्डर-इन-चिफ बबर शमशेरले ।

यो समूह रातको समयमा हातमा खुकुरी बोकेर र ‘आयो आयो’ भरेर हो-हल्ला गर्दै जनता तर्साउँथ्यो । त्यसैले जनताले यसलाई ‘खुकुरी दल’ भनेर नामाकरण गरेका थिए । र त्यसको प्रतिवादका लागि टोलटोलमा ‘टोल रक्षा संघ’को गठन गरिएको थियो ।

उता दिल्ली पुगेका राजा त्रिभुवन, कांग्रेस र राणा सरकारका प्रतिनिधिबीच २००७ माघ २९ गते सहमति भयो । फागुन ४ गते फरकफरक विमानद्वारा राजा त्रिभुवन र कांग्रेसका नेताहरू काठमाडौं फर्किए ।

फागुन ६ गते प्रधानमन्त्री मोहनशमशेरले नारायणहिटी दरबार पुगेर पञ्जापत्र फिर्ता गरे, जुन तत्कालीन राजा सुरेन्द्र शाहबाट जंगबहादुर राणाले प्राप्त गरेका थिए । भोलिपल्ट फागुन ७ गते राजा त्रिभुवनको एक सम्बोधनमार्फत् नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो । त्यसैदिन राणा तथा कांग्रेस प्रतिनिधि सम्मिलित नयाँ सरकार घोषणा भयो । यो सरकारमा गृहमन्त्री थिए- बीपी कोइराला ।

प्रजातन्त्र प्राप्तिपछि भने ‘खुकुरी दल’ले आफूलाई राजनीतिक पार्टीको रुपमा रुपान्तरण गर्‍यो । यसका लागि राजनीतिक व्यक्ति खोजेर दार्जिलिङमा रहेको गोरखा लिगका सदस्य रणधीर सुब्बालाई ल्याइयो र २००७ चैत २९ गते ‘वीर गोरखा दल’ नामक पार्टी निर्माण गर्ने निर्णय गर्‍यो ।

रणधीर सुब्बा र भरतशमशेरले ‘गोरखा’ शब्दबाट नेपालबाहिरका दार्जीलिङ, आसाम, देहरादून, वर्मा अझ भारतीय गोरखा फौजसम्म पनि धाक लगाउन जमाउन पाइन्छ भन्ने उद्देश्यले ‘वीर गोरखा दल’ नाम राखी संगठन गर्ने अठोट गरे । यस दलमा उपर्युक्त त्रसित र उभाडिएका सबै तत्त्वका साथै खुकुरी नचाई जुलुस निकाल्नेहरू पनि सम्मिलित भएकाले यो दल ‘खुकुरी दल’को नामले पनि प्रख्यात भयो ।

चैत २९ गते नै उसले तदर्थ समिति पनि गठन गरेको थियो । त्यसको सभापति रणधीर सुब्बा, महामन्त्री भरत शमशेर, कोषाध्यक्ष देववीर पाण्डे र सदस्यहरूमा युवराजशमशेर, वेनीबहादुर कार्की, ललितजंग सिजापती, कटकबहादुर रायमाझी, सुवदार चक्रबहादुर, दलबहादुर, दुर्गाबहादुर, भुवनबहादुर भण्डारी थिए ।

बुझ्नुपर्ने कुरा के छ भने, भरतशमशेर तत्कालीन रक्षामन्त्री बबर शमशेरका नाति थिए । र बबरशमशेर मोहनशमशेरपछि श्री ३ महाराजा तथा प्रधानमन्त्री हुने रोलक्रममा थिए । तर मोहन शमशेरकै पालामा राणा शासन ढलेकाले उनको सम्भावना टरेको थियो । बबरशमशेरले मात्रै होइन, प्रायः राणाहरूले आफ्नो एकछत्र एकाधिकार र सुखसयल गुमाउनुपरेको थियो । त्यसैले उनीहरूले यो समूह/पार्टीलाई आर्थिक–भौतिक सहयोग गरेका थिए ।

पार्टीले आफ्ना बारेमा जानकारी दिने उद्देश्यले चैत ३० गतेकै लागि आमसभाको पनि आयोजना गर्‍यो । गोरखा दलले प्रजातन्त्र प्राप्तिका निम्ति अपनाइएको प्रक्रिया र राणा-कांग्रेस संयुक्त सरकारको आलोचना गर्थ्यो । ऊ आफूलाई एकमात्र राष्ट्रवादी शक्तिका रुपमा प्रस्तुत गर्‍थ्यो । कांग्रेसको आलोचना गर्नु उसको मुख्यमध्येको काम थियो । भरतशमशेर बीपी कोइरालाको कट्टर आलोचक थिए । उनी नेपाली कांग्रेसलाई नेहरूले नेपाल खानका निम्ति पठाएको भन्दै हिँड्थे । उनको भनाइबारे धर्मरत्न यमीले लेखेका छन्- ‘कोइराला यसको नाइके हो ।… यिनीहरू नेपाली टोपीभन्दा गाँधी टोपी र सुरुवालभन्दा धोती कुर्तालाई बढी प्यारो गर्छन् । यी कोइरालाहरू हाम्रो सनातन धर्म मास्ने हुन् ।’

भर्खरै स्थापना भएको प्रजातन्त्रको निरन्तरताको सुनिश्चितताका लागि राणाहरूको पार्टी संशयको विषय भएको थियो । शक्ति, सम्पत्तिदेखि राज्यका संरचनामा रहेको शतकदेखिको प्रभावले पनि सिर्जना गर्ने अनुकूलताका कारण प्रतिक्रान्ति सहजै हुन सक्थ्यो । काठमाडौंमा हल्ला पनि चल्न थाल्यो- ‘गोरखा दलले सत्ता हत्याउने षडयन्त्र गर्दैछ ।’

गृहमन्त्री बीपीलाई पनि आजै उडाउँछन्, भोलि उडाउँछन् भन्ने रिपोर्टिङ हुन्थ्यो । बीपीलाई आउने रिपोर्टबारे आत्मवृत्तान्तमा उल्लेख छ– अब पुलिसको रिपोर्ट पर्ने, आज नाती जर्नेल भरत शमशेरको मोटर राति एक ठाउँमा देखियो । अर्को रिपोर्ट के आउँछ भने त्यहाँ अरु मानिसहरू पनि जम्मा भएका थिए । तेस्रो रिपोर्ट के आउँछ भने पिस्टल, बन्दुकहरु पनि जम्मा गरेका छन् । तीन ओटा रिपोर्ट तीन तरिकाले मकहाँ पुग्थ्यो । त्यो वास्तविक कुरा हो, त्यस्तो परिस्थिति थियो । मकहाँ दबाब के आउने भने, ‘तिमी कारबाई गर्दैनौं, यस्तो भइसक्दा पनि कुनै कार्बाही गर्दैनौं ।’

भरतशमशेरलाई गिरफ्तार गर्ने पूर्वतयारीस्वरुप गृहमन्त्री बीपीले तोरणशमशेरलाई प्रहरीको आईजी बनाए । 'सी क्लास'का राणा उनी पहिले सेनाको कर्णेल थिए र कांग्रेस नेतृत्वको क्रान्तिलाई साथ दिएका थिए ।

परिस्थितिको विश्लेषणपछि २००७ चैत २९ गतेको मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक सुरक्षा ऐन’ लागू गर्ने निर्णय गर्‍यो । सोही अनुसार गृहमन्त्री बीपी कोइरालाले आईजीपी तोरण शमशेरलाई गोरखा दलका सभापति रणधीर सुब्बा र महामन्त्री भरत शमशेर लगायतलाई गिरफ्तार गर्ने आदेश दिए । उनीहरूलाई चैत ३० गते बिहान ५ बजे नै गिरफ्तार गरियो र हनुमानढोकास्थित प्रहरी कार्यालयमा राखियो । पछि भरत शमशेरलाई सदर जेल र रणधीर सुब्बालाई लैनचाैरस्थित मुक्तिसेनाको क्याम्पमा लगेर राखियो ।

त्रिपुरेश्वरमा तनाव

भरतशमशेरको गिरफ्तारीपछि प्रधानमन्त्री मोहनशमशेरले बीपीलाई टेलिफोन गरी बोलाए र गिरफ्तारीबारे असन्तुष्टि पोखे । सिंहदरबारमा सैनिक अफिसरहरूकै अगाडि बाझाबाझको स्थिति उत्पन्न भयो । त्यही क्रममा मोहनशमशेरले कड्केर भनेका थिए - ‘म हुँ त्यसको (गोरखा दल) अध्यक्ष ।’ बीपीले जवाफ फर्काए, ‘तपाईं एउटा अवैध संगठनको अध्यक्ष हो भने, गृहमन्त्रीले गिरफ्तारीको आदेश दिन सक्छ ।’

यद्यपि, भरतशमशेरको गिरफ्तारीपछि सो पार्टीले राजनीतिक जुलुस र प्रदर्शन गर्ला भन्ने कांग्रेसको अपेक्षा थियो । सरकारमा मन्त्रीसमेत रहेका गणेशमान सिंहको भनाइ छ- तर उनीहरूले काठमाडौंमा त्यस्तो जुलुस निकाल्ने आँट गरेनन् ।… उनीहरूले जुन बाटो अपनाए त्यो थियो, सोझै आक्रमणको ।… त्यो भनेको सरकारउपर प्रत्यक्ष आक्रमण थियो । त्यसबाट उनीहरूका कार्यकर्ताको मनोबल पनि बढ्ने र आतंक पनि थप फैलिने भएकाले उनीहरूले त्यो बाटो अपनाएका थिए ।

चैत २९ मा तदर्थ समिति गठन गरिएकाले गोरखा दलका नेता तथा कार्यकर्तामा बढि जोश र सक्रियता हुनसक्थ्यो । अर्कोतिर, चैत ३० गतेकै लागि आमसभा पनि आयोजना गरिएकाले काठमाडौंमा उनीहरूको उपस्थिति र चहलपहल पनि स्वाभाविक ढंगले बढी थियो । जब उनीहरूले बिहानै भरत शमशेर गिरफ्तार भएको थाहा पाए, आक्रोशित र संगठित भए । तसर्थ दिउँसो नै एक हुल सदर जेल पुगेर उनलाई आफ्नो नियन्त्रणमा लियो ।

सदर जेलबाट फर्किने क्रममा त्यो हुल दुई टुक्रामा विभाजन भयो । पहिलो हुल टुँडिखेलतिर गयो । उनीहरूले भरत शमशेरलाई पनि लिएर गएका थिए । त्यहाँ पुगेर नाराबाजी गर्न थाले । जसलाई भरत शमशेरले पनि सम्बोधन गरे । जतिबेला त्यो हुल टुँडिखेल पुग्दै थियो, त्यतिबेला सेनाको परेडको समय भइरहेको थियो । गणेशमान सिंहको आंकलन छ- पल्टनको दिउँसोको परेडका बेला भरत शमशेरलाई टुँडिखेलमा घुमाउनुको तात्पर्य थियो, सेनालाई विद्रोह गर्न उक्साउनु । कमसेकम त्यसका योजनाकारको अभिप्राय त्यही देखिन्छ ।

अर्को हुलचाहिँ गृहमन्त्री निवास त्रिपुरेश्वरतर्फ लाग्यो । उनीहरू ‘बीपी कोइरालाको टाउको ले’ जस्ता उत्तेजक नाराका साथ अघि बढेका थिए ।

कृष्णप्रसाद भट्टराई, जो बीपीलाई गोरखा दलको सम्भावित गतिविधिबारे सूचना दिन त्रिपुरेश्वर पुगेका थिए, उनका अनुसार उनले सूचना दिएपछि व्यक्तिगत सुरक्षाका लागि बोराहरूबाट क्रान्ति सिद्धिएपछि थन्क्याइएका केही हतियार झिकिएको थियो । आफूले एउटा स्टेनगन झिकेको पनि उनको भनाइ छ ।

यसपछि मूल ढोका नै बन्द गरेर रोक्ने उपाय पनि रचिएको थियो । तर भीड यति बलियो थियो कि त्यसले ढोका नै तोडफोड गर्दै घरको कम्पाउन्डभित्र पसेको थियो । पहरेदारलाई घाइते तुल्याउँदै बन्दुक खोसिदिएका थिए । त्यहाँको वातावरण त्रासमय र कोलाहलपूर्ण बनेको थियो । ‘मार्यो’, ‘गुहार’ चित्कार सुनिन थालेको थियो । तर भीडको खोजीमा थिए- बीपी कोइराला । उनीहरू भन्दैथिए- ‘ख्वै त्यो कोइरालो ?’

पहरेदार, सरकारी पुलिस तथा मुक्ति सेनाका जवान र तल्लो तलामा रहेको गृहमन्त्रालयका कर्मचारीलाई कुटपिट र तोडफोड गरेपछि उनीहरू माथिल्लो तलातर्फ उक्लिएका थिए । मटानमा आइसकेपछि भीड झन् उग्र बन्न थाल्यो । त्यो उपद्रवी भीडलाई कसैले उत्तेजित तुल्याइरहेको थियो- हाम्रो सानुराजालाई पक्रेर थुन्ने यही कोइरालो हो, यसलाई मूला काटेजस्तो काट्नुपर्छ भनेर ।

बीपीहरू बसेको कोठाको ढोका बन्द थियो । बाहिरबाट ढुंगा तथा इँटाका टुक्राहरू प्रहार भइरहेका थिए । बीपीले कसैलाई पनि नबोल्न सुझाव दिएका थिए । सबैले हातमा हतियार बोकेका थिए, तर त्रसित मनोदशामा । रिभल्बर बोकेका बीपी भने शान्त थिए तर सचेत । बीपी स्वयं र गणेशमान सिंहले उनको त्यतिबेलाको मनस्थितिको चित्रण गरेका छन् ।

भीडले केहीबेर बल प्रयोग गरेपछि बन्द रहेको ढोका खुल्यो । गणेशमान सिंहको भनाइ छ- हातले नांगो खुकुरी नचाउँदै चार-पाँच जना विद्युत् गतिमा भित्र पसे र पोजिसन लिएजस्तो गरेर फैलिए । बैठकमा रहेका हामी सबैमाथि एकसराे नजर फिराएपछि उनीहरूमध्येको नाइकेले भन्यो- ए, दुवै जना यहीँ रहेछन् । लौ छप्का ।

भीडले आक्रमण गर्नुअघि नै बीपी अघि बढ्छन् र भन्छन्- यो के बदतमिज हो तिमीहरूको ? जाऊ । विरोध गर्नु छ भने तिमीहरू मिटिङमा गएर विरोध गर । घरमा आएर यस्तो गर्ने हो ?’

बीपीले आफूले त्यसो भनेपछि भीड माथिल्लो तलाबाट तलतिर झरेको र पुनः फर्केर आएको बताएका छन् । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले भने भीड त्यहीँ रहेको र आक्रमणमा उत्रिएको बताएका छन् । सिंहका अनुसार, अग्लो कदका बालकृष्ण गुप्तालाई एउटाले कठालो समातेर खुकुरी प्रहार गर्न खोज्छ । तर खुकुरीको टुप्पो दलिनमा बज्रिएका कारण उसको गर्धनमा चोट पर्दैन । त्यसपछि उसले पुनः खुकुरी उज्याउँछ । तर त्यति नै बेला बीपी कोइरालाले रिभल्बर चलाउँछन् । खुकुरी चलाउने व्यक्ति (सुकुलध्वज) त्यहीँ ढल्छ ।

बीपीले भने सिँढीबाट हुरिँदै आफूमाथि प्रहार गर्न आएपछि ४/५ वटा फायर खोलेको बताएका छन् । उनले पनि एक व्यक्ति त्यहीँ ढलेको बताएका छन् ।

बीपीको प्रहारबाट तीन जना घाइते पनि हुन्छन् । मूलतः त्यहाँ उपस्थित भीड तितरबितर हुन्छ । परिस्थिति शान्त हुन्छ । गणशेमान सिंहको शब्दमा, त्यतिबेला त्यो पूरै गेष्ट हाउस (बीपी निवास), युद्ध समाप्त भएपछि देखिने विभत्स दृष्यको नमूना बन्न पुगेको थियो । फुटेको सिसा र नांगा खुकुरी यत्रतत्र छरिएका थिए । कार्पेट खुम्चिएको र रगतका टाटाले रंगिएका थिए ।

के गर्ने भन्ने अन्योल कायमै थियो । एकअर्कालाई दिने जवाफ कसैसँग थिएन । त्यति नै बेला प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट फोन आउँछ, बीपीलाई । फोन प्रधानमन्त्री मोहन शमशेरको आज्ञाबाट उनकै कान्छा छोरा विजय शमशेरले गरेका हुन्छन् । उनले हमला भएकाले विजुली गारद पठाउने हुकुम भएको भन्दै त्यसबारे अनुमति माग्छन् । बीपीले जवाफ दिन्छन्, ‘केही गर्नुपर्दैन । यो कसले गरायो मलाई थाहा छ । त्यसले भारी किमत बेहोर्नु पर्नेछ ।’

बीपीलाई राजाको तर्फबाट योगविक्रम आउँछन् । उनले त्यहाँको वातावरण हेरेर गएपछि राजाकै फोन आउँछ । उनले बीपीको त्रिपुरेश्वरस्थित निवासमा बस्ने स्थिति नभएकाले दरबारमै आएर बस्न भन्छन् । गृहमन्त्री बीपी त्यसपछि नारायणहिटीमै बस्न जान्छन्, एक महिनाजति त्यहीँ बस्छन् । काण्ड भएकै दिन उनले क्याबिनेट बोलाउनका लागि प्रधानमन्त्रीलाई भन्नका लागि राजालाई आग्रह गर्छन् । त्यस दिन अबेर भइसकेकाले भोलिपल्ट राजाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकमा बीपीले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने प्रस्ताव राख्छन् । त्यसपछि नेपालको राजनीति थप उतारचढाव आउँछन् ।

अर्को प्रसंग यहाँ रोचक हुनसक्छ । त्यतिबेला बीपीको नाम धेरैले सुनेका भएपनि उनको अनुहार धेरैले देखेका थिएनन् । त्यसैले धेरैले चिन्दैनथे । त्यसैले बीपीमाथि आक्रमण गर्न गएकामध्ये धेरैले पनि बीपीलाई चिन्दैनथे । उनीहरूले बीपीका निजी सचिव भएर काम गरिरहेका दीर्घराज कोइरालालाई बीपी नै ठानेर पनि आक्रमण गरेका थिए । एउटा समूहले उनलाई बीपी नै सम्झेर समातेर टुँडिखेल पुर्याएको थियो, जहाँ भरत शमशेर थिए । उनी भन्छन्, ‘विजयनाथ गुरु दौड्दै आएर मलाई खबर दिए, बीपीलाई हाम्रा मानिसले पक्डेर लिएर आएका छन् भनेर । म उकुसमुकुस भएर त्यो भीड छिचल्दै त्यतातिर लागेँ । रक्ताम्य पारेर दीर्घराज कोइरालालाई ल्याउँदै रहेछन्, बीपी सम्झेर ।’

टुँडिखेलमा शक्तिशाली अवस्थामा थिए, भरत शमशेर । उनले चाहेको भए सेनाको साथ लिएर सत्ता उलटफेर गर्न सक्थे । तर, त्यो क्षणिक हुनसक्थ्यो । उनले कांग्रेसका बीपी लगायत नेताको हत्या गर्नुपर्ने हुन्थ्यो । २३/२४ वर्षका उनले त्यस्तो आँट गर्न सकेनन् । वा नगरेर बुद्धिमानी देखाए । उनीसँग अब के गर्ने भन्ने बलियो विकल्प पनि थिएन । बरु नारायणहिटी गएर राजासँग आफूलाई समर्पण गर्ने सोचेर त्यतातर्फ लागे । तर बाटैमा रक्षा दलको कब्जामा परे । भरत शमशेर भन्छन्, ‘कुनै अवरोध नगरेर सुरुक्क आफूलाई सपुर्द गरेँ । एक किसिमले मनमा शान्ति पाएँ । … रक्षादलले मलाई लगेर आफ्नो लैनचौरको क्याम्पमा थुनेर राखे ।’

सरकारले २००८ वैशाख २ मा ‘वीर गोरखा दल’लाई हिंसात्मक, विध्वंसात्मक कार्य गरी जनतामा आतंक मच्चाउने साम्प्रदायिक संस्था करार गर्दै गैरकानुनी घोषित गर्यो । तर भरत शमशेरमाथि व्यक्तिगत रुपमा कुनै किसिमको कारबाही भने भएन । बरु गृहमन्त्री बीपी कोइरालाले आफ्नो पदबाट त्यागपत्र दिनुभन्दा एक दिनअघि अर्थात् २००८ कात्तिक २६ गते रिहा गरिदिए ।

बीपीमाथिको आक्रमण कुनै पूर्वकल्पित घटना नभएको उनको भनाइ छ । ‘मेरो जानकारीमा भएकै होइन । हाम्रै मानिसले, मलाई जेल हालेपछि, आवेशमा आएर गरेका हुन् । त्यतिसम्म जिम्मेवारी लिन म तत्पर छु ।’

सन्दर्भ सामग्रीहरू :

विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस : भाग दुई /प्राडा राजेश गौतम

नेपालको प्रजातान्त्रिक आन्दोलन र विद्रोही भरतशमशेर/प्राडा राजेश गौतम

गणेशमान सिंहः मेरा कथाका पानाहरू : खण्ड ३/प्रस्तुतकर्ताः माथवरसिंह

नेपालको ऐतिहासिक रुप-रेखा/बालचन्द्र शर्मा

नेपालको कुरा/धर्म रत्न ‘यमि’

नेपालको राजनीतिक दर्पण (भाग-१)/गृष्मबहादुर देवकोटा

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित