- सरस्वती गौतम, अध्यक्ष, नोबेल साकोस साहित्य संस्था, काठमाडौ ।
" मेरो साथी भनेको तँ मात्र त होस् । तँ पनि बोलेनस भने ।" फतफताउदै धनमाया एक्लो साथी धुँवा र धूलोले थलिएको रेडियोको कान बटार्दै कामतिर लाग्छे। धेरै दिनदेखि बिरामी भएर थलिएकीले धनमाया मेलापात जान नसक्दा घरमा अन्न सकिएर चिन्तित थिई । रेडियोमा बजेको समाचारले झस्किन पुग्छे । रेडियोको नजीकै गएर कान थाप्छे । भोलि सहिद दिवस देशैभरी भव्यरुपमा मनाउन ठुलो रकम निकासा भएको छ । सहिदका परिवारलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरिएको छ आदि।
धनमाया हृदय भारी हुन्छ,मुटु रोकिए जस्तो हुन्छ । खाटा बसेको घाउमा फेरि नुन खोर्सानी छर्किने काम भयो सहिद शब्दले उसको पीडित हृदयमा ।
बिचरी धनमाया बालखैमा आमाबाबा गुमाएकी, विवाह पश्चात् छ महिनाको दुधे बालक छोडेर मुग्लान पसेको लोग्ने अहिलेसम्म फर्केको छैन । जिवित छ कि छैन केही अत्तोपत्तो छैन । दु:खले मेलापात गर्दै हुर्काएको एक्लो साहारा मुटुको टुक्रा छोरालाई पनि पन्ध्र वर्षको उमेरमा क्रान्तिकारी भन्नेले बन्दुक बोकाएर जङ्गल पसाएको थियो। लासै देख्न नपाइ सहिद घोषणा गरेको समाचार सुनेकी धनमाया बिगतलाई सम्झेर रुदारुदै भुसुक्कै निदाउछे ।
"काकी ए काकी! कता हुनुहुन्छ बाहिर आउनुहोस् न" तल्लाघरे सुन्तली आइपुग्छे । "किन सुन्तली भित्र नै न आइ बाहिर बाटै जान्छेस आइज न बस, गुन्द्री ओछ्याउछे धनमाया । "काकी आज सहिद दिवस तपाईंको छोरा पनि सहिद घोषणा भएको छ । आज डाँडाको चौतारीमा कार्यक्रम छ , सहिदका परिवारलाई सम्मान गर्ने रे एघार बजे आइपुग्नु है । म चै अहिले जान्छु , फेरि कार्यक्रममा जान ढिला हुन्छ।"
लामो सुस्केरा हाल्दै बोली धनमाया - जान्न म त बिरामीले थलिएर मेलापात गर्न त जान सकेकी छैन । घरमा खानलाई अन्नको गेडो छैन , एउटा माला लाएर के गर्नु मेरो छोरा आउँदैन । यो सहिद शब्द हिजो रेडियोमा सुनेदेखि मेरो मन थिरमा छैन भक्कानो फुटेर आउँछ । कलेजी चिरिन्छ मेरो- एक मात्र सहारा मेरो बालख छोरालाई जबर्जस्ति बन्दुक देखाएर जङ्गल लगेदेखि अहिलेसम्म छोराको मुख देख्नै नपाइ सहिद घोषणा गरे दुष्टहरुले। त्यसैले यो सहिद शब्द म सुन्नै सक्दिन सुन्तली ।" "काकी तेसो नभन्नु न तपाईं तँ सहिदकि आमा हो। खानलाई अन्न छैन भन्दै हुनुहुन्छ, सम्मान गर्ने बेलामा पैसा पनि सहयोग गर्छन् होला । टाढा - टाढाबाट धेरै मान्छेहरू आउँछन रे , बिस्तारै बिस्तारै भएपनि आउनु न। म अहिले गए उतै कार्यक्रममा भेटौला।"
खै खाने अन्न किन्न सकिएला कि भन्ने आशमा आफ्नो मनलाई सम्हाल्दै कार्यक्रम स्थलमा पुग्छे धनमाया केही सहयोग पाउने आशामा। कार्यक्रम स्थलमा निकै भीड थियो । सहिदहरुको फोटोमा माल्यार्पण गर्ने बेला भयो । सहिदको परिवार बोलाइयो । बिचरी धनमाया भिडलाई छिचोलेर स्टेजमा पुग्न सकिन । सहिदको फोटोमा एकपछी अर्कोले फूल चढाउने क्रममा उपस्थित सबैले अगाडि जाने क्रममा ठेलामठेलमा परेर धनमाया भुइँमा लड्छे । भिड निकै भएकोले पुलिसले नियन्त्रण गर्न लाठीचार्ज गर्छ। त्यो माहोल साम्य त हुन्छ , भूइँमा लडेकी धनमायाको शरीरले भिडको कुल्च्याइ सहन नसकेर शरीरलाई प्राणले छोडेर गएको कसैलाई पत्तो नै हुदैन । माइकबाट आवाज आउँछ, "भुइँमा लडेको को हो ।"
परबाट आवाज आउँछ सहिद कि आमा ..!
FOUNDER/CHIEF EDITOR :