आरके थापा, युरोपनेपाली खबर-
लिस्बन, ६ मार्च । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल आफ्नो कार्यभार सहाल्न लिस्बन आइपुगेका छन् ।
राजदूत पौडेल आज बिहीबार अपरान्ह पोर्चुगल आइपुग्दा नेपाली दूतावास लिस्बनका नियोग उपप्रमुख रामबाबु नेपाल र पोर्चुगलको परराष्ट्र मन्त्रालयको प्रोटोकल विभागका लुइस सान्तोसले लिस्बन एयरपोर्टमा स्वागत गरेका थिए ।
पोर्चुगलमा पहिलोपटक स्थापना गरिएको नेपाली राजदूतावासले आगामी मार्च तेस्रो सातादेखि औपचारिक रुपमा कन्सुलर सेवा सुरू गर्ने अपेक्षा गरिएको छ ।
लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलस्थित परराष्ट्र मन्त्रालयमा औपचारिक रूपमा काम सुरु गर्नका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइ सकेको र स्वीकृति प्राप्त हुने बित्तिकै दूतावासले सेवा सुरु गर्नेछ । मार्च तेस्रो सातासम्म सबै प्रक्रिया पूरा भएर लिस्बनबाट सेवा सुरु हुने आंकलन गरिएको छ ।
राजदूतावासका लागि भवन भाडामा लिने प्रक्रिया पनि चलिरहेको र टुङ्गो लाग्नसाथ उक्त भवनबाट नै सेवा सुरु हुनेछ । दक्षिण एसियाली मुलुकहरु भारत, पाकिस्तान, बंगलादेश लगायत अधिकांश देशहरुका दूतावास रहेको एरिया साथै नेपाली सेवाग्राहीहरुलाई पनि पायक पर्ने स्थान खोजी भइरहेको जनाइएको छ ।
पोर्चुगलमा राजदूतवास स्थापना भएर पोर्चुगलबाटै सेवा लिन पाइने कुराले आम पोर्चुगलबासी नेपालीहरु उत्साहित बनेका छन् । हालसम्म पोर्चुगलका नेपालीहरूले पेरिसस्थित नेपाली दूतावासबाट सेवा लिदै आएका छन् ।
यसैबीच नेपाली दूतावास लिस्बन पोर्चुगलले आज एक सूचना जारी गरी लिस्बनमा पेरिस दूतावास र लिस्बन दूतावासले संयुक्त रूपमा संचालन गरेको घुम्ती कन्सुलर सेवा शिविर समाप्त भइसकेको जानकारी दिएको छ ।
हेर्नुहोस् नेपाली दूतावास लिस्बन पोर्चुगलले प्रकाशित गरेको सूचना जस्ताको तस्तै :
कागजात प्रमाणिकरण सम्बन्धी यस राजदूतावासको जरुरी सूचना ।
नेपाली राजदूतावास, लिस्वन र नेपाली राजदूतावास, पेरिसद्वारा लिस्बनमा संयुक्त रुपमा आयोजना गरिएको घुम्ति कन्सुलर सेवा शिविर समाप्त भैसकेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ। भोलि शुक्रवार, ०७ मार्च २०२५ देखि यस घुम्ति शिविरबाट कागजात प्रमाणिकरण लगायतका थप अन्य कुनै पनि कन्सुलर सेवाहरु उपलव्ध नगराइने भएको हुँदा अविलम्व कागजात प्रमाणिकरण गर्नुपर्ने आवेदकहरुको हकमा यस अघि जस्तै नेपाली राजदूतावास, पेरिसबाटै कागजात प्रमाणिकरण लगायतका अन्य सेवा लिन सकिने व्यहोरा अनुरोध छ । कागजात प्रमाणिकरणका लागि यस अघि राजश्व भुक्तान गरिसकेका आवेदकहरुले समेत नेपाली राजदूतावास, पेरिसबाट नै सेवा लिनु हुन र अब उप्रान्त अर्को सूचनामार्फत सूचित नगर्दा सम्म यस राजदूतावासबाट सेवा लिने अभिप्रायले राजश्व भुक्तानी नगर्नुहुन अनुरोध छ ।
यसअघि संकलन गरी बितरण गर्न बाँकी रहेका केही प्रहरी चारित्रिक प्रमाणपत्र तथा पारिवारिक कागजातहरु अलकान्त्रा, लिस्वनस्थित यस राजदूतावासको अस्थायी कार्यालयबाट २ वजेदेखि ५ वजेसम्म मात्र बुझ्न सकिनेछ ।
हाल स्थापना हुने प्रक्रियामा रहेको लिस्वनस्थित नेपाली राजदूतावास भाडाको आफ्नै भवनबाट संचालन गर्ने गरी तयारी भैरहेको र तत्पश्चात राजदूतावासको भवनबाटै सेवा उपलव्ध गराइने भएको हुँदा सेवाग्राहीहरुलाई केही समयको लागि धैर्यधारण गरिदिनु हुन अनुरोध गरिन्छ । प्रक्रिया समाप्त भई सेवाको सुरुवात गर्ने सम्बन्धमा यथासमयमा पछि जानकारी गराइनेछ ।
FOUNDER/CHIEF EDITOR :