युरोपनेपाली खबर ।
लिस्बन, पोर्चुगल । निबन्धकार रामप्रसाद पन्त(आरपी) द्वारा लिखित संस्करणात्मक निबन्ध संग्रह "अफगानिस्तानको आगो" आइतबार पोर्चुगलको लिस्बनमा लोकार्पण भएको छ ।
अनेसास पोर्चुगलले आयोजना गरेको एक समारोहमा पोर्चुगलका लागि महामहिम नेपाली राजदूत प्रकाशमणि पौडेलले उक्त कृति विमोचन गर्नुभयो । विमोचन समारोहमा बोल्दै राजदूत पौडेलले प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको श्रीवृद्दि र उत्थानमा लागेका सर्जक, साहित्यकारहरुलाई दूतावासको सधैं सद्भाव रहने बताउनु भयो । र, निबन्धकार आरपी पन्तको थप साहित्यक यात्राको शुभकामना दिनुभयो ।
उक्त समारोहमा कृति र सर्जकलाई नेपाली दूतावास लिस्बनका द्वितीय सचिव रामबाबु नेपाल, एनआरएनए आइसीसी सदस्य राजकुमार थापा, नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगर शुभकामना दिनु भएको थियो । आइसीसी सदस्य थापा र महासंघ अध्यक्ष मगरले पोर्चुगलको नेपाली समुदायका चासो, समस्या र सवालहरु बारेमा समेत चर्चा गर्नु भएको थियो । कार्यक्रममा नोबेल साकोस साहित्य संस्थाको संस्थापक अध्यक्ष सरस्वती गौतम, पत्रकार महासंघ युरोपका उपमहासचिव कलश खरेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
पुस्तकले परदेशमा रहेका नेपालीहरुको आवाज र भावना बोलेको समीक्षक अर्जुन श्रीले बताउनु भयो भने यो कृति कसरी जन्मियो भन्ने बारेमा लेखक रामप्रसाद पन्त(आरपी) स्वयंले पनि प्रकाश पार्नुभयो ।
कार्यक्रमको सभापतित्व अनेसास पोर्चुगलकी अध्यक्ष सवि श्रेष्ठले, संचालन महासचिव एन बी अन्जानले र स्वागत मन्तव्य यादव देवकोटाले गर्नुभएको थियो ।
FOUNDER/CHIEF EDITOR :