यो सम्पूर्ण पोर्चुगिस जनता र लोकतन्त्रको जीत हो : ननिर्वाचित राष्ट्रपति एन्टोनियो जोसे सेगुरो

यो सम्पूर्ण पोर्चुगिस जनता र लोकतन्त्रको जीत हो : ननिर्वाचित राष्ट्रपति एन्टोनियो जोसे सेगुरो
www.europenepalikhabar.com २०८२ माघ २६ गते सोमबार, 9-02-2026


पोर्चुगल (लिस्वन) —  पोर्चुगलको दोस्रो चरणको राष्ट्रपतिको निर्वाचनमा मध्यममार्गी समाजवादी नेता एन्टोनियो जोसे सेगुरो भारी मतका साथ विजयी हुनुभएको छ । हिजो आइतबार (फेब्रुअरी ८) भएको निर्णायक मतदानमा आफ्ना प्रतिद्वन्द्वी सुदूर दक्षिणपन्थी नेता आन्द्रे भेन्तुरालाई ठूलो अन्तरले पराजित गर्दै उहाँ पोर्चुगलको नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित हुनुभएको हो ।

विजयको घोषणा लगत्तै लिस्वनस्थित एक सभा हलमा समर्थकहरूलाई सम्बोधन गर्दै ६३ वर्षीय सेगुरोले देशमा एकता कायम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “आजको जीत पोर्चुगाली जनता र लोकतन्त्रको जीत हो । म कुनै खास दल वा विचारको मात्र होइन, सबै पोर्चुगलवासीको राष्ट्रपति हुनेछु ।” सम्बोधनको अन्त्यमा उहाँले भावुक हुँदै “पोर्चुगल अमर रहोस्”भन्दै राष्ट्रिय एकताको नारा गुञ्जाउनुभयो ।

पोर्चुगलको राष्ट्रिय निर्वाचन आयोगका अनुसार करिब ९९ प्रतिशतभन्दा बढी मत गणना सकिँदाको नतिजा यसप्रकार छ ।

एन्टोनियो जोसे सेगुरो : ६६.२ प्रतिशत (विजेता) ।

आन्द्रे भेन्तुरा  : ३३.८ प्रतिशत ।

कुल मतदाता संख्या ११ मिलियन (१ करोड १० लाख) भन्दा बढी रहेकोमा यसपटक करिब ५१ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्कले देखाएको छ । खराब मौसम र बाढीका बावजुद पनि नागरिकहरूले उत्साहजनक रूपमा मतदानमा भाग लिएका थिए । यो जित पोर्चुगलको इतिहासमा अहिलेसम्मकै उच्च मतमध्ये एक मानिएको छ ।

पोर्चुगलमा सन् १९८६ पछि पहिलो पटक राष्ट्रपतीय निर्वाचन दोस्रो चरणमा पुगेको हो । जनवरी १८ मा भएको पहिलो चरणको मतदानमा ११ जना उम्मेदवारहरू मैदानमा भए पनि कसैले ५० प्रतिशत मत कटाउन नसकेपछि धेरै मत पाउने शीर्ष दुई उम्मेदवार (सेगुरो र भेन्तुरा) बीच हिजो फेब्रुअरी ८ मा प्रतिस्पर्धा भएको थियो ।

यो निर्वाचनले पोर्चुगलको राजनीतिमा दुईवटा महत्वपूर्ण प्रभाव पारेको छ ।

१. लोकतान्त्रिक स्थिरताको सुनिश्चितता : सेगुरोको विजयले पोर्चुगलमा उदारवादी र मध्यममार्गी राजनीतिको पकड बलियो रहेको पुष्टि गरेको छ । उहाँले वर्तमान अल्पमतको सरकारसँग मिलेर काम गर्ने र देशको संवैधानिक मूल्यहरूको रक्षा गर्ने अपेक्षा गरिएको छ ।

२. दक्षिणपन्थी उदयको चुनौती : पराजित भए पनि आन्द्रे भेन्तुराले ३३ प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुले पोर्चुगलमा दक्षिणपन्थी र आप्रवासन विरोधी लहर बढ्दै गएको संकेत दिएको छ । यसले भविष्यको राजनीतिमा केही ध्रुवीकरण सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ ।

सेगुरोले आगामी मार्च ९ तारिखमा निवर्तमान राष्ट्रपति मार्सेलो रेबेलो डी सोसाको स्थान लिँदै आफ्नो ५ वर्षे कार्यकाल सुरु गर्नुहुनेछ । युरोपेली युनियनका नेताहरूले पनि सेगुरोको विजयलाई “युरोपेली मूल्य मान्यताको जीत” भन्दै बधाई दिएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित