पोल्यान्डमा पहिलो नेपाल महोत्सव हुँदै

पोल्यान्डमा पहिलो नेपाल महोत्सव हुँदै
www.europenepalikhabar.com २०८३ असार २२ गते सोमबार, 6-07-2026


 मुलुक पोल्यान्डमा पहिलोपटक नेपाल फेस्टिबल -२०२६ हुँदैछ। पोल्यान्डको पोजनान सहरमा आगामी जुलाई ११ मा यो फेस्टिबल आयोजना हुन लागेको हो।

हामी नेपाली ग्लोबल पोल्यान्ड शाखाको आयोजनामा पोजनानस्थित इम्पेरियल क्यासलमा हुने महोत्सव आगामी शनिबार ११:३० बजेदेखि सुरु हुनेछ।

आयोजकका अनुसार महोत्सव पोल्यान्डसमेत कार्यक्षेत्र रहेको जर्मनीका लागि नेपाली कार्यवाहक राजदुत सागरप्रसाद फुयालको प्रमुख आतिथ्यमा हुनेछ। साथै, पोल्यान्ड सरकारको कल्चरल डिपार्टमेन्ट, नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न संस्थाका प्रतिनिधिलाई कार्यक्रममा आमन्त्रण गरिएको छ।

कार्यक्रममा नेपाली झण्डासहित कार्यक्रममा सहभागि भई दिन पोल्यान्डमा रहेका नेपालीलाई आयोजकले आग्रह गरेका छन्। 

आयोजक संस्था हामी नेपाली ग्लोबल पोल्यान्डका अध्यक्ष शान्ति श्रेष्ठका अनुसार कार्यक्रम दुई चरणमा हुनेछ। पहिले पोजनानको मार्चिन ८०/८२ को सेन्त्रुम कुल्टुरे जामेखमा उपस्थित भई नेपालको झण्डासहित  मौलिक संस्कृति झल्काउने सांस्कृतिक नृत्य, झाँकी, संगीत, परम्परागत पोशाकमा सहरका मुख्य चौकको परिक्रमा गरिनेछ । 

दोस्रो चरणमा इम्पेरियल कल्चरल सेन्टरको मुख्य हलमा दिउँसो १: ३० कार्यवाहक राजदूत तथा पोल्यान्डका सरकारी निकायका प्रतिनिधिहरू लगायतको भव्य सहभागितामा औपचारिक कार्यक्रम हुनेछ।

औपचारिक कार्यक्रममा आफ्नो कार्यकाल सकेर नेपाल फर्कन लागेका कार्यवाहक राजदूत फुयाललाई पोल्यान्डवासी नेपालीको तर्फबाट विदाई पनि गर्ने आयोजकले जनाएको छ।

'नेपाल संस्कृतिको धनी देश हो। महोत्सवमार्फत पोलिस नागरिकलाई नेपालको सांस्कृतिक विविधता र मौलिक पहिचानसँग परिचित गराउने तथा नेपालको भ्रमण गर्न प्रोत्साहित गर्ने लक्ष्य राखिएको छ', अध्यक्ष श्रेष्ठले बताइन्।

कार्यक्रम संयोजक भविन्द्र गाहा मगर (भविन) ले महोत्सवलाई भव्य रुपमा सफल बनाउनका लागि विभिन्न उपसमिति बनाएर तयारी भइरहेको बताए। 

'यो महोत्सव मिनी नेपाल जस्तो देखाउने हाम्रो चाहना हो,' संयोजक गाहा मगरले भने।

हामी नेपाली ग्लोबल पोल्यान्ड शाखा पोल्यान्डको सरकारी निकायमा दर्ता भएका थोरै संस्था मध्ये एक हो। यो संस्था सन् २०२१ मा पोल्यान्डको केआरएसमा दर्ता भएर आफ्नो सामाजिक कार्य गर्दे आएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित