युरोपनेपाली खबर, लिस्बन, पोर्चुगल । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेश कमिटीको प्रथम अधिवेशन आगामी ६ सेप्टेम्बर २०२६ मा स्पेनको बार्सिलोनामा हुने भएको छ।
"प्रवासी नेपालीको सम्मान,समृद्ध नेपालको अभियान" भन्ने नाराका साथ युरोपमा रहेका प्रवासी नेपालीलाई संगठित गर्दै संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले पहिलोपटक महादेशस्तरीय अधिवेशन आयोजना गर्न लागिएको प्रवासी नेपाली मञ्च युरोपका सचिव शालिक थपलियाले बताए ।
अधिवेशनमा युरोपका विभिन्न मुलुकमा रहेका प्रवासी नेपाली मञ्चका राष्ट्रिय कमिटीका प्रतिनिधि तथा नेतृत्वको सहभागिता रहने जनाइएको छ।
अधिवेशनले प्रवासी नेपाली मञ्चको युरोप महादेशस्तरीय संगठनलाई थप व्यवस्थित बनाउँदै आगामी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गर्नेछ। साथै, युरोपमा रहेका नेपाली समुदायका साझा समस्या, प्रवासी नेपालीका अधिकार तथा नेपालसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने बताइएको छ।
प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशनलाई संगठनको संस्थागत विकासका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। विभिन्न देशमा रहेका नेपालीबीच आपसी एकता, सहकार्य र समन्वयलाई थप मजबुत बनाउँदै प्रवासमा रहेका नेपालीका साझा मुद्दालाई संगठित रूपमा उठाउने अधिवेशनले नयाँ आधार तयार गर्ने अपेक्षा गरिएको छ।
अधिवेशनको तयारीका लागि युरोपका विभिन्न देशमा रहेका मञ्चका कमिटीहरू सक्रिय रहदै राष्ट्रिय कमिटीका अधिवेशनहरु धमाधम भइरहेका छन्। आयोजकहरूले अधिवेशनलाई व्यवस्थित, सहभागितामूलक र प्रभावकारी बनाउन आवश्यक तयारी अघि बढाएको जनाएका छन् ।
FOUNDER/CHIEF EDITOR :