लिस्बन, पोर्चुगल । पोर्चुगलमा आप्रवासीहरूको अधिकार तथा हकहितका लागि कार्यरत संस्था Solidariedade Imigrante – Associação para a Defesa dos Direitos dos Imigrantes ले नेपालमा आएको भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा सहयोगका लागि पाँच सय युरो (500 Euro) नगद आर्थिक सहयोग गरेको छ।
उक्त सहयोग रकम गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को Emergency Fund मा जम्मा गरिएको छ ।
Solidariedade Imigrante का निर्देशक Timóteo Macedo ले उक्त सहयोग रकम गैरआवासीय नेपाली संघ, युरोप महादेशका उपसंयोजक (DRC) राजकुमार थापा मार्फत एनआरएनए आइसीसीलाई हस्तान्तरण गरेका हुन् ।
नेपालमा प्राकृतिक विपत्तिबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै पोर्चुगलस्थित आप्रवासी अधिकारसम्बन्धी संस्थाले गरेको यो सहयोगले नेपाल र पोर्चुगलबीचको मानवीय सम्बन्ध तथा आपसी सहकार्यलाई थप सुदृढ बनाउने विश्वास गरिएको युरोप उपसंयोजक थापाले बताए ।
थापाले विपद्को समयमा नेपालप्रति सद्भाव र मानवीय सहयोग प्रदर्शन गरेकोमा Solidariedade Imigrante तथा संस्थाका निर्देशक Timóteo Macedo प्रति आभार व्यक्त गरेका छन् ।
Solidariedade Imigrante – Associação para a Defesa dos Direitos dos Imigrantes पोर्चुगलमा आप्रवासीहरूको अधिकार संरक्षण तथा सामाजिक न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय संस्था हो ।
FOUNDER/CHIEF EDITOR :