पोर्चुगल । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन आगामी नोभेम्बर ४ र ५ तारिख (२०८३ कार्तिक १८ र १९ गते) काठमाडौंमा हुने भएको छ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव तथा प्रचारप्रसार विभाग प्रमुख भक्त गुरुङका अनुसार अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न विभिन्न तयारी अघि बढाइएको छ।
अधिवेशनमा प्रवासी नेपाली मञ्चका सदस्य तथा समर्थकहरूको व्यापक सहभागिता सुनिश्चित गर्न प्रचार–प्रसारलाई तीव्र बनाउने तयारी गरिएको छ। प्रचारप्रसार उपसमितिका उपसंयोजक गोविन्द पौडेलले अधिवेशनमा सहभागी हुन सबै सदस्य तथा समर्थकलाई आग्रह गर्नुभएको छ।
अन्तर्राष्ट्रिय कमिटीको २९औँ पूर्ण बैठकबाट दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको प्रचार–प्रसार उपसमिति गठन गर्ने निर्णय भएपछि अक्टोबर १ तारिख बसेको भर्चुअल बैठकले उपसमितिको कार्ययोजना र जिम्मेवारीसम्बन्धी विभिन्न निर्णय गरेको हो।
बैठक उपसचिव तथा प्रचार–प्रसार विभाग प्रमुख भक्त गुरुङको अध्यक्षतामा बसेको थियो भने सचिव चाणक पोखरेलको विशेष उपस्थितिमा सञ्चालन भएको थियो। बैठकको सञ्चालन उपसंयोजक गोविन्द पौडेलले गर्नुभएको थियो।
सम्मेलनको लोगो र थिम सार्वजनिक गर्ने तयारी
बैठकले दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनका लागि लोगो, थिम तथा ब्रान्डिङ सामग्री तयार गर्ने निर्णय गरेको छ। छलफलका क्रममा प्रस्तावित थिममध्ये “सुदृढ संगठन, सुरक्षित वैदेशिक रोजगार : राष्ट्र निर्माणमा प्रवासीहरूको बलियो आधार” तथा अंग्रेजीमा “Strengthening Organisation, Safeguarding Employment, Empowering the Diaspora, Building Nation” लाई अन्तिम रूप दिने विषयमा निर्णय गरिएको छ।
लोगो तथा डिजाइन तयार गर्ने जिम्मेवारी शालिकराम पन्थ र रामशरण सिमखडालाई दिइएको छ। आगामी तीन दिनभित्र सम्मेलनको लोगो तथा जिंगलको प्रारम्भिक नमुना तयार गरी उपसमिति र संयोजकमार्फत सचिवालयमा समेत संप्रेषण गर्ने निर्णय गरिएको छ।
अक्टोबर ११ मा पत्रकार सम्मेलन
दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको लोगो, थिम तथा जिंगल सार्वजनिक गर्ने उद्देश्यले आगामी अक्टोबर ११ तारिख, आइतबार नेपाली समयअनुसार साँझ ५ बजे जुन मार्फत बृहत पत्रकार सम्मेलन तथा सार्वजनिक कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।
कार्यक्रममा डायस्पोरा तथा नेपालका विभिन्न सञ्चारमाध्यमलाई आमन्त्रण गर्ने तयारी गरिएको छ। साथै नेकपा (एमाले) केन्द्रीय कमिटीका उपमहासचिव एवं समग्र प्रवास इन्चार्ज क. लेखराज भट्ट, केन्द्रीय प्रचार विभाग प्रमुख निरज आचार्य, यूरोप तथा ओसियाना इन्चार्ज सञ्जय थापा, अमेरिका–क्यानडा इन्चार्ज घनश्याम पाण्डे, पूर्वी एसिया इन्चार्ज सूर्य पाठक, मध्यपूर्व इन्चार्ज रविन्द्र अधिकारी, प्रवासी नेपाली मञ्चका अध्यक्ष रमेश पाण्डे, प्रेस चौतारी अध्यक्ष गणेश पाण्डे तथा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मालाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्ने निर्णय गरिएको छ।
प्रचारप्रसार उपसमितिलाई जिम्मेवारी बाँडफाँट
बैठकले सम्मेलनको प्रचार–प्रसारलाई व्यवस्थित बनाउन उपसमितिलाई विभिन्न जिम्मेवारीसमेत तोकेको छ। उपसमितिको प्रमुखमा भक्त गुरुङ, उपप्रमुखमा गोविन्द पौडेल तथा सदस्यहरूमा शालिकराम पन्थ, घनश्याम भट्टराई, रामशरण सिमखडा रहेका छन्।
उपसमितिलाई सम्मेलनको प्रचार–प्रसार योजना तयार गर्ने, राष्ट्रिय तथा प्रवासी नेपाली सञ्चारमाध्यमसँग समन्वय गर्ने, प्रेस विज्ञप्ति तथा पत्रकार सम्मेलन व्यवस्थापन गर्ने, सामाजिक सञ्जाल तथा डिजिटल प्रचार सञ्चालन गर्ने, लोगो, थिम तथा ब्रान्डिङ सामग्री तयार गर्ने र सम्मेलनका महत्वपूर्ण गतिविधि नियमित रूपमा सार्वजनिक गर्ने जिम्मेवारी दिइएको छ।
१५ सदस्यीय प्रचारप्रसार समिति :
बैठकले प्रचार–प्रसार समितिलाई थप व्यवस्थित बनाउन अधिकतम १५ सदस्यीय समिति बनाउने सहमतिसमेत गरेको छ।
यसक्रममा विभिन्न देशबाट प्रतिनिधित्व हुने गरी अष्ट्रेलियाबाट बाबा राजेश्वरी थापा, पोर्चुगलबाट राजकुमार थापा, बेलायतबाट श्याम लुइँटेल, जापानबाट शान्त पहरी, बहराइनबाट अमर श्रेष्ठ, इजरायलबाट सेविका आले र कतारबाट सन्तोष केसीलाई समितिमा मनोनयन गर्ने निर्णय गरिएको छ।
बैठकको अन्त्यमा विशेष आमन्त्रित सचिव चाणक पोखरेलले सम्बोधन गर्दै व्यवस्थित कार्ययोजना र समयमै तयारी अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो। उहाँले संगठनको मर्म र भावनाअनुसार तयार हुने योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो।
अधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन प्रचार–प्रसारसहित आवश्यक सबै तयारीलाई तीव्र बनाउने प्रतिबद्धता बैठकले व्यक्त गरेको छ।