कोपेनहेगन, डेनमार्क — गैरआवासीय नेपाली संघ (NRNA) को २३ औँ स्थापना दिवस (एनआरएन डे) को अवसरमा डेनमार्कको कोपेनहेगनमा एक विशेष समारोहको आयोजना गरी दिवस भव्यताका साथ मनाइएको छ। युरोप उप-संयोजक (DRC) एवं एनसीसी डेनमार्कका निवर्तमान अध्यक्ष सुरेश पुनको अगुवाइ तथा पहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा एनआरएन डेका साथै नेपालीहरूको महान् पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा आपसमा शुभकामना आदानप्रदानसमेत गरिएको थियो।
दीप प्रज्ज्वलन गरी औपचारिक उद्घाटन
ग्लोस्ट्रपस्थित 'द मोमो रेस्टुरेन्ट'मा आयोजित उक्त समारोहमा गैरआवासीय नेपाली संघका केन्द्रीय सह-कोषाध्यक्ष शिव कार्की, युरोप उप-संयोजक सुरेश पुन, पूर्व केन्द्रीय युवा संयोजक एवं एनसीसी डेनमार्कका पूर्व अध्यक्ष रबिन्द्र खड्का, र हालका आइसीसी सदस्य वर्दान पोख्रेल लगायतका अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सह-कोषाध्यक्ष शिव कार्कीले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र संस्थापक महासचिव भीम उदास लगायतका अग्रजहरूले प्रवासका नेपालीहरूलाई एकताबद्ध बनाउने दूरगामी उद्देश्यका साथ NRNA को स्थापना गर्नुभएको स्मरण गर्दै उहाँहरूप्रति आभार व्यक्त गर्नुभयो।
त्यसैगरी, पूर्व केन्द्रीय युवा संयोजक रबिन्द्र खड्काले डेनमार्कमा सन् २००९ देखि नै NRNA को उपस्थिति र उल्लेखनीय योगदान रहँदै आएको उल्लेख गर्नुभयो। उहाँले हामी सबै एकजुट भएर अगाडि बढेमा यस संस्थालाई सम्पूर्ण प्रवासी नेपालीहरूको साझा र सशक्त अभिभावक संस्थाका रूपमा विकास गर्न सकिने कुरामा जोड दिनुभयो।
आयरल्यान्ड सम्मेलनका सहभागी, स्पोन्सर तथा सहयोगीहरूलाई सम्मान र धन्यवाद
समारोहमा आयरल्यान्डमा सम्पन्न १७ औँ युरोपियन क्षेत्रीय सम्मेलनमा DRC को तर्फबाट भौतिक रूपमा उपस्थिति जनाएर विशेष सहयोग पुर्याउनुहुने केन्द्रीय सह-कोषाध्यक्ष शैलेन्द्र अधिकारी 'शैलु' तथा NRNA NCC डेनमार्कका अध्यक्ष निल थापालाई विशेष धन्यवाद ज्ञापन गरियो।
साथै, उक्त क्षेत्रीय सम्मेलनलाई गोल्डेन स्पोन्सर (Golden Sponsor) गर्नुभएकोमा NRNA NCC DENMARK र सिल्भर स्पोन्सर (Silver Sponsor) गर्नुभएकोमा केन्द्रीय सह-कोषाध्यक्ष शिव कार्कीलाई आयोजक क्षेत्रीय कमिटी युरोपका उप-संयोजक (DRC) सुरेश पुनले मायाको चिनो तथा कदर-प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।
प्राकृतिक विपत्तिप्रति समवेदना, Emergency Fund मा राहत कोष जमा र धन्यवाद
कार्यक्रमका अवसरमा हालै नेपालमा गएको विनाशकारी हिम सुनामी/विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा पीडित परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको थियो।
उक्त कठिन घडीमा NRNA NCC Denmark ले अग्रसरता देखाउँदै दुई चरण गरी कुल रु. ९,१९,३०५.८५ (नौ लाख उन्नाइस हजार तीन सय पाँच रुपैयाँ पचासी पैसा) सहयोग रकम NRNA Emergency Fund मा जम्मा गरेको जानकारी दिइयो। यस सराहनीय कार्यका लागि DRC सुरेश पुनको तर्फबाट NRNA NCC Denmark का अध्यक्ष निल थापा, हेल्पिङ ह्यान्ड (Helping Hand) प्रमुख एवं उपाध्यक्ष अर्जुन चौलागाईं तथा सम्पूर्ण NCC Denmark टिमलाई विशेष धन्यवाद व्यक्त गरियो।
त्यसैगरी, सोही आपतकालीन कोष (NRNA Emergency Fund) मा डेनमार्कबाट DRC सुरेश पुनले व्यक्तिगत रूपमा रु. ५०,१०० (पचास हजार एक सय) तथा केन्द्रीय सह-कोषाध्यक्ष शिव कार्कीले रु. ५०,००० (पचास हजार) जम्मा गर्नुभएको जानकारी समेत कार्यक्रममा गराइयो।
साथै, आगामी दिनहरूमा प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनरोत्थानमा पनि निरन्तर जोडिन र सहयोग पुर्याउन DRC को तर्फबाट हार्दिक अपिल गरिएको छ।
कार्यक्रममा डेनमार्कस्थित विभिन्न सामाजिक तथा वैचारिक संघ-संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। समारोहमा सुदूरपश्चिम समाजका अध्यक्ष निरज कठाएत र मगर समाजका अध्यक्ष लक्ष्मण गर्बुजा पुन लगायतले शुभकामना व्यक्त गर्दै NRNA मा बढ्दो राजनीतिक हस्तक्षेपका कारण संस्थाको साख गिर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो।
त्यसैगरी, प्रवासी नेपाली मञ्च (ONF) डेनमार्कका अध्यक्ष भुवन ध्वज थापाले एनआरएन डेको शुभकामना दिँदै प्रवासी नेपालीहरूबीच एकता कायम राख्न संघको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो।
कार्यक्रममा मोना डेनमार्कका अध्यक्ष मिलन केसी, नेवा: गुठीका अध्यक्ष शशी श्रेष्ठ, नेपाल व्यवसायी संघका अध्यक्ष मिलन टी. श्रेष्ठ र ओएमजी इन्टरटेनमेन्टका प्रमुख बेल गुरुङले शुभकामना सन्देश पठाउनुभएको थियो।
एनसीसी डेनमार्कका पदाधिकारीहरूको मन्तव्य
कार्यक्रममा एनसीसी डेनमार्कका उपाध्यक्ष अर्जुन चौलागाईं, उपाध्यक्ष अमृत रिजाल तथा महासचिव शैलेन्द्र राईले एनआरएनएको अभियान, यसको महत्त्व र आगामी कार्यदिशाबारे आफ्ना विचारहरू राख्नुभएको थियो
महासचिव शैलेन्द्र राईले अध्यक्ष निल थापा अनुपस्थित (नेपाल जानू भएको) हुनु भएको जानकारी गर्दै एनसीसी डेनमार्कका को तर्फ बाट सांगठनिक जानकारी प्रस्तुत गर्नु भएको थियो।
त्यसैगरी, संघका सचिव रूपचन वल तामाङ, ध्रुव घिमिरे, कोषाध्यक्ष राकेश श्रेष्ठ, युवा संयोजक प्रकाश बुदुजा पुन र सदस्य फुर्वा तामाङ लगायतले २३ औँ NRNA Day को उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
उपस्थित सम्पूर्ण वक्ताहरूले गैरआवासीय नेपालीहरूबीच भाइचारा, सहकार्य र आपसी एकता कायम राख्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको खाजा-नास्ता तथा प्रायोजन 'MSI DENMARK' का प्रमुख एवं एनसीसी डेनमार्कका उपाध्यक्ष अर्जुन चौलागाईंले गर्नुभएको थियो। कार्यक्रम सफल पार्न सहयोग पुर्याउने तथा उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको थियो।
FOUNDER/CHIEF EDITOR :