प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन नोभेम्बर ४ र ५ तारिख हुने

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन नोभेम्बर ४ र ५ तारिख हुने
www.europenepalikhabar.com २०८३ असोज १३ गते, मंगलबार, 29-09-2026


लिस्बन, पोर्चुगल । एमाले निकट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आगामी कात्तिक १८ र १९ गते (नोभेम्बर ४ र ५, २०२६)  काठमाडौंमा हुने भएको छ ।

मञ्चका अध्यक्ष रमेश पाण्डेको अध्यक्षतामा बसेको ३१औँ पूर्ण बैठकले अधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो । मञ्चका सचिव चानक पोखरेलद्वारा सञ्चालित बैठकले अधिवेशनका लागि मूल आयोजक समिति गठन गर्नुका साथै विभिन्न १३ वटा उपसमिति गठन गरेको मञ्चका प्रचार विभाग प्रमुख भक्त गुरुङले जानकारी दिए ।

अधिवेशनमा ३८ देशबाट करिब ३०० प्रतिनिधि सहभागी हुने जनाइएको छ । बैठकले आमप्रवासीका सरोकारका विषय नेपाली नागरिकताको निरन्तरता, सुरक्षित वैदेशिक रोजगार, प्रवासबाट मतदानलगायत विषयमा छलफल गरेको छ । 

यी विषय केन्द्रीय सदस्य तथा युरोप–ओसियाना इन्चार्ज एवं निवर्तमान अध्यक्ष सञ्जय थापाले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा उठाएको जनाउँदै बैठकले पार्टीले ती विषयमा पूर्ण समर्थन गर्दै आगामी दिनमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएकोमा इन्चार्ज सञ्जय थापा लगायत पार्टीलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई व्यवस्थित, प्रभावकारी, पारदर्शी र मर्यादित रूपमा सम्पन्न गर्न अध्यक्ष रमेश पाण्डेको संयोजकत्वमा मूल आयोजक समिति तथा त्यसअन्तर्गत १३ वटा उपसमिति गठन गरिएको छ ।

मूल आयोजक समितिको संयोजकमा अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष रमेश पाण्डे, सहसंयोजकमा कर्ण शाही र सदस्य–सचिवमा चानक पोखरेल रहेका छन् ।

सचिवालय तथा समग्र समन्वय उपसमितिको संयोजकमा रमेश पाण्डे र सहसंयोजकमा कर्ण शाही, प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजकमा कर्ण शाही र सहसंयोजकमा सुरेश केसी रहेका छन् ।

सांगठनिक प्रतिवेदन तथा विधान संशोधन उपसमितिको संयोजकमा चानक पोखरेल र सहसंयोजकमा डा. सरोज कडेल, आर्थिक प्रतिवेदन उपसमितिको संयोजकमा सुरेन्द्र थपालिया र सहसंयोजकमा शालिकराम पन्त रहेका छन् ।

सम्मेलन आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा प्रभु थापा र सहसंयोजकमा रामशरण सिंखडा, अतिथि समन्वय तथा सत्कार उपसमितिको संयोजकमा कुन्ती थापा र सहसंयोजकमा ज्योति शर्मा रहेका छन् ।

निर्वाचन तथा निर्वाचन आयोग समन्वय उपसमितिको संयोजकमा हेमराज जोशी र सहसंयोजकमा टक गुरुङ, मञ्च तथा प्राविधिक व्यवस्थापन उपसमितिको संयोजकमा कृष्ण लामिछाने र सहसंयोजकमा सन्तोष भट्टराई रहेका छन् ।

प्रसार व्यवस्थापन उपसमितिको प्रमुखमा भक्त गुरुङ र उपप्रमुखमा गोविन्द पौडेल, स्वास्थ्य व्यवस्थापन उपसमितिको संयोजकमा सीता केसी र सहसंयोजकमा राजेन्द्र पुडासैनी रहेका छन् ।

स्वयंसेवक तथा सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकमा विजय फुयाल र सहसंयोजकमा महेश गिरी, घोषणापत्र तथा अभिलेख व्यवस्थापन उपसमितिको संयोजकमा भक्त गुरुङ र सहसंयोजकमा डा. बिनोद श्रेष्ठ तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिको संयोजकमा सरस्वती केसी र सहसंयोजकमा सन्तोष भट्टराई रहेका छन् ।

मञ्चको संगठन ४१ देशमा विस्तार भएको र हाल करिब ४ हजार संगठित सदस्य आबद्ध रहेको जनाइएको छ । ४१ देशमा सक्रिय राष्ट्रिय समितिबाट २० सदस्य बराबर एक प्रतिनिधि चयन हुने तथा राष्ट्रिय कमिटीबाट एक महिला अनिवार्यसहित दुई जना र महादेशीय कमिटीबाट पाँच–पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।

काठमाडौंको कार्की ब्याङ्क्वेट हलमा हुने अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने अध्यक्ष पाण्डेले जानकारी दिए ।

बैठकमा पार्टीका तर्फबाट समग्र प्रवास इन्चार्ज तथा उपमहासचिव लेखराज भट्ट, केन्द्रीय सदस्य तथा युरोप–ओसियाना इन्चार्ज सञ्जय थापा र केन्द्रीय सदस्य तथा पूर्वी एसिया इन्चार्ज डा. सूर्य पाठकको समेत सहभागिता रहेको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित