प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ काठमाडौंमा, ४ सय भन्दा बढी प्रतिनिधि भेला हुने

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ काठमाडौंमा, ४ सय भन्दा बढी प्रतिनिधि भेला हुने
www.europenepalikhabar.com २०८३ असोज २५ गते, आइतबार, 11-10-2026


लिस्बन,पोर्चुगल, ११अक्टोबर ।  नेकपा एमालेको प्रवासमा क्रियाशील संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आगामी नोभेम्बर ४ र ५ (२०८३ कात्तिक १८ र १९ गते) काठमाडौंमा आयोजना हुने भएको छ। “श्रमिक अधिकार, वंशजको नागरिकताको सुनिश्चितता–समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ हुन लागेको अधिवेशनमा विश्वभरबाट ४ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ।

आज प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको प्रचारप्रसार उपसमितिले डिजिटल प्लेटफर्म जुम मार्फत् आयोजना गरेको अधिवेशन सम्बन्धि पत्रकार सम्मेलन एवं अधिवेशनको नारा तथा लोगो सार्वजनिक कार्यक्रममा उक्त  जानकारी दिइएको हो ।

आजको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सचिव डा. राजन भट्टराई, विशेष अतिथिहरु केन्द्रीय प्रचार विभाग प्रमुख निरज आचार्य, एमाले केन्द्रीय सदस्यहरु घनश्याम पाण्डे, डा. सूर्य पाठक, सन्जय थापा, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डे, अन्तर्राष्ट्रिय कमिटीका सल्लाहकार प्रमुख भक्त गुरुङ, अन्तर्राष्ट्रिय कमिटीका सचिव चानक पोखरेल, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे लगायतका वक्ताहरुले अधिवेशनको सफलताको शुभकामना सहित मन्तव्य राखेका थिए ।

कार्यक्रम अन्तर्राष्ट्रिय कमिटीका उपसचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक भक्त गुरुङको अध्यक्षता, उपसमितिका सचिव रामशरण सिंखडा संचालन,अन्तर्राष्ट्रिय कमिटीका सदस्य तथा उपसमितिका उपसंयोजक गोविन्द पौडेलले स्वागत र अधिवेशनको सन्दर्भमा आयोजना हुन लागेको विश्वव्यापी भिडियो क्रिएसन प्रतियोगिताको बारेमा उपसमितिका सदस्य बाबाराजेश्वरी थापाले प्रकाश पारेकी थिइन् ।

अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ। अधिवेशनले आगामी चार वर्षका लागि नयाँ अन्तर्राष्ट्रिय कार्यसमिति निर्वाचित गर्नेछ।

 प्रवासी नेपाली मञ्चले विश्वभर छरिएर रहेका नेपालीहरूलाई संगठित गर्दै उनीहरूको हकहित, अधिकार र पहिचानको संरक्षण तथा नेपालको आर्थिक, सामाजिक र राष्ट्रिय समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यका साथ काम गर्दै आएको छ।

आयोजकका अनुसार हाल मञ्चका विश्वका ३९ देशमा राष्ट्रिय कमिटी, पाँचै महादेशमा महादेशीय कमिटी तथा ६० भन्दा बढी देशमा सम्पर्क सञ्जाल विस्तार भएको छ। मञ्चमा दसौं हजार नेपाली संगठित रहेको जनाउँदै आयोजकले यसलाई प्रवासमा क्रियाशील नेपाली संगठनहरूमध्ये संगठित, लोकप्रिय र अनुशासित शक्तिका रूपमा प्रस्तुत गरेको छ।

प्रवासी नेपालीका अधिकार र संगठनात्मक सुदृढीकरणमा जोड :

अधिवेशनले प्रवासमा रहेका नेपाली श्रमिकहरूको अधिकार, वंशजको नागरिकताको निरन्तरता, संवैधानिक तथा राजनीतिक अधिकार र प्रवासी नेपालीका साझा समस्या समाधानका विषयमा महत्त्वपूर्ण छलफल गर्नेछ।

त्यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत प्रवासमा क्रियाशील विभिन्न संघसंस्थासँगको सम्बन्ध, सहकार्य र समन्वयलाई प्रभावकारी बनाउने विषयलाई पनि प्राथमिकतामा राखिने आयोजकले जनाएको छ।

विश्वका विभिन्न देशमा रहेका राष्ट्रिय कमिटीहरूबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्दै संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउनु अधिवेशनको प्रमुख उद्देश्य रहेको छ। प्रवासमा रहेका नेपालीहरूले भोग्दै आएका साझा समस्या तथा चुनौतीहरूको समाधानका लागि एकीकृत पहल अघि बढाउनसमेत अधिवेशनले मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।

मञ्चले प्रवासी नेपालीहरूको सीप, ज्ञान, पुँजी र अनुभवलाई नेपालको विकास तथा समृद्धिसँग जोड्ने विषयमा समेत संगठनको भूमिका थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

विश्वव्यापी भिडियो कन्टेन्ट क्रिएसन प्रतियोगिता आयोजना हुँदै 

दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनको सन्दर्भमा प्रवासी नेपाली मञ्चले सूचना तथा प्रविधिको वर्तमान युगमा गुणात्मक र सिर्जनात्मक सामग्री निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले विश्वव्यापी भिडियो कन्टेन्ट क्रिएसन प्रतियोगिता आयोजना गर्ने भएको छ।

आयोजकका अनुसार प्रतियोगिता अक्टोबर ११ देखि नोभेम्बर ३, २०२६ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा उत्कृष्ट हुने एक जना क्रिएटरलाई ७ सय अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ।

मञ्चले विश्वभर रहेका नेपाली सिर्जनाकर्मी, भिडियो क्रिएटर तथा इच्छुक प्रतिभाहरूलाई प्रतियोगितामा सहभागी भई आफ्ना सिर्जनात्मक सामग्री प्रस्तुत गर्न आह्वान गरेको छ।

अधिवेशन सफल बनाउन विश्वभरका कमिटीलाई आह्वान :

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले अधिवेशनलाई ऐतिहासिक र सफल बनाउन विश्वभर क्रियाशील आफ्ना राष्ट्रिय कमिटी, नेता, कार्यकर्ता, सदस्य तथा शुभेच्छुकहरूलाई आवश्यक तयारी र सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

त्यसैगरी, अधिवेशनका उद्देश्य र गतिविधिलाई व्यापक रूपमा सार्वजनिक गर्न सञ्चारकर्मी तथा पत्रकारहरूबाट सक्रिय सहयोग र सिर्जनात्मक सुझावको अपेक्षा गरिएको मञ्चले जनाएको छ।

मञ्चका अनुसार दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनले प्रवासमा रहेका नेपालीहरूको हकहित संरक्षण, आपसी एकता र सद्भाव अभिवृद्धि तथा समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने अभियानलाई थप सशक्त बनाउनेछ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित