राजकुमार थापा,लिस्बन,पोर्चुगल।
युरोपनेपाली खबर । पोर्चुगलमा नेपाली नागरिकको संख्या ५६ हजार ८६६ पुगेको छ । पोर्चुगलको राष्ट्रिय तथ्यांक संस्था Instituto Nacional de Estatística (INE) ले सार्वजनिक गरेको सन् २०२५ को जनसंख्या अनुमान अनुसार पोर्चुगलमा बसोबास गर्ने विदेशी नागरिकमध्ये नेपाली पाँचौँ ठूलो राष्ट्रियता बनेका छन् ।
आइएनइ का अनुसार सन् २०२५ को अन्त्यसम्म पोर्चुगलमा ५६ हजार ८६६ नेपाली नागरिक बसोबास गरिरहेका थिए । तीमध्ये ३८हजार ३३५ पुरुष र १८ हजार ५३१ महिला छन् । अर्थात् नेपाली समुदायमा पुरुषको संख्या करिब ६७.४ प्रतिशत र महिलाको संख्या करिब ३२.६ प्रतिशत रहेको देखिन्छ ।
पोर्चुगलमा नेपालीभन्दा बढी संख्यामा रहेका विदेशी राष्ट्रियतामा ब्राजिल ५लाख ७४ हजार १९५, अंगोला १ लाख ३ हजर १४०, भारत ९३ हजार ६८३ र केप भर्डे ७६ हजार ०९९ छन् । त्यसपछि नेपाल ५६ हजार ८६६ सहित पाँचौँ स्थानमा छ । नेपालीपछि बंगलादेशका ५६ हजार ७२४ र गिनी–बिसाउका ५३ हजार ५५५ नागरिक रहेका छन् ।
चार वर्षमा १३६.८ प्रतिशत वृद्धि :
आइएनइको तथ्यांकअनुसार सन् २०२१ मा पोर्चुगलमा नेपाली नागरिकको संख्या २४ हजार ०१३ थियो । चार वर्षपछि सन् २०२५ मा यो संख्या बढेर ५६ हजार ८६६ पुगेको हो । यस अवधिमा नेपाली समुदायको संख्या १३६.८ प्रतिशतले वृद्धि भएको छ ।
यस अवधिमा पोर्चुगलमा विदेशी जनसंख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । आइएनइका अनुसार सन् २०२५ को अन्त्यमा पोर्चुगलमा विदेशी नागरिकको कुल संख्या १५ लाख ९७ हजार ५३९ पुगेको थियो, जुन पोर्चुगलको कुल जनसंख्याको १४ प्रतिशत हो । सन् २०२१ को तुलनामा विदेशी जनसंख्या ८लाख ४९ हजार ३८४ अर्थात् दोब्बरभन्दा बढी भएको आइएनइले जनाएको छ ।
यस आधारमा सन् २०२५ मा पोर्चुगलमा रहेका विदेशी नागरिकमध्ये नेपालीको हिस्सा करिब ३.६ प्रतिशत देखिन्छ ।
यहाँ उल्लेखित तथ्यांक नेपाली राष्ट्रियता भएका पोर्चुगलका निवासी सम्बन्धी हो । पोर्चुगलको नागरिकता प्राप्त गरी नेपाली राष्ट्रियता नरहेका व्यक्तिहरू यस तथ्यांकमा नेपालीका रूपमा समावेश हुँदैनन् । त्यसैले पोर्चुगलमा जन्मिएका वा पोर्चुगिज नागरिकता लिइसकेका नेपाली मूलका व्यक्तिसहितको कुल नेपाली मूलको जनसंख्या यसभन्दा फरक हुन सक्छ ।
आइएनइ ले सन् २०२५ का जनसंख्या अनुमान तयार गर्दा प्रशासनिक स्रोतमा आधारित नयाँ पद्धति प्रयोग गरेको जनाएको छ ।
नेपाली दूतावासपछि पोर्चुगलको कूटनीतिक उपस्थिति विस्तारको पहल
पोर्चुगलमा नेपाली समुदायको संख्या तीव्र रूपमा बढेसँगै नेपाल–पोर्चुगल सम्बन्ध र कूटनीतिक तथा कन्सुलर सेवाको आवश्यकता पनि विस्तार हुँदै गएको छ ।
नेपाल र पोर्चुगलबीच १ सेप्टेम्बर १९७६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालले मार्च २०२५ मा लिस्बनमा आवासीय नेपाली दूतावास स्थापना गरेको नेपाल सरकारको परराष्ट्र मन्त्रालयको विवरणमा उल्लेख छ ।
नेपाली दूतावास लिस्बनले १६ अप्रिल २०२५ देखि सेवा प्रवाह सुरु गरेको थियो । दूतावास स्थापना भएपछि पोर्चुगलमा रहेका नेपालीलाई राहदानी, कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा लिन सहज भएको छ ।
त्यसैगरी, नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्धलाई थप संस्थागत बनाउन नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र (Bilateral Consultation Mechanism) को पहिलो बैठक पनि फेब्रुअरी २०२६ मा लिस्बनमा सम्पन्न भएको थियो । यो संयन्त्र सन् २०१८ मा स्थापना गरिएको हो ।
काठमाडौंमा महावाणिज्य दूतावास खोल्ने पोर्चुगलको तयारी
यसैबीच, पोर्चुगलले नेपालमा आफ्नो कूटनीतिक तथा कन्सुलर उपस्थिति विस्तार गर्ने प्रक्रिया अघि बढाएको छ ।
पोर्चुगलले सुरुमा काठमाडौंमा काउन्सिलर कार्यालय स्थापना गर्न नेपाल सरकारसँग सहमति मागेको थियो । नेपाल सरकारको परराष्ट्र मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २०८३ साउन २६ गते को निर्णयबाट पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय स्थापना गर्न सहमति प्रदान गरिएको थियो ।
तर त्यसपछि पोर्चुगलले काउन्सिलर कार्यालयभन्दा उच्च तहको महावाणिज्य दूतावास (Consulate General) स्थापना गर्न नेपाल सरकारसँग अनुमति मागेको छ । यससम्बन्धी पत्र नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा पुगेको र अनुमति प्रदान गर्ने प्रक्रिया अघि बढिरहेको विवरण सार्वजनिक भएको छ ।
पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेल र नेपालका परराष्ट्रमन्त्रीबीच भएको संवाद तथा पोर्चुगलकी उप–विदेशमन्त्री डा. आना इसाबेल जेभियरको नेपाल भ्रमणका क्रममा पनि काठमाडौंमा पोर्चुगलको कन्सुलर उपस्थिति स्थापना गर्ने विषयमा छलफल भएको थियो ।
यसरी हेर्दा, लिस्बनमा नेपालको आवासीय दूतावास स्थापना भइसकेको अवस्थामा काठमाडौंमा पोर्चुगलको कूटनीतिक/कन्सुलर उपस्थिति थप विस्तार गर्ने प्रक्रिया अघि बढेको छ । महावाणिज्य दूतावास स्थापनाका लागि भने नेपाल सरकारको औपचारिक अनुमति आवश्यक रहने भएकाले स्थापनाका लागि अनुमति मागिए बमोजिम प्रक्रिया अघि बढेको जनाइएको छ ।
पोर्चुगलमा नेपाली समुदायको संख्या ५६ हजारभन्दा माथि पुग्नु र नेपालमा पोर्चुगलको कन्सुलर उपस्थिति विस्तार गर्ने पहल एकै समयमा अघि बढ्नुले दुई देशबीच बढ्दो जनस्तरीय सम्बन्ध, श्रम तथा आवागमन, व्यापार–व्यवसाय र कन्सुलर सेवाको आवश्यकतालाई समेत प्रतिबिम्बित गरेको छ ।
FOUNDER/CHIEF EDITOR :