लिस्बन, पोर्चुगल — नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा ठकुरी समाज पोर्चुगलले राजधानी लिस्बनमा विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रमको आयोजना गर्ने भएको छ ।
"एकता हाम्रो शक्ति, संस्कृति हाम्रो गौरव, ठकुरी हाम्रो सान, समाज हाम्रो पहिचान" भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रमबाट प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति एवं परम्परालाई जगेर्ना गर्ने र विदेशमा रहेका नेपालीहरूलाई आफ्नै देशको झल्को दिदै परदेशमा पनि स्वदेशकै जस्तो उल्लासपूर्ण वातावरण सिर्जना गर्ने तयारी गरिएको समाजका अध्यक्ष सज्जन हमाल ठकुरीले बताएका छन् ।
आउँदो अगस्ट ३० तारिखका दिन पोर्चुगलको राजधानी लिस्बनस्थित महात्मा गान्धी मन्दिरमा सांगीतिक तथा दर खाने कार्यक्रम हुने भएको हो । यस तीज विशेष कार्यक्रमलाई थप मनोरञ्जनात्मक, सांगीतिक र आकर्षक बनाउन चर्चित कलाकारहरूलाई आमन्त्रण गरिएको छ । कार्यक्रममा लोकप्रिय गायक सूर्य खड्का, श्रीकृष्ण बम मल्ल र गायिका लक्ष्मी मल्ल लगायतका कलाकारहरूले आफ्नो उत्कृष्ट सांगीतिक प्रस्तुति मार्फत दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्दै तीजको माहोल तताउने अपेक्षा गरिएको छ ।
ठकुरी समाज पोर्चुगलका अध्यक्ष सज्जन हमाल ठकुरीले यस कार्यक्रमको मुख्य उद्देश्य समुदायमा आपसी सद्भाव बढाउनु रहेको बताउनुभएको छ । उहाँका अनुसार, रोजगारी र अध्ययनको सिलसिलामा मातृभूमिबाट हजारौं माइल टाढा रहे पनि आफ्नो धर्म, संस्कृति र मौलिक नेपाली संगीतलाई जीवन्त राख्न यो प्रयास गरिएको हो । नेपाली-नेपालीबीच आपसी भाइचारा अभिवृद्धि गर्न र परदेशको व्यस्तताका बीच पनि तीजको खुसी सँगै साटासाट गर्नका लागि यस प्रकारको सामूहिक जमघटले महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा उहाँले जोड दिनुभएको छ ।
प्रवासको दौडधुप र व्यस्त समय तालिकाका बाबजुद पनि ‘नेपाली पन र मन’लाई एउटै सूत्रमा बाँध्ने आयोजकको यस महत्त्वपूर्ण प्रयासमा साथ दिन सम्पूर्ण लिस्बनबासी नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरिएको छ । कार्यक्रममा सहभागी भई दर खान र सांगीतिक माहोलमा रम्न चाहने सम्पूर्ण नेपालीहरूका लागि आयोजकले कार्यक्रमलाई पूर्णतः निःशुल्क र खुला राखेको जानकारी गराएको छ । कुनै पनि प्रवेश शुल्क नलाग्ने यस खुल्ला कार्यक्रमले पोर्चुगलमा रहेका नेपाली समुदायबीच सांस्कृतिक एकता र तीजको उत्साहलाई अझै उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
FOUNDER/CHIEF EDITOR :