युरोपनेपाली खबर, लिस्बन, पोर्चुगल । नेपाल सरकारले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय स्थापना गर्न सहमति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
नेपाल सरकारको पछिल्लो निर्णयलाई नेपाल–पोर्चुगलबीच पछिल्ला वर्षमा तीव्र रूपमा विस्तार हुँदै गएको कूटनीतिक सम्बन्धको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। विशेषगरी पोर्चुगलमा नेपाली नागरिकको संख्या बढ्दै गएको तथा दुई देशबीच श्रम, पर्यटन, लगानी, व्यापार, पारिवारिक पुनर्मिलन र जनस्तरको सम्बन्धमा सहज र थप प्रभावकारी हुने अपेक्षा गरिएको पोर्चुगल लामो समयदेखि सामाजिक रूपमा नेतृत्व गरिरहेका एनआरएनए युरोप उपसंयोजक राजकुमार थापाले बताए ।
कूटनीतिक सम्बन्धमा नयाँ चरण
नेपाल र पोर्चुगलबीचको सम्बन्ध पछिल्लो समय उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक सम्पर्कका कारण थप सक्रिय बनेको छ। सन् २०१८ मा स्थापना भएको नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रअन्तर्गत पहिलो बैठक सन् २०२६ फेब्रुअरीमा लिस्बनमा सम्पन्न भएको थियो। उक्त बैठकमा दुवै पक्षले द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्दै पर्यटन, लगानी, व्यापार, श्रमलगायत विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका थिए।
त्यसैगरी, अप्रिल २०२६ मा पोर्चुगलका उपविदेशमन्त्री डा. आना इसाबेल जेभियरको नेपाल भ्रमणका क्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो राङ्गेलबीच भएका छलफल तथा सम्पर्कलाई पनि दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने महत्वपूर्ण घटनाका रूपमा लिइएको छ।
सो अवसरमा पोर्चुगल सरकारले काठमाडौंमा आफ्नो कूटनीतिक नियोग खोल्ने घोषणा गरेको जानकारी नेपाल परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको थियो। नेपाल सरकारले त्यसका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको थियो।
नेपाली नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा
काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय सञ्चालनमा आएपछि नेपालबाट पोर्चुगल जाने नेपाली नागरिक तथा नेपालमा रहेका पोर्चुगिज नागरिकलाई विभिन्न कन्सुलर सेवामा सहजता पुग्ने अपेक्षा गरिएको छ।
हालसम्म पोर्चुगलसम्बन्धी कतिपय कूटनीतिक तथा कन्सुलर कामका लागि नेपाली नागरिकले भारतस्थित पोर्चुगलको कूटनीतिक नियोगसँग सम्बन्धित प्रक्रिया पूरा गर्नुपर्ने अवस्था रहँदै आएको थियो। काठमाडौंमै कन्सुलर सेवा उपलब्ध भएपछि भिसा, कागजात प्रमाणीकरण, नागरिक तथा अन्य कन्सुलर प्रक्रियाका लागि भारत जानुपर्ने बाध्यता तथा अतिरिक्त समय र खर्च घट्न सक्ने अपेक्षा गरिएको छ।
यद्यपि, नयाँ कार्यालयले कुन–कुन प्रकारका सेवा प्रदान गर्ने, सेवा सञ्चालनको मिति तथा भिसा आवेदनसम्बन्धी विस्तृत व्यवस्था भने पोर्चुगल सरकारले औपचारिक रूपमा सार्वजनिक गर्न बाँकी रहेको छ।
पोर्चुगलमा ५० हजारभन्दा बढी नेपाली
नेपाल–पोर्चुगल सम्बन्धमा नेपाली समुदाय महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको छ। नेपाल परराष्ट्र मन्त्रालयका अनुसार सन् २०२६ को सुरुआतसम्म पोर्चुगलमा ५० हजारभन्दा बढी नेपाली नागरिक बसोबास गरिरहेका छन्। उनीहरू विभिन्न पेशा तथा व्यवसायमा संलग्न छन्।
पोर्चुगलमा नेपाली समुदायको संख्या बढेसँगै नेपाली नागरिकसँग सम्बन्धित श्रम, आप्रवासन, कागजात, परिवार पुनर्मिलन, भिसा तथा अन्य कन्सुलर विषय पनि दुई देशबीचको द्विपक्षीय सम्बन्धका महत्वपूर्ण एजेन्डा बन्दै आएका छन्।
यसै सन्दर्भमा गत अप्रिलमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो राङ्गेलसँग टेलिफोन वार्ता गर्दै पोर्चुगलमा प्रक्रियागत तथा कानुनी समस्यामा परेका २ हजारभन्दा बढी नेपाली नागरिकको विषय उठाएका थिए। पोर्चुगलका विदेशमन्त्रीले उक्त विषय सम्बन्धित निकायमा सकारात्मक रूपमा उठाउने आश्वासन दिएका थिए।
लिस्बनमा नेपालको दूतावास स्थापना भइसकेको अवस्थामा काठमाडौंमा पोर्चुगलको उपस्थिति
नेपालले पनि पोर्चुगलमा आफ्नो कूटनीतिक उपस्थिति विस्तार गरिसकेको छ। नेपाल परराष्ट्र मन्त्रालयका अनुसार मार्च २०२५ मा लिस्बनमा नेपालको आवासीय दूतावास स्थापना भएको हो।
लिस्बनस्थित नेपाली दूतावासले राहदानी, यात्रा अनुमतिपत्र, कागजात प्रमाणीकरण, पावर अफ अटर्नीलगायत विभिन्न कन्सुलर सेवा प्रदान गर्दै आएको छ।
यसरी नेपालले लिस्बनमा आवासीय दूतावास स्थापना गरेपछि पोर्चुगलले पनि काठमाडौंमा आफ्नो कूटनीतिक तथा कन्सुलर उपस्थिति विस्तार गर्न थालेको घटनालाई दुई देशबीचको सम्बन्धमा आएको पारस्परिक संस्थागत विकासका रूपमा हेरिएको छ।
आर्थिक तथा श्रम सम्बन्ध विस्तारको सम्भावना
नेपाल र पोर्चुगलबीचको सम्बन्ध अब केवल कूटनीतिक तहमा सीमित नभई श्रम, पर्यटन, लगानी, व्यापार, कृषि, सूचना प्रविधि र अन्य आर्थिक क्षेत्रमा विस्तार गर्ने सम्भावना बढेको छ।
२०२६ फेब्रुअरीमा सम्पन्न पहिलो नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श बैठकमा पनि दुवै पक्षले पर्यटन, लगानी, व्यापार तथा श्रमलगायतका क्षेत्रमा सहकार्य बढाउने विषयलाई प्राथमिकतामा राखेका थिए।
काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय तथा भविष्यमा पूर्ण कूटनीतिक नियोग स्थापना भएमा नेपालबाट पोर्चुगल जाने विद्यार्थी, श्रमिक, व्यवसायी तथा पर्यटकका लागि प्रक्रिया थप सहज हुने तथा दुई देशबीचको जनस्तरको सम्बन्ध अझ मजबुत हुने अपेक्षा गरिएको छ।
नेपाली समुदायमा सकारात्मक सन्देश
नेपाल सरकारले पोर्चुगललाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न दिएको सहमतिलाई पोर्चुगलस्थित नेपाली समुदायले पनि सकारात्मक रूपमा लिएको छ। विशेषगरी पोर्चुगलमा ठूलो संख्यामा नेपाली नागरिक बसोबास गरिरहेको वर्तमान अवस्थामा काठमाडौंमा पोर्चुगलको संस्थागत उपस्थिति हुनु दुई देशबीचको सम्बन्धलाई थप व्यवस्थित र परिणाममुखी बनाउने दिशामा महत्वपूर्ण कदम हुने विश्वास गरिएको छ।
नेपाल–पोर्चुगल सम्बन्ध पछिल्लो समय तीव्र गतिमा अघि बढिरहेको अवस्थामा काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना गर्ने निर्णयलाई त्यसैको अर्को महत्वपूर्ण कडीका रूपमा हेरिएको छ। अब कार्यालयको औपचारिक स्थापना, सेवा सञ्चालनको मिति र प्रदान गरिने कन्सुलर सेवाको विवरण सार्वजनिक भएपछि नेपाल तथा पोर्चुगल दुवै देशका नागरिकले यसको प्रत्यक्ष लाभ लिन सक्नेछन् ।
FOUNDER/CHIEF EDITOR :