लिस्बन । पोर्चुगलको उत्तरी जङ्गलमा डढेलो फैलिएको छ। आगो नियन्त्रण गर्न एक हजारभन्दा बढी दमकलकर्मी खटिएका छन्।डढेलोले १० हजार हेक्टर जङ्गल जलाएको छ र ९ जना घाइते भएका छन्।
उत्तरी भागमा फैलिएको जङ्गलको आगो नियन्त्रण गर्न शनिबार एक हजारभन्दा बढी दमकलकर्मीलाई तैनाथ गरिएको छ ।
देश अत्यधिक गर्मीको सामना गरिरहेको समय जङ्गलको ठुलो क्षेत्रमा डढेलो फैलिँदा तापक्रम बढ्ने जोखिम थप बढेको छ ।
केही ठाउँमा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुग्ने अनुमानका बिच बुधबार भिसेउ जिल्लामा सुरु भएको यो आगोले अहिलेसम्म १० हजार (२५ हजार एकड) क्षेत्र जलाएको उद्धारमा तैनाथ अधिकारीले बताएका छन् ।
जङ्गली आगो नियन्त्रण गर्न एक हजार १०० दमकलकर्मी, ३८० वटा दमकल गाडी र आठ वटा विमान तथा हेलिकोप्टरले सहयोग गरिरहेका छन्।
डढेलो नियन्त्रण गर्न पोर्चुगलले युरोपेली सहयोग मागेपछि स्पेनको सैन्य टोलीले पनि डढेलो निभाउन सहयोग गरिरहेको छ ।
डढेलोमा परी अहिलेसम्म ९ जना घाइते भएका छन्, जसमध्ये दुई सर्वसाधारणको अवस्था गम्भीर छ।
सुरक्षाका लागि सरकारले जङ्गल क्षेत्रमा प्रवेश निषेध गर्नु र ग्रामीण क्षेत्रमा केही प्रकारका मेसिनरी प्रयोगमा प्रतिबन्ध लगाउनुजस्ता विशेष उपायहरू अपनाएको छ ।
FOUNDER/CHIEF EDITOR :