युरोपनेपाली खबर । ६७ औं अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा भाग लिन नेपाली टोली आइतबार चीन प्रस्थान गरेको छ।
कार्यक्रम संयोजक म्याथम्याटिकल एसोसिएसन अफ नेपालका (म्यान) महासचिव छवि ढुंगानाका अनुसार उक्त टिममा संखुवासभा खाँदबारीका प्रसिद्ध थापा, कास्कीका एरिज पोखरेल, बर्दियाका मिसन जोसी, मोरङका युगान्तर कालाखेती, ललितपुरका आयाम आचार्य र धादिङका निसान खत्री छन् । सन् २०१७ को ब्राजिल ओलम्पियाडबाट निरन्तर प्रतिस्पर्धा गरिरहेको नेपालको यो १० औं सहभागिता हो । कार्यक्रममा नेपालसहित करिब १२० देशका युवा विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।
विज्ञान, प्रविधि तथा नवप्रवर्धन मन्त्रालय, ओलम्पियाड कार्यक्रम सञ्चालन कार्यविधि–२०८२ अन्तर्गत म्याथम्याटिकल एसोसिएसन अफ नेपालद्वारा संचालित करिब २५ सयभन्दा बढी प्रतिस्पर्धी विद्यार्थीबाट जिल्ला, प्रदेश हुदै केन्द्रीय चरणका छनौट परीक्षा साथै ६ महिनाको तालिममार्फत देशभरबाट ६ जना छानिएको संंस्थाका अध्यक्ष एवं कन्ट्री लिडर हरि प्रपन्न कँडेलले बताए ।
सांघाइमा हुने अन्तिम प्रतिस्पर्धाअघि टोली करिब ७० बढी देश सहभागी हुने यस प्रतियोगिताको तयारीका लागि २१ दिनको बन्द प्रशिक्षणमा रहनेछ । उत्कृष्ट नतिजाका लागि टिम तयार रहेको राष्ट्रिय प्रशिक्षक इ. प्रजीत अधिकारी बताउँछन् ।
कार्यक्रमको सहनेतृत्व कोषाध्यक्ष नारायण पौडेलले गरेका छन् । नेपाली टिम आगामी २३ जुलाईमा स्वदेश फर्किनेछ ।
यसैबीच, १९ औं अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिकी ओलम्पियाड (आईओएए २०२६) मा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै मदरल्याण्ड मावि, पोखराका विद्यार्थी शाश्वत रेग्मी छानिएका छन् । हाल कक्षा १२ मा अध्ययनरत उनले आगामी २५ सेप्टेम्बरदेखि ५ अक्टोबरसम्म हनोईमा हुने १९ औं आईओएए–२०२६ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले आयोजना गरेको छनोट प्रक्रिया पार गर्दै उनी सो स्थानमा पुग्न सफल भएका हुन् ।
विद्यालय प्राचार्य डा. नारायण बरालले अन्तर्राष्ट्रियस्तरको यो प्रतियोगितामा नेपालको झण्डा बोक्न पाउनु शाश्वत र उनको विद्यालयका लागि गौरवको विषय हो भने । उनको यो सफलताले अन्य विद्यार्थीलाई प्रेरणा मिल्ने विश्वास उनको छ । प्रतियोगितामा संसारभरका विभिन्न देशका प्रतिभावान विद्यार्थीको सहभागिता रहनेछ ।
FOUNDER/CHIEF EDITOR :