लिस्बन । ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेप्लीज् वुमन एसोसिएसन पोर्चुगल लिस्बनमा आयोजित महिलाहरुको विशाल र्यालीमा सहभागिता जनाई नारी दिवस मनाइएको छ ।
पोर्चुगलको राजधानी लिस्बनको मार्केस पोम्बलबाट सुरु भएको पोर्चुगलस्थित महिला आन्दोलन सम्बन्धि विभिन्न संघसंस्थाको आयोजनामा भएको उक्त र्यालीमा नेप्लीज् वुमन एसोसिएसन पोर्चुगलको तर्फबाट पहिलो सहभागिता जनाइएको अध्यक्ष गिता रेउलेले बताइन् ।
कार्यक्रम नेप्लीज् वुमन एसोसिएसनको ब्यानर, नेपाली झण्डा र नेपाली पहिचान झल्काउने भेषभुषा सहित उल्लेख्य महिला रहेको एसोसिएसनकी महासचिव सरस्वती गौतमले जानकारी दिइन् ।
उक्त र्यालीमा नेप्लीज् वुमन एसोसिएसन पोर्चुगलकी पुर्व अध्यक्ष तथा एनआरएनए पोर्चुगलकी महिला उपाध्यक्ष माया खरेल, एसोसिएसनका अध्यक्ष गिता रेउले, महासचिव सरस्वती गौतम लगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।
महिला सशक्तीकरण र एकताको सन्देश दिने उद्देश्यले आयोजित यस कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा लिस्बनको मुख्य पर्यटकीय क्षेत्र मार्केस दि पोम्बालबाट एक विशाल र्याली निकालिएको थियो ।
नेपालको पहिचान झल्कने विभिन्न ब्यानर र प्लेकार्डसहित निकालिएको उक्त र्याली शहरका विभिन्न भागको परिक्रमा गर्दै आलामेडा पार्क पुगेर समापन भएको थियो । र्यालीमा नेपाली समुदायका महिलाहरूका साथै विभिन्न देशका महिला अधिकारकर्मी र नागरिकहरूको समेत ऐक्यबद्धतामूलक सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई थप समावेशी र अन्तर्राष्ट्रिय स्वरूप प्रदान गरेको थियो ।
दोस्रो चरणमा अलमेडा पार्कमा औपचारिक समारोह आयोजना गरिएको थियो । संस्थाकी अध्यक्ष गीता रेउको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष माया खरेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमलाई संस्थाकी महासचिव सरस्वती गौतमले सञ्चालन गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले महिला अधिकार, लैङ्गिक समानता र प्रवासमा रहेका नेपाली महिलाहरूले भोग्नुपरेका चुनौती तथा उनीहरूको सफलताका कथाबारे चर्चा गर्नुभएको थियो ।
औपचारिक कार्यक्रमको समापन लगत्तै सहभागीहरूबीच मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम सुरु भएको थियो । जसमा नेपाली गीत-संगीतमा नाचगान र विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिएका थिए । यसले प्रवासको व्यस्त जीवनमा रहेका नेपाली दिदीबहिनीहरूलाई एकै ठाउँमा जुटेर खुसी साटासाट गर्ने र आत्मीयता बढाउने अवसर प्रदान गरेको थियो ।
सन् २०१४ मा स्थापना भएको नेप्लिज वोमेन एसोसियसनले स्थापनाकालदेखि नै पोर्चुगलमा नेपाली महिलाहरूको हक-हित संरक्षण, क्षमता अभिवृद्धि र सामाजिक गतिविधिहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । आइतबारको यो सफल कार्यक्रमले संस्थाको सक्रियता र नेपाली समुदायबीचको बढ्दो एकतालाई पुनः पुष्टि गरेको छ ।
FOUNDER/CHIEF EDITOR :