६ बर्ष अमेरिकाको राजदूत भैसकेका संखुवासभाका एमाले उम्मेदवार डा. अर्जुन कार्कीको यस्तो छ भिजन र व्यक्तित्व

६ बर्ष अमेरिकाको राजदूत भैसकेका संखुवासभाका एमाले उम्मेदवार डा. अर्जुन कार्कीको यस्तो छ भिजन र व्यक्तित्व
युरोपनेपाली खबर २०८२ माघ २४ गते शनिबार, 7-02-2026


By- राजकुमार थापा, खाँदबारी-१०,चन्दनपुर ।

संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर-९, तुम्लिङटारमा जन्मिएका डा. अर्जुन कार्कीले त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी गरी कृषि अर्थशास्त्र र विज्ञान संकायमा स्नातकोत्तर पूरा गरेका छन्। युनिभर्सिटी अफ म्यानचेस्टर, इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीबाट विकास परियोजनाहरूको व्यवस्थापन र कार्यान्वयनमा पीएचडी गरेका छन् । 

कार्कीले सन् २०१५ देखि २०२१ सम्म ६ वर्ष संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूतका रूपमा काम गरेका थिए ।


 वि. सं. २०३६ सालको विराट विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी हुँदै राजनैतिक अभियानमा होमिएका कार्की अनेरास्ववियुको केन्द्रमा पुगी विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए । डा. कार्की संखुवासभाको  १० वटै पालिका र गाउँठाउँ, कुनाकाप्चामा शिक्षा र विकास अभियान पुर्‍याउने एकजना अगुवा नेतृत्वकर्ता समेत हुन् ।

यसपटक संखुवासभाको निर्वाचनमा अमेरिकाका लागि पूर्वराजदूत रहिसकेका डा. अर्जुन कार्की एमालेबाट मैदानमा उत्रिदा संखुवासभाका मतदातामा नयाँ उत्साह र आशा जगाएको छ । एक लाख १९ हजार ६३० जना मतदाता रहेको संखुवासभामा एमालेबाट उम्मेदवार बनेका कार्कीले एक स्वतन्त्रसहित १५ उम्मेदवारसँग प्रतिस्पर्धा गर्नु पर्नेछ।

यसअघिको निर्वाचनलाई आधार मान्ने हो भने जिल्लामा सबैभन्दा बलियो एमाले र त्यसपछि कांग्रेस देखिन्छ। अरु दलको मत कम छ। समानुपातिकमा दलहरूले पाएको मत हेर्दा २०७९ मा एमालेले २५ हजार १३८ र कांग्रेसले २२ हजार २६ मत पाएका छन् । तत्कालीन माओवादीको ७ हजार ५२ र नेकपा (एकीकृत समाजवादी) को २ हजार ५४८ मत थियो। 

एकजना अनुभवी राजनीतिक नेता, कूटनीतिज्ञ, वरिष्ठ मानवाधिकारकर्मी, शिक्षाविद् र विकासविज्ञ डा.कार्की लोकतान्त्रिक आन्दोलनको अग्रज अभियन्ताको रूपमा परिचित छन् । कार्की तीन दशकभन्दा लामो समयदेखि गरिबी निवारण, सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार, दिगो विकास, भूमि अधिकार, कृषि सुधार, सामाजिक समावेशीकरण तथा शान्ति निर्माणका विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मंचहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै सशक्त आवाज उठाउने व्यक्तित्वको रूपमा चिनिएका छन् ।

उनले संयुक्त राष्ट्रसंघ, विश्व बैंक, युरोपियन युनियन, सार्क लगायतका बहुपक्षीय मञ्चहरूमा अल्पविकसित तथा विकासशील देशहरूको पक्षमा स्पष्ट र दृढ नेतृत्व प्रदान गर्दै आएका छन् ।

डा. कार्कीले नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिका तथा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका विभिन्न देशहरूमा राजदूतका रूपमा सेवा गर्दै नेपालको सार्वभौमिकता, कूटनीतिक सम्बन्ध र राष्ट्रिय हित प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिइ सकेका छन् । साथै उनी राष्ट्रिय विकास परिषद्को सदस्यका रूपमा नेपालको दीर्घकालीन विकास नीति, योजना तथा राष्ट्रिय प्राथमिकता निर्धारण प्रक्रियामा प्रत्यक्ष संलग्न रहेका छन् ।

उनी सन् २००६ ( २०६२/६३) मा नेपालमा लोकतन्त्र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय स्तरमा सक्रिय पैरवी गर्ने प्रमुख व्यक्तित्वहरूमध्ये एक थिए । निरंकुश शासनविरुद्धको आन्दोलनमा उनले अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्दै लोकतान्त्रिक मूल्य र संवैधानिक शासन पुनःस्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

शिक्षा, अनुसन्धान र वैचारिक नेतृत्वमा समेत सक्रिय डा. कार्कीले राजनीति केवल सत्ता र शक्ति होइन, जनताको जीवन परिवर्तन गर्ने माध्यम हो भन्ने मान्यताका साथ काम गर्दै आएका छन् । उनले अप्नाएको राजनीति जनमुखी, समावेशी, लोकतान्त्रिक र सामाजिक न्यायमा आधारित छ ।

डा. अर्जुन कार्की समानता, शान्ति र समृद्ध नेपालको निर्माणका लागि दृढ प्रतिबद्धतासहित राजनीतिक यात्रामा क्रियाशील छन् ।

संखुवासभामा एमालेका उम्मेद्वार डा. कार्की विश्वका कम विकसित देशहरूकोतर्फबाट संसारभर पैरवी गर्दै हिँडेका विद्वान् हुन् । वास्तवमै एक बौद्धिक र दुरगामी सोच राख्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो पहुँच भएका र बनाएका संखुवासभा मात्र होइन, देशलाई नै चाहिने व्यक्ति हुन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित