युरोपनेपाली खबर, लिस्बन, पोर्चुगल । नेपाल संवत् ११४७ न्हुँदँया (नयाँ वर्ष) तथा म्हः पूजाको अवसरमा नेवाः समाज पोर्तुगलको आयोजनामा पोर्चुगलको लिस्बनस्थित Arroios मा रहेको Grill n Chill Restaurant मा सामूहिक म्हः पूजा तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्तिक शुक्लपक्ष प्रतिपदाका दिन, २४ कात्तिक २०८३ (१० नोभेम्बर २०२६) मंगलबार आयोजित कार्यक्रममा नेवाः समाज पोर्तुगलका सदस्य, स्वयंसेवक, कलाकार तथा पोर्चुगलमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल सरकारका तर्फबाट पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलले नेपाल संवतको ऐतिहासिक पृष्ठभूमि, यसको सांस्कृतिक तथा राष्ट्रिय महत्त्व र अन्तर्राष्ट्रिय स्तरमा यसको प्रचारप्रसारका विषयमा प्रकाश पार्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
त्यसैगरी, नेवाः समाज पोर्तुगलका अध्यक्ष अमृत रत्न शाक्यले संस्थाको तर्फबाट बडादसैँ, दीपावली, छठ, नेपाल संवत् ११४७ तथा म्हः पूजाको शुभकामना व्यक्त गर्दै नेपाल संवत् र म्हः पूजाको मौलिक विशेषता, सांस्कृतिक महत्त्व तथा यसको संरक्षण र प्रवर्द्धनमा सबैको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको थियो।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष चोपकुमार मगर, नेवाः समाज पोर्तुगलका संरक्षक तथा प्रमुख सल्लाहकार शुमिस श्रेष्ठलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। महासंघअन्तर्गतका मातृसंस्थाका अध्यक्षहरू राजेन्द्र शेर्पा, कुमार बलसिंह तामाङ, मिलन गुरुङ, युक राना मगर, रुकमान केरुङ र अभिनास चौधरी तथा धादिङ समाजका अध्यक्ष रामचन्द्र घिमिरेलगायतको सहभागिता रहेको थियो।
सामूहिक म्हः पूजाअन्तर्गत देयः पूजा नेवाः समाज पोर्तुगलकी ज्येष्ठ महिला सदस्य लक्ष्मी श्रेष्ठले गर्नुभएको थियो। सामूहिक म्हः पूजाका लागि मण्डप व्यवस्थापन तथा तयारीको संयोजन उपाध्यक्ष रमिता तण्डुकारले गर्नुभएको थियो। यस कार्यमा सचिव नेहा कर्मचार्य तथा सदस्यहरू अमिता श्रेष्ठ, बिनिता श्रेष्ठ, बिना श्रेष्ठ, सपना चित्रकार, सानु लोहला तण्डुकार, अल्का श्रेष्ठ, एलिन श्रेष्ठ र शुस्मी गोपालीलगायतले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।
कार्यक्रमको हल तथा व्यवस्थापनको संयोजन वरिष्ठ उपाध्यक्ष दिपेन्द्र श्रेष्ठले गर्नुभएको थियो। व्यवस्थापनमा कोषाध्यक्ष सुमन श्रेष्ठ तथा सदस्यहरू दिनेश श्रेष्ठ, नारायण श्रेष्ठ, विकास श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, सुनिल श्रेष्ठ, सन्जु महर्जन, सूर्यकुमार श्रेष्ठ, बिनोद शंखदेव, केशव श्रेष्ठ, सुरज कायस्थ र आकाश किरण श्रेष्ठ (काजीमान) लगायतको विशेष योगदान रहेको थियो। त्यसैगरी, सचिव मिलन श्रेष्ठको संयोजनमा कार्यसमितिका पदाधिकारीहरूले कार्यक्रम अवधिभर सुरक्षा तथा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।कार्यक्रम महासचिव निश्चल भक्त श्रेष्ठले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रमलाई थप आकर्षक बनाउन नेवाः समाज पोर्तुगलको सांस्कृतिक टोलीले नेपाली तथा नेवारी गीत, नृत्य र देउसीभैलो प्रस्तुत गरेको थियो। सांस्कृतिक टोलीका संयोजक सन्जिब श्रेष्ठसहित कलाकारहरू सुरज सुवाल, कुमार श्रेष्ठ, शैसा तण्डुकार, स्मारिका मानन्धर, अनु श्रेष्ठ, अन्जनी राजथला, निरब राजथला र सरिता श्रेष्ठ राजथलालगायतले सांस्कृतिक प्रस्तुति दिनुभएको थियो।
नेपाल संवत् ११४७ को शुभारम्भको अवसरमा शंखधर साख्वाको तस्बिर, नेपालको राष्ट्रिय झण्डा र पोर्चुगलको राष्ट्रिय झण्डासहित बाजागाजाका साथ उपस्थित सहभागीहरूले कार्यक्रमस्थल परिक्रमा गरेका थिए। सो क्रममा ‘नेपाल संवत् राष्ट्रिय संवत्’ भन्ने मूल नारासहित नयाँ वर्षको स्वागत गरिएको थियो।
बडादसैँ २०८३, दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसर पारेर आयोजित शुभकामना आदानप्रदान तथा सामूहिक म्हः पूजा कार्यक्रमको समग्र संयोजन नेवाः समाज पोर्तुगलका अध्यक्ष अमृत रत्न शाक्य (AR Shakya) ले गर्नुभएको थियो।
आयोजकका अनुसार विदेशमा रहेर पनि आफ्नो मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। यस्ता सांस्कृतिक गतिविधिले प्रवासमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
FOUNDER/CHIEF EDITOR :