प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय अधिवेशन : यस्तो छ अध्यक्षका प्रत्याशी प्रभु थापाको परिचय र प्रतिबद्धता

प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय अधिवेशन : यस्तो छ अध्यक्षका प्रत्याशी प्रभु थापाको परिचय र प्रतिबद्धता
www.europenepalikhabar.com २०८३ कार्तिक १५ गते, आइतबार, 1-11-2026


युरोपनेपाली खबर,पोर्चुगल । लामो संगठनात्मक अनुभव, राजनीतिक संघर्ष र सामाजिक सेवाबाट खारिएका नेता प्रभुराम थापा प्रवासी नेपाली मञ्चको नेतृत्वका लागि अध्यक्ष पदमा प्रत्याशी बनेका छन्। संगठनलाई एकताबद्ध, सशक्त, पारदर्शी र आत्मनिर्भर बनाउँदै विश्वभरिका प्रवासी नेपालीहरूको साझा आवाजका रूपमा स्थापित गर्ने लक्ष्यसहित उनले आगामी चार वर्षका लागि आफ्नो परिचय, राजनीतिक यात्रा, अनुभव र प्रतिबद्धताहरू सार्वजनिक गरेका छन्।

१. व्यक्तिगत परिचय

प्रभुराम थापाको जन्म वि.सं. २०२८ सालमा लमजुङ जिल्लाको साविक मोहोरीया, हाल राइनास नगरपालिका–९ मा भएको हो। उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्।

खेलकुद क्षेत्रमा समेत सक्रिय थापा करातेका दोस्रो डान ब्ल्याक बेल्ट हुन्। उनी नेपाल आइकिडो राष्ट्रिय संघका संस्थापक उपाध्यक्षसमेत हुन्। सामाजिक, राजनीतिक र खेलकुद क्षेत्रको अनुभवले उनको नेतृत्व क्षमता र संस्थागत यात्रालाई थप फराकिलो बनाएको छ।

२. राजनीतिक तथा संगठनात्मक यात्रा

थापाको राजनीतिक यात्रा बाल्यकालदेखि नै अन्याय र विभेदविरुद्ध आवाज उठाउँदै सुरु भएको हो। ११ वर्षको उमेरदेखि नै सामाजिक तथा राजनीतिक चेतनासहित सक्रिय उनी वि.सं. २०३९ सालदेखि कम्युनिस्ट पार्टीसमर्थित विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध भएका थिए।

वि.सं. २०४७ सालमा प्रतिष्ठानस्तरीय ट्रेड युनियनको अध्यक्ष निर्वाचित भएका थापा वि.सं. २०५१ सालमा नेस्वाहोमयूको केन्द्रीय सदस्य बने। त्यसपछि संगठनको सहसचिव, सचिव हुँदै जिफन्ट राष्ट्रिय परिषद् सदस्यको जिम्मेवारीसमेत निर्वाह गरे।

संगठन विस्तार र सामुदायिक एकताका क्षेत्रमा उनले लमजुङ सम्पर्क मञ्चको संस्थापक सदस्य तथा अध्यक्ष, गण्डकी सम्पर्क मञ्चको सचिव तथा अध्यक्ष र पिपुल्स भोलेन्टियर्सको संस्थापक केन्द्रीय सदस्यका रूपमा योगदान पुर्‍याए।

सन् २००८ देखि अमेरिकामा राजनीतिक तथा संगठनात्मक गतिविधिमा सक्रिय थापा यूएनडीएफको डीसी मेट्रो कमिटी सचिवालय सदस्य बने। सन् २०१३ मा प्रवासी नेपाली मञ्च अमेरिकाको पहिलो राष्ट्रिय अधिवेशनबाट महासचिव निर्वाचित भए भने सन् २०१७ को राष्ट्रिय अधिवेशनबाट बहुमतका साथ अध्यक्षमा निर्वाचित भए। त्यसपछि प्रवासी नेपाली एकता मञ्च अमेरिका तथा प्रवासी नेपाली मञ्च अमेरिकाको राष्ट्रिय कमिटी अध्यक्षको जिम्मेवारी सम्हाले।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका संस्थापक सदस्यमध्ये एक थापाले अमेरिका महादेश इन्चार्ज तथा प्रचार विभाग प्रमुखको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। संगठनको पहिलो ऐतिहासिक अधिवेशनमा एकता र सर्वसम्मतिका लागि त्याग तथा सहमतिको भूमिका निर्वाह गरेको उनको अनुभव छ।

हाल उनी प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको उपसचिव तथा संगठन विभाग उपप्रमुखका रूपमा कार्यरत छन्। साथै, दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आयोजकको जिम्मेवारीमा रहेर संगठनात्मक गतिविधिमा सक्रिय छन्।

३. आन्दोलन, संघर्ष र राजनीतिक प्रतिबद्धता

थापाको राजनीतिक जीवन केवल संगठनात्मक जिम्मेवारीमा सीमित छैन। पञ्चायतविरोधी आन्दोलन, विशेषगरी वि.सं. २०४५/४६ को जनआन्दोलन, कर्मचारी आन्दोलन तथा पार्टीका विभिन्न संघर्ष र जुलुसमा उनले नेतृत्वदायी सहभागिता जनाएका छन्।

आन्दोलनका क्रममा पटक–पटक घाइते तथा गिरफ्तार भएका थापा वि.सं. २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका क्रममा काठमाडौंको गोंगबुमा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका थिए।

लामो राजनीतिक संघर्ष र आन्दोलनको अनुभवले लोकतन्त्र, सामाजिक न्याय, श्रमिक अधिकार र नागरिक स्वतन्त्रताप्रतिको उनको प्रतिबद्धतालाई अझ बलियो बनाएको छ।

४. पेसागत अनुभव तथा सामाजिक आबद्धता

थापासँग नेपालमा आफ्नै रेस्टुरेन्ट तथा विद्यालय सञ्चालन गरेको अनुभव छ। हाल अमेरिकामा आफ्नै व्यवसाय सञ्चालन गर्दै स्वरोजगार श्रमिकका रूपमा सक्रिय छन्।

व्यावसायिक गतिविधिसँगै सामाजिक तथा सामुदायिक क्षेत्रमा पनि उनको सक्रियता उल्लेखनीय छ। उनले विभिन्न संघसंस्थामा निम्न जिम्मेवारी निर्वाह गरिरहेका छन्।

विभिन्न सघसस्थामा आवद्धता र नेतृत्व :

अध्यक्ष, बाना बोर्ड अफ ट्रस्टी।

प्रथम उपाध्यक्ष, लायन्स क्लब्स इन्टरनेसनलअन्तर्गत बाल्टिमोर नेप्लिज क्लब।

निर्देशक, भिजन क्लब इन्टरनेसनल।

आजीवन सदस्य, ब्लड डोनर एसोसिएसन।

प्रमुख सल्लाहकार, जिफन्ट सपोर्ट ग्रुप अमेरिका।

प्रमुख सल्लाहकार, लमजुङ अमेरिका सेवा समाज।

अन्य विभिन्न सामाजिक तथा सामुदायिक संघसंस्थामा आबद्धता।

राजनीतिक संगठन, श्रमिक आन्दोलन, उद्यमशीलता र सामाजिक सेवामा प्राप्त अनुभवलाई उनले अन्तर्राष्ट्रिय संगठनको नेतृत्वमा उपयोग गर्ने लक्ष्य राखेका छन्।

५. अध्यक्ष पदमा उम्मेदवारीको उद्देश्य :

प्रत्याशी प्रभु थापाका अनुसार उनको उम्मेदवारी व्यक्तिगत पद र प्रतिष्ठाका लागि मात्र नभई प्रवासी नेपाली मञ्चलाई विश्वभरका नेपालीहरूको साझा, एकताबद्ध र प्रभावकारी संगठन बनाउने उद्देश्यबाट प्रेरित छ।

संगठन निर्माण, राजनीतिक संघर्ष, नेतृत्व र सामाजिक सेवाबाट प्राप्त अनुभवलाई उपयोग गर्दै सामूहिक नेतृत्व, संस्थागत विकास, आर्थिक पारदर्शिता र परिणाममुखी कार्यसम्पादनलाई प्राथमिकता दिने उनको प्रतिबद्धता छ।

प्रवासी नेपाली मञ्चलाई वैचारिक रूपमा स्पष्ट, सांगठनिक रूपमा बलियो, आर्थिक रूपमा आत्मनिर्भर र प्रवासी नेपालीका सवालमा प्रभावकारी पैरवी गर्न सक्ने संस्थाका रूपमा विकास गर्नु उनको मुख्य लक्ष्य रहेको छ।

६. आगामी चार वर्षका प्रमुख प्रतिबद्धताहरू :

अध्यक्ष पदमा निर्वाचित भएमा आगामी चार वर्षभित्र निम्न प्राथमिकताका आधारमा काम गर्ने थापाको प्रतिबद्धता छ।

क. संगठन विस्तार तथा सुदृढीकरण

विश्वभर सदस्यता विस्तार र वृद्धि गर्दै अन्तर्राष्ट्रिय, महादेशीय तथा राष्ट्रिय कमिटीहरूलाई थप व्यवस्थित र सशक्त बनाउने। नयाँ पुस्ता, श्रमिक, व्यवसायी, विद्यार्थी, बुद्धिजीवी तथा विभिन्न पेसामा संलग्न प्रवासी नेपालीहरूलाई संगठनमा जोड्ने।

ख. नेपालमा आफ्नै भवन निर्माण तथा खरिद

प्रवासी नेपाली मञ्चको आफ्नै भवन खरिद गर्ने र हाल भाडामा सञ्चालन भइरहेको कार्यालयलाई आफ्नै भवनमा स्थानान्तरण गरी संस्थालाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने।

ग. कानुनी दर्ता तथा संस्थागत विकास

अन्तर्राष्ट्रिय, महादेशीय र राष्ट्रिय कमिटीहरूलाई सम्बन्धित देशको प्रचलित कानुनअनुसार दर्ता गर्ने पहल गर्ने। आर्थिक पारदर्शिता, जवाफदेहिता र संस्थागत विश्वसनीयता अभिवृद्धि गर्ने।

घ. श्रमिक अधिकारको संरक्षण

नेपाल तथा प्रवासमा रहेका श्रमिकहरूको हकहित, उचित पारिश्रमिक, रोजगारीको सुरक्षा, सामाजिक संरक्षण, सुरक्षित कार्यस्थल र सम्मानजनक श्रम अधिकारका पक्षमा निरन्तर आवाज उठाउने। सम्बन्धित सरकार, निकाय तथा सरोकारवालासँग प्रभावकारी पैरवी गर्ने।

ङ .वंशजको नेपाली नागरिकताको निरन्तरता

वंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता र त्यससँग सम्बन्धित अधिकारको संरक्षणका लागि नेपाल सरकार, राजनीतिक दल, संसद् तथा नीतिनिर्माण तहमा प्रभावकारी लबिङ र नीतिगत पहल गर्ने।

च. प्रवासी नेपालीहरूको मतदान तथा नागरिकतासम्बन्धी अधिकार

विदेशमा रहेका नेपाली नागरिकहरूको मतदान अधिकार सुनिश्चित गर्न पहल गर्ने। गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन तथा नेपालको लोकतान्त्रिक प्रक्रियामा प्रवासी नेपालीहरूको अर्थपूर्ण सहभागिताका लागि निरन्तर आवाज उठाउने।

छ. नेपाली भाषा, कला र संस्कृतिको संरक्षण

विदेशमा जन्मिएका तथा हुर्किएका नयाँ पुस्तालाई नेपाली भाषा, कला, साहित्य, संस्कार र संस्कृतिसँग जोड्ने। नेपाली पहिचानको संरक्षण गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा, संस्कृति र मौलिकताको प्रवर्द्धन गर्ने।

ज. प्रवासको ज्ञान, सीप र पुँजी मातृभूमिमा परिचालन

प्रवासमा आर्जित ज्ञान, सीप, प्रविधि र पुँजीलाई नेपालको विकाससँग जोड्ने। प्रवासी नेपालीहरूलाई नेपालमा लगानी गर्न सहज हुने सुरक्षित, पारदर्शी र विभेदरहित नीति तथा कानुनी व्यवस्था निर्माणका लागि पहल गर्ने। उद्यमशीलता र रोजगारी सिर्जनामा प्रवासी नेपालीको योगदान बढाउने।

झ. युवा नेतृत्व विकास र नयाँ पुस्ताको सहभागिता

नयाँ पुस्तालाई संगठनप्रति आकर्षित गर्दै राजनीतिक तथा सांगठनिक प्रशिक्षण, नेतृत्व विकास र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने। सक्षम, ऊर्जाशील र जिम्मेवार नयाँ नेतृत्व तयार गर्ने।

. पारदर्शी, जवाफदेही र संस्थागत संगठन निर्माण

संगठनको आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाउने, नियमित आर्थिक तथा सांगठनिक प्रतिवेदन सार्वजनिक गर्ने र नेतृत्वलाई सदस्य तथा संगठनप्रति जवाफदेही बनाउने। विधि, विधान र सामूहिक निर्णय प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।

संगठनको एकता, संस्थागत विकास र प्रवासी नेपालीको अधिकार मुख्य प्राथमिकता

प्रभु राम थापाको उम्मेदवारीलाई लामो राजनीतिक तथा सांगठनिक अनुभवलाई अन्तर्राष्ट्रिय नेतृत्वसँग जोड्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ। विद्यार्थी राजनीतिदेखि ट्रेड युनियन आन्दोलन, प्रवासी संगठन निर्माण र सामाजिक सेवासम्मको यात्रालाई उनले आफ्नो नेतृत्वको आधार मानेका छन्।

आगामी चार वर्षमा संगठन विस्तार, आफ्नै भवन, कानुनी दर्ता, श्रमिक अधिकार, वंशजको नागरिकताको निरन्तरता, प्रवासी नेपालीको मतदान अधिकार र मातृभूमिमा ज्ञान, सीप तथा पुँजी परिचालनलाई प्रमुख कार्यसूची बनाएका थापाले सामूहिक नेतृत्व र संस्थागत एकतामार्फत संगठनलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

“व्यक्तिगत स्वार्थभन्दा संगठनको एकता, पदभन्दा जिम्मेवारी र नाराभन्दा परिणाममुखी कामलाई प्राथमिकता दिँदै प्रवासी नेपाली मञ्चलाई विश्वभरका प्रवासी नेपालीहरूको भरोसायोग्य साझा संगठन बनाउने मेरो लक्ष्य हो,” भन्ने उनको प्रतिबद्धताको मूल सन्देश रहेको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित