•नवीन खड्का, लोकगायक/सङ्गीतकार
स्थानीय भूगोल, सामाजिक लोकजीवन र यस क्षेत्रको ऐतिहासिक तथ्यहरू बुझौँ र समर्थन या विरोध गरौँ !
१. भौगोलिक अवस्थिति
● टोल: सुमन चौक
● स्थानीय तह: खाँदबारी नगरपालिका–३
● जिल्ला: सङ्खुवासभा
● प्रदेश: कोशी, नेपाल
२. सडक तथा बाटाहरूको सङ्गमस्थल:
सुमन चौक उत्तर–दक्षिण कोशी राजमार्गसँग जोडिएको एउटा महत्त्वपूर्ण विन्दू हो। यहाँबाट विभिन्न स्थानतर्फ जाने बाटाहरू छुट्टिन्छन्।
● उत्तर–दक्षिण कोशी राजमार्ग
● गुवाबारी सडक बाइपास
● चेवा सडक बाइपास
● खाजाखाऊ, फेदलीबारी तथा तामाङ गाउँतर्फ जाने बाइपास
३. उत्पन्न विवाद के हो?
सडक डिभिजन कार्यालय, सङ्खुवासभाले यस स्थानमा सडक पहिचानका लागि ‘सुमन चौक’ नाम अङ्कित सडक सङ्केत बोर्ड राखेपछि उक्त नामकरण उचित हो वा होइन भन्ने विषयमा विवाद उत्पन्न भएको छ।
यस विषयमा समर्थन वा विरोध गर्नुअघि हामीले त्यस स्थानको ऐतिहासिक पृष्ठभूमि, पुराना स्थाननाम, भौगोलिक पहिचान र स्थानीय समाजसँग जोडिएको वास्तविकता बुझ्नु आवश्यक छ।
४. सुमन चौकको ऐतिहासिक पृष्ठभूमि र पुराना स्थाननाम:
सुमन चौक रहेको स्थानको कुनै छुट्टै पुरानो मौलिक नाम प्रचलनमा रहेको जानकारी मलाई छैन। हालको सुमन चौकदेखि उत्तरतर्फ सानो चैनपुरेको चौतारो (सुँगुरे दर्जीको पुरानो घरअगाडिको चौतारो) देखि पित्ती रम्तेलको घरमाथि रहेको चैनपुरेको ठुलो चौतारोसम्मको क्षेत्रलाई पछिल्लो समय ‘चापागाईँ डाँडा’ भनिँदै आएको छ। तर यस क्षेत्रको पुरानो मौलिक नाम ‘सुनार पाङ्मा’ हो।
सुमन चौकलाई उक्त सुनार पाङ्माको दक्षिणी सीमाविन्दुका रूपमा बुझ्न सकिन्छ।
यसैगरी, सुमन चौकबाट खाँदबारीतर्फ जाँदा करिब २०० मिटर दक्षिणमा मानव निर्मित एउटा सानो पोखरी थियो। स्थानीय जनबोलीमा त्यसलाई ‘आहाल’ भनिन्थ्यो। मूल बाटोसँगै जोडिएको उक्त पोखरीको पूर्वी किनारमा ठूलो बरको रूख र धर्मफलैँचा थियो।
त्यस पोखरीको पश्चिमतर्फ, आहालसँगै जोडिएका करिब एक दर्जन रातो माटोका खानी अर्थात् ‘मड्केला’ थिए। स्थानीय गाउँटोलका महिलाहरू घर पोत्न आवश्यक रातो माटो लिन त्यहाँ आउने गर्थे। माटो निकाल्ने क्रममा ढिस्को खसेर हरेक वर्ष दुई-चार जनासम्म महिलाको मृत्यु हुने गरेको दुःखद स्मृति पनि यस क्षेत्रसँग जोडिएको छ।
उक्त आहालबाट करिब २०० मिटरको दूरीमा अवस्थित स्थानीय मगर समुदायकी कुलदेवी तथा अरुण उपत्यका क्षेत्रकी आराध्यदेवी श्री मङ्गलादेवीको जागृत पीठ अर्थात् वायुथानसम्मको भूभागलाई ‘मुडुलेचौर’ भनिन्थ्यो।
मुडुलेचौरको बीचबाट खाँदबारी जाने मूल बाटो र पूर्वतर्फ स्थानीय चापागाईँहरूको घरबारी एवं पश्चिमतर्फ जङ्गल थियो। उक्त जङ्गलभित्र बाक्लो चिहानघारी रहेको थियो।
यो चिहानघारी मुडुलेचौर, फेदलीबारी, लामोखोरिया, सालघारी, चिहानडाँडा, कोकले ब्याँसी हुँदै गैरीबारीसम्म फैलिएको थियो। मङ्गलादेवीस्थानमुनिको तामाङ बस्ती भने धेरै पछि मात्र विस्तार भएको हो।
मङ्गलादेवीस्थानदेखि सुमन श्रेष्ठको घरतर्फ लक्ष्मी राईको घरबारीको सिमानासम्म सडकको पश्चिम किनारमा अहिले जति पनि घरहरू बनेका छन्, तीमध्येका धेरैजसो मुडुलेचौर क्षेत्र तथा पुराना रातो माटोका खानी रहेका स्थानमाथि निर्माण भएका हुन्। यहाँका जग्गाजमिन स्थानीय चापागाईँहरूको थर्याइँमा रहेकाले उनीहरूले नै ती जग्गा अरूलाई बिक्री गरेका थिए।
हामीले स्मरण गर्नुपर्ने अर्को तथ्य के हो भने, हाल सुमन चौक रहेको स्थानमा पहिले जम्मा तीनवटा घर थिए। तीमध्ये एउटा सुमनका पुर्खा काले नेवारको घर थियो भने बाँकी दुईवटा घर सुमनका बडाबा तर्कबहादुर श्रेष्ठ र पिता जयबहादुर श्रेष्ठका थिए।
यी तथ्यहरूलाई आधार मान्दा, हालको सुमन चौक रहेको बिन्दुलाई ‘सुनार पाङ्मा’, ‘सार्के’, ‘गुवाबारी’, ‘खाजाखाऊ’, ‘मुडुलेचौर’ वा ‘आहाल’मध्ये कुनै एक नाम या अर्को छुट्टै मौलिक नामले चिनिदैनथ्यो ।
यसैले, त्यस स्थानमा ‘सुमन चौक’ नाम राखिएको विषयलाई केवल पुरानो नाम हटाएको वा ऐतिहासिक पहिचान मेटाएको दृष्टिकोणबाट हेर्नु उपयुक्त हुँदैन। यसलाई स्थानीय समाजमा स्थापित हुँदै गएको नाम र त्यससँग जोडिएको सामाजिक योगदानको दृष्टिकोणबाट पनि हेर्न आवश्यक छ।
५ . मानेभन्ज्याङदेखि ढोलबजेसम्मका पुराना स्थाननाम र तिनको ऐतिहासिक महत्त्व:
सुमन चौकको नामकरणसम्बन्धी विवादमा प्रवेश गर्नुअघि हामीले मानेभन्ज्याङदेखि खाँदबारीको ढोलबजेसम्मका पुराना स्थाननाम, तिनसँग जोडिएका पहिचान र ऐतिहासिक महत्त्वबारे एकपटक गम्भीरतापूर्वक विचार गरौँ।
हामीले हाम्रा पुर्खाले छोडेर गएका मौलिक नाम, सांस्कृतिक सम्पदा, धार्मिक आस्था, ऐतिहासिक घटनाक्रम र स्थानीय जनजीवनका स्मृतिहरूलाई कति जोगाउन सकेका छौँ? ती नामहरू किन परिवर्तन भए? तिनको संरक्षणका लागि हामीले के गर्यौँ?
यी प्रश्नहरूको उत्तर खोज्दै जाँदा सुमन चौकको विवादलाई अझ फराकिलो र सन्तुलित दृष्टिकोणबाट बुझ्न सकिन्छ।
५.१. मानेभन्ज्याङ र आसपासका पुराना स्थाननाम:
मानेभन्ज्याङ (बजार क्षेत्र) — मानेडाँडा
मानेभन्ज्याङ बजारसँगै जोडिएको डाँडालाई ‘मानेडाँडा’ भनिन्थ्यो। त्यहाँ प्रत्येक वर्ष उभौलीका अवसरमा लामा गुरुद्वारा विशेष विधिपूर्वक असिना–पानी तर्काउने अनुष्ठान गरिन्थ्यो।
सुनार गाउँ — सानो बर — लहरे बर — घिमिरे चौतारो
रामकृष्ण घिमिरेको घर रहेको स्थानको चौतारोलाई ‘सानो बर’ भनिन्थ्यो। मेम्बर दलबहादुर घिमिरेका सन्ततिहरूले चिनेको चौतारो ‘लहरे बर’ हो। त्यसैगरी, मरूवाली घिमिरेहरूले देवता तथा पितृका नाममा चिनेको चौतारोलाई ‘घिमिरे चौतारो’ भनिन्थ्यो।
दुःखको कुरा, सडक विस्तारका क्रममा हालसालै उक्त घिमिरे चौतारो जरैदेखि उखेलेर हटाइयो। यसरी एउटा ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको सम्पदा हराएको छ।
डुँडभन्ज्याङ — झरिथुम्का / नागढुङ्गा
घिमिरे चौतारोनजिकको क्षेत्रलाई ‘डुँडभन्ज्याङ’ भनिन्थ्यो। त्यहाँबाट माथि झरिथुम्का र नागढुङ्गा रहेका छन् । झरिथुम्का प्रकृति माता, वर्षाकी देवी तथा नागदेवताको विशेष विधिपूर्वक पूजा–आराधना गरिने स्थलका रूपमा परिचित छ ।
सिद्धथान:
यो स्वयम्भू पीठ अर्थात् आफैँ उत्पत्ति भएको दिव्यशिला रहेको स्थान हो। यहाँ करिब २०० वर्षअघिदेखि पूजा–आराधना गरिँदै आएको मानिन्छ।
च्याङ्बुढीको डाँडा:
हाल चोलानाथ ढुङ्गानाको नयाँ घर रहेको स्थानलाई पहिले ‘च्याङबुढीको डाँडा’ भनिन्थ्यो।
करिब ६५–७० वर्षअघिसम्म यस ठाउँमा पुरानो श्मशानघाट थियो। वरपरका गाउँबस्तीमा बसोबास गर्ने विभिन्न जातजातिका समुदायका मृतकहरूको अन्त्येष्टि यहीँ गरिन्थ्यो। आ–आफ्नो धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार कसैको दाहसंस्कार गरिन्थ्यो भने कसैलाई यहीको जङ्गलमा समाधिस्थ गरिन्थ्यो।
यस स्थानको इतिहासले विगतमा यहाँ विविध समुदायका मानिसहरूको बसोबास र मृत्यु संस्कारसँग सम्बन्धित साझा भूगोल रहेको देखाउँछ।
चैनपुरेको ठुलो चौतारो — टिमुरे डाँडा / टिमुरे चौतारो / एक्ले पिपल
यी नामले चिनिने स्थानमा करिब ५५ वर्षअघिसम्म विशाल बरको रूख र पिपलको चौतारो थियो। २०२६–२७ सालतिर आएको ठूलो आँधीहुरीले चौतारामा रहेको विशाल बरको रूख ढाल्यो। त्यसपछि पिपलको रूख मात्र बाँकी रह्यो, जसको झिनो अस्तित्व हालसम्म रहेको छ।
पाङ्ग्राको झ्याल — सानो चैनपुरेको चौतारो — मुडुलेचौर — मङ्गलादेवीस्थान
यी स्थाननामहरू पनि यस क्षेत्रको पुरानो भौगोलिक पहिचान र स्थानीय जनजीवनसँग जोडिएका छन्।
भोटे पोल्ने डाँडा:
मङ्गलादेवीस्थानबाट खाँदबारीतर्फ जाँदा मूल बाटोको दायाँतर्फ पर्ने क्षेत्रलाई पुरानो श्मशानघाट क्षेत्रका रूपमा स्मरण गरिन्छ। त्यहाँ ठाउँठाउँमा मानव समाधि अर्थात् चिहानहरू भेटिने गर्थे। त्यतिबेला सडकको दायाँबायाँ घरहरू थिएनन्।
नोर्बू भोटिनीको डाँडा:
हाल लाफा डाँडा र जिल्ला वन कार्यालय रहेको स्थानलाई पहिले ‘नोर्बू भोटिनीको डाँडा’ भनिन्थ्यो। त्यहाँ नोर्बू भोटिनी नामकी एकजना वृद्ध महिलाको मात्र घर रहेको थियो ।
लहटे गाउँ:
हालको नयाँ बजार क्षेत्रलाई पहिले ‘लहटे गाउँ’ भनिन्थ्यो। त्यस समयमा त्यहाँ लहटे समुदायका दुई घर, एक नेवार परिवार र एक बुढाथोकी परिवारका घर मात्र थिए।
खराङेको चौतारो:
हाल लभिङ हिलतर्फ झर्ने दोबाटो रहेको क्षेत्रलाई पहिले ‘खराङेको चौतारो’ भनिन्थ्यो।
लप्सीको बोट
हालको मालपोत कार्यालयमुनि रहेको पुरानो सडक क्षेत्रलाई ‘लप्सीको बोट’ भनिन्थ्यो।
चिल्ले चौतारो:
नापी कार्यालयनजिकको सानो बजार क्षेत्रलाई पहिले चिल्ले चौतारो भनिन्थ्यो ।
आङ्लालीको चौतारो:
सैनिक ब्यारेकमुनिको चौतारो क्षेत्रलाई ‘आङ्लालीको चौतारो’ भनिन्थ्यो।
कोटडाँडा / कोटेरी डाँडा:
हाल हिमालय निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालय रहेको क्षेत्रलाई पहिले ‘कोटडाँडा’ वा ‘कोटेरी डाँडा’ भनिन्थ्यो।
नेपाल–भोट युद्धका समयमा यस क्षेत्रमा नेपाली फौजको कोतखाना, गारत तथा किल्ला रहेको स्थानीय इतिहास छ। पहिले यी दुई विद्यालयको बीचमा रहेको डाँडा सम्याउने क्रममा पुराना बन्दुक तथा हातहतियार फेला परेकाले उक्त डाँडालाई पूर्ण रूपमा सम्याइएन र यथावस्थामा छोडियो भन्ने स्थानीय भनाइ छ।
पूर्वकालमा यस डाँडालाई खाँदबारी बजार तथा आसपासका क्षेत्रमा वर्षा गराउने दैवी शक्तिको निवासस्थानका रूपमा समेत पूजिन्थ्यो। डाँडामा कालो बादल लाग्नासाथ वरपरका गाउँबस्तीमा वर्षा हुन्छ भन्ने लोकविश्वास थियो।
डुँडीको चौतारो:
खाँदबारी बजारबाट खोरण्डेतर्फ जाने बाइपासको उकालोमा बर–पिपलको ठूलो चौतारो थियो। स्थानीय एक अग्रज महिलाको नामबाट त्यसलाई ‘डुँडीको चौतारो’ भनिएको हो। चौतारोमुनि उहाँको लोकप्रिय चिया पसल थियो, जसलाई खाँदबारी बजारकै पहिलो तथा पुरानो चिया पसलमध्ये एक मानिन्छ।
राडी चौतारो:
हाल बरुण होटलको उत्तरतर्फ राधादेवी श्रेष्ठको घरसँगै रहेको स्थानमा पहिले भव्य चौतारो थियो। अरुण उपत्यका क्षेत्रका गुरुङ समुदायका मानिसहरूले शनिबारे हाटमा राडी, पाखी, लुकुनीजस्ता स्थानीय सीप र उत्पादनमा आधारित वस्तुको व्यापार यहीँ गर्थे।
खाँडो पोखरी / पोखरी / आहाल:
यस स्थानमा वास्तवमै प्राकृतिक पोखरी रहेको स्थानीय स्मृति छ। हामीले थाहा पाउँदासम्म पनि पोखरीको पूर्वी किनारमा पानी जमेको देखिन्थ्यो।
वि.सं. १९९० को भूकम्पका कारण पोखरीको पानी जमिनमुनि दबिएर स्थानीय दर्शने धारातर्फ एकोहोरिएको हो भन्ने विश्वास गरिन्छ। त्यसताका पोखरीको निकास सुमन शाक्यको घरछेउबाट पिप्लेतर्फ झर्थ्यो।
यस पोखरीको पश्चिमपट्टि, हालको आरती होटलदेखि दक्षिणतर्फ राजीव होटलसम्मको क्षेत्रमा बर–पिपलको विशाल चौतारो फैलिएको थियो। शनिबारे हाटका बेला त्यहाँ माटाका भाँडा, खसीबोका, नाम्ला, दाम्ला, सुर्ती लगायतका वस्तुको व्यापार हुन्थ्यो।
पूर्णमानको चौतारो:
हालको भानुचोक क्षेत्रलाई पहिले ‘पूर्णमानको चौतारो’ भनिन्थ्यो। त्यहाँ बर–पिपलको विशाल चौतारो थियो र हाटबजार लागेका बेला व्यापार–व्यवसाय चल्ने गर्थ्यो।
चाक्सीको बोट:
पुरानो जिल्ला पञ्चायत भवन रहेको क्षेत्रलाई पहिले ‘चाक्सीको बोट’ नामले चिनिन्थ्यो।
ढोलबजे (ढोलबाजे होइन) :
हाल जिल्ला प्रहरी कार्यालय रहेको डाँडालाई ‘ढोलबजे’ भनिन्छ । नेपाल–भोट युद्धका समयमा यहाँ नेपाली फौजको उत्तरी कमान्ड पोस्ट रहेको स्थानीय इतिहास छ। यहीँबाट सेनाको कमान्ड सम्हाल्दै भोटसँगको युद्धमा सेना, बारुद–गोला, रसदपानीलगायत आवश्यक सामग्री पठाइन्थ्यो भन्ने भनाइ छ।
युद्ध आरम्भ हुँदा र विजय प्राप्त हुँदा यहाँ ठूला ढोल, नगरा तथा दुन्दुभी बजाइन्थे। यही ऐतिहासिक प्रसङ्गका कारण यस स्थानको नाम ‘ढोलबजे’ रहन गएको मानिन्छ।
६. अब मूल प्रश्नतर्फ फर्कौँ : सुमन चौक नामकरण गलत हो त?
समादरणीय अग्रजहरू, दाजुभाइ तथा दिदीबहिनीहरू!
माथि प्रस्तुत गरिएका स्थाननाम र तिनसँग जोडिएका ऐतिहासिक तथा सांस्कृतिक विवरणले एउटा महत्त्वपूर्ण प्रश्न हाम्रो सामुन्ने उभ्याउँछ । हामीले हाम्रा पुर्ख्यौली पहिचान र विरासतको संरक्षण गर्न कति ध्यान दिएका छौँ?
धेरै पुराना नाम समयक्रममा विस्थापित भएका छन्। कतिपय नाम नयाँ नामले प्रतिस्थापन भएका छन्। कतिपय चौतारा, रूख, पोखरी, धार्मिक स्थल र ऐतिहासिक भूभाग विकास निर्माणका क्रममा मासिएका छन्। कतिपय स्थानको नाम कसरी र किन परिवर्तन भयो भन्ने विषयमा आज पनि पर्याप्त बहस भएको छैन।
त्यसैले, सुमन चौकको नामकरणलाई लिएर समर्थन वा विरोध गर्नुअघि हामीले आफ्नै विगततर्फ पनि फर्केर हेर्नुपर्छ। इतिहासको संरक्षणमा हाम्रो भूमिका के रह्यो? पुर्खाले छोडेका सम्पदा जोगाउन हामीले कति पहल गर्यौँ? र, अहिले उठिरहेको विवादलाई निष्पक्ष रूपमा बुझ्न हामी कति तयार छौँ?
७. सुमन श्रेष्ठको सङ्घर्ष, योगदान र स्थानीय समाजले दिएको सम्मान
म सुमन श्रेष्ठको छिमेकी तथा सधियारसमेत हुँ। उहाँ र उहाँको परिवारको विगत, सङ्घर्ष र स्थानीय समाजसँगको सम्बन्धबारे मलाई नजिकबाट जानकारी छ।
मेरो बुझाइमा, सुमन श्रेष्ठको जीवनकथा केवल एउटा व्यक्तिको आर्थिक उन्नतिको कथा होइन; त्यो प्रतिकूल परिस्थितिबीच सङ्घर्ष गरेर आफ्नो ठाउँ बनाउने, समाजसँग सम्बन्ध जोड्ने र स्थानीय विकासमा योगदान पुर्याउने व्यक्तिको कथा पनि हो।
एउटा सामान्य किसान परिवारमा जन्मिएका सुमन श्रेष्ठले सानै उमेरदेखि कठोर सङ्घर्ष गर्नुभयो। साँझ नपर्दै स्याल र फ्याउराको आवाज सुनिने, वरिपरि श्मशानघाट र चिहानघारीले घेरिएको सुनसान क्षेत्रमा उहाँले आँट गरेर व्यापार–व्यवसाय सुरु गर्नुभयो।
उहाँले आफ्नो परिश्रमबाट जीवन अघि बढाउनुभयो। अरूसँग नराम्रो बोली नबोली, कसैको कुभलो नचिताई र आफ्नै पौरखमा विश्वास गर्दै अगाडि बढ्नुभयो भन्ने मेरो अनुभव र बुझाइ हो।
त्यतिबेला सिमसिम पानी पर्दासमेत घुँडासम्म सुरुवाल सुर्केर हिँड्नुपर्ने गल्लीहरूलाई व्यवस्थित बनाउन उहाँले आफ्नो जग्गाजमिनसमेत थपेर मोटर चल्न सक्ने बाटो निर्माणमा सहयोग गर्नुभयो। पहिले झाडी र पाखाभित्ताले भरिएका स्थानहरूमा बाटो पुर्याउन पहल गर्नुभयो, जसले पछि घरघडेरी विकास गर्न र स्थानीय जग्गाको उपयोग बढाउन सहयोग पुर्यायो।
धारा, पानी र बिजुलीको सुविधा विस्तारका लागि पनि उहाँ र उहाँका पिता सक्रिय रूपमा लाग्नुभएको थियो। गाउँ, टोल, छरछिमेक तथा विभिन्न क्षेत्रका मानिसहरूसँग सम्बन्ध स्थापित गर्दै उहाँले आफ्नो व्यवसाय अघि बढाउनुभयो र धेरैको विश्वास प्राप्त गर्नुभयो।
हिमालदेखि मधेससम्म, पूर्वदेखि पश्चिमसम्मका मानिसहरूले उहाँमाथि विश्वास गरे र साथ दिए भन्ने कुरा उहाँको सामाजिक तथा व्यावसायिक यात्रासँग जोडिएको पक्ष हो।
यी योगदानहरूको मूल्याङ्कन गर्ने क्रममा सबैले एउटै धारणा राख्नुपर्छ भन्ने छैन। कसैको योगदानलाई कसैले बढी महत्त्व दिन सक्छ, कसैले कम। तर, कुनै व्यक्तिको जीवनसङ्घर्ष, परिश्रम र स्थानीय समाजमा उसले पुर्याएको योगदानबारे छलफल गर्दा तथ्य, अनुभव र निष्पक्षतालाई आधार बनाउनु आवश्यक हुन्छ।
स्थानीय मानिसहरूले उहाँको घरबास रहेको क्षेत्रलाई मायाले ‘सुमन चौक’ भन्न थालेका हुन् भने, त्यसलाई केवल व्यक्तिको नाम राखिएको विषयका रूपमा मात्र नहेरी स्थानीय समाजले दिएको अनौपचारिक पहिचान र सम्मानका रूपमा पनि बुझ्न सकिन्छ।
यसमा कसको, कहाँ र के कुरामा गल्ती भयो? यो प्रश्नको उत्तर खोज्नुअघि हामीले उक्त नाम कसरी प्रचलनमा आयो, स्थानीय समाजले त्यसलाई किन स्वीकार गर्यो र सडक सङ्केत बोर्ड राख्ने निर्णय कुन आधारमा गरियो भन्ने कुरा पनि बुझ्नुपर्छ।
८. केही प्रश्न, जसको उत्तर हामी सबैले खोज्नुपर्छ
प्रश्न १ : पुर्ख्यौली विरासतको संरक्षणमा हाम्रो योगदान कति छ?
माथि उल्लेख गरिएका ऐतिहासिक तथा सांस्कृतिक स्थाननाम, चौतारा, पोखरी, धार्मिक स्थल र पुराना बस्तीहरूको पहिचान जोगाउन हामीले व्यक्तिगत तथा सामूहिक रूपमा के–कस्ता काम गर्यौँ?
ती सम्पदाको संरक्षण, संवर्धन र प्रचारप्रसारका लागि हामीले कति योगदान पुर्यायौँ? समयमै संरक्षण गर्न नसकिएका सम्पदाका विषयमा आत्मसमीक्षा गर्न हामी तयार छौँ?
प्रश्न २ : सुमन श्रेष्ठका नाममा चौकको नाम राख्दा आपत्ति किन?
सुमन श्रेष्ठको सङ्घर्ष र स्थानीय समाजमा उहाँले पुर्याएको योगदानलाई स्वीकार गर्ने आधारहरू छन् भने उहाँको नाममा कुनै स्थान चिनिनु अनुचित नै हुन्छ भन्ने निष्कर्षमा किन पुग्ने?
म उहाँको छिमेकी र सधियार भएकाले उहाँको जीवनयात्रालाई नजिकबाट हेर्ने अवसर पाएको छु। मेरो अनुभवमा उहाँले आफ्नो परिश्रमबाट स्थान बनाउनुभयो र स्थानीय विकासमा समेत योगदान दिनुभयो।
यदि स्थानीय समाजले उहाँप्रति सद्भाव राखेर उहाँको नामबाट चौक चिनाउन थालेको हो भने, त्यसलाई सम्मानको एउटा रूप मान्न सकिँदैन र?
तर, यससँगै अर्को प्रश्न पनि महत्त्वपूर्ण छ—कुनै स्थानमा सडक सङ्केत बोर्ड राख्दा सम्बन्धित निकायले स्थानीय इतिहास, प्रचलित नाम र आवश्यक प्रशासनिक प्रक्रियालाई ध्यान दिनुपर्छ कि पर्दैन?
मेरो विचारमा, दुवै पक्ष महत्त्वपूर्ण छन्। स्थानीय समाजले दिएको नाम र सम्मानलाई बुझ्नु आवश्यक छ; त्यसैगरी, सार्वजनिक सडकमा आधिकारिक नाम अङ्कित बोर्ड राख्दा सम्बन्धित निकायले उचित प्रक्रिया अपनाएको छ कि छैन भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ।
प्रश्न ३ : लहटे गाउँको नाम परिवर्तन हुँदा नउठेको प्रश्न सुमन चौकमा मात्रै किन?
लहटे गाउँमा पहिले लहटे समुदायका मानिसहरूको बसोबास थियो। समयक्रममा त्यो क्षेत्र ‘नयाँ बजार’ नामले परिचित भयो। यस परिवर्तनले पुरानो स्थाननाम र त्योसँग जोडिएको पहिचानलाई कति असर गर्यो भन्ने विषयमा पनि छलफल हुनुपर्छ।
यदि पुरानो नाम परिवर्तन भएर नयाँ नाम स्थापित हुन सक्छ भने, सुमन चौक नामकरणको विषयमा पनि त्यही मापदण्ड र समान दृष्टिकोण अपनाउनु उचित हुँदैन र?
यहाँ मेरो प्रश्न नयाँ नाम राख्नै हुँदैन भन्ने होइन। मेरो आग्रह के हो भने, नाम परिवर्तन र नयाँ नामको स्वीकार्यताबारे छलफल गर्दा सबै स्थानमा समान मापदण्ड अपनाइयोस्।
प्रश्न ४ : खराङेको चौतारो कसरी ‘लभिङ हिल’ बन्यो?
हाल ‘लभिङ हिल’ भनिने स्थानलाई पहिले ‘खराङेको चौतारो’ भनिन्थ्यो। मेरो जानकारीअनुसार त्यस क्षेत्रको अर्को पुरानो स्थानीय पहिचान ‘भुक्के बाहुनको बारी’ पनि हो। हालको फलैँचामुनि बोम्जन गाउँ र बाटोमाथि भुक्के बाहुनको बारी हो।
समयक्रममा नयाँ नाम स्थापित भयो। त्यस नामको प्रयोग कसरी सुरु भयो र कसरी प्रचलनमा आयो भन्नेबारे पनि अध्ययन गर्न सकिन्छ।
यदि कुनै स्थानको नाम समयक्रममा नयाँ पहिचानका कारण स्थापित हुन सक्छ भने, स्थानीय समाजमा योगदान पुर्याएका व्यक्तिको नामबाट कुनै स्थान चिनिनुलाई मात्रै अनुचित ठहर गर्न मिल्छ र?
प्रश्न ५ : अन्य स्थानका नाम कसरी परिवर्तन भए?
खाँडो पोखरी कसरी ‘पोखरी बजार’ बन्यो? पूर्णमानको चौतारो कसरी ‘भानुचोक’ बन्यो? ढुङ्गेधारा डाँडागाउँको फेदी कसरी ‘भेडेटार’ नामले परिचित भयो? माथिल्लो टारको सिरानमा रहेको गाउँको नाम ‘देउराली’ हुँदाहुँदै त्यस क्षेत्रलाई ‘मुग्लिन’ किन भनियो?
यी प्रश्नहरू उठाउनुको उद्देश्य ती नाम गलत छन् भन्नु होइन। बरु, स्थाननाम समयक्रममा कसरी परिवर्तन हुन्छन्, समाजले नयाँ नाम कसरी स्वीकार गर्छ र पुरानो पहिचानको संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा समान दृष्टिकोण अपनाउनुपर्छ भन्ने हो।
त्यसैले, पहिले छुट्टै मौलिक नाम नभएको स्थानमा स्थानीय बासिन्दा र समाजसेवीको नामबाट ‘सुमन चौक’ नाम प्रचलित भएको हो भने त्यसलाई पनि निष्पक्षतापूर्वक मूल्याङ्कन गरिनुपर्छ।
९. नामकरणको विवादभन्दा माथि उठेर सोचौँ
समाजमा सबैको विचार मिल्नुपर्छ भन्ने छैन। सबैले सबैलाई मन पराउनैपर्छ भन्ने पनि छैन। फरक मत हुनु स्वाभाविक हो, र सार्वजनिक विषयमा प्रश्न उठाउनु नागरिकको अधिकार पनि हो।
तर, विचार नमिल्दैमा कसैको व्यक्तिगत जीवनलाई अनावश्यक रूपमा निशाना बनाउनु, उसको योगदानलाई पूर्वाग्रहका आधारमा अस्वीकार गर्नु वा सामाजिक रूपमा अपमानित गर्ने प्रयास गर्नु उचित हुँदैन।
कुनै नामको समर्थन वा विरोध गर्दा त्यसको ऐतिहासिक आधार, स्थानीय प्रयोग, सामाजिक स्वीकार्यता र प्रशासनिक प्रक्रियालाई हेर्नुपर्छ। व्यक्तिप्रतिको व्यक्तिगत धारणा र सार्वजनिक नामकरणको औचित्यलाई एउटै विषय बनाएर निर्णय गर्नु हुँदैन।
मेरो विचारमा, ‘सुमन चौक’ नामको विषयलाई पनि यही दृष्टिकोणबाट हेरिनुपर्छ।
यदि उक्त नाम स्थानीय समाजमा स्वाभाविक रूपमा प्रचलित हुँदै आएको हो र त्यसले स्थानीय व्यक्तिको योगदानप्रति सम्मान व्यक्त गर्छ भने त्यसलाई बुझ्ने प्रयास गरिनुपर्छ। अर्कोतर्फ, सडक सङ्केत बोर्ड राख्ने निर्णयमा आवश्यक प्रक्रिया पूरा भएको छ कि छैन भन्ने प्रश्न उठेको छ भने त्यसको जवाफ सम्बन्धित निकायले स्पष्ट पार्नु उपयुक्त हुन्छ।
इतिहासको संरक्षण र समाजसेवीको सम्मान एकअर्काका विरोधी विषय होइनन्। हामीले पुराना स्थाननाम, चौतारा, पोखरी, धार्मिक स्थल र सांस्कृतिक सम्पदाको संरक्षण पनि गर्न सक्छौँ; साथै, स्थानीय समाजमा योगदान पुर्याएका व्यक्तिको सम्मानलाई पनि उचित स्थान दिन सक्छौँ।
यसका लागि आवश्यक छ, तथ्यमा आधारित बहस, समान मापदण्ड, आपसी सम्मान र विवेकपूर्ण निर्णय।
१०. अन्त्यमा : आत्मसमीक्षा गरौँ, निष्पक्ष बहस गरौँ
समादरणीय मान्यजन, अग्रजहरू, दाजुभाइ तथा दिदीबहिनीहरू!
मैले यहाँ प्रस्तुत गरेका विवरणहरू ध्यानपूर्वक पढिदिनुभएकोमा हार्दिक धन्यवाद। यदि यसअघि सरसर्ती मात्र पढ्नुभएको छ भने, एकपटक पुनः ध्यान दिएर पढिदिनुहुन विनम्र अनुरोध गर्दछु।
हामी सबैले आफ्नै मनभित्र केही प्रश्नहरूको उत्तर खोजौँ।
● हाम्रा पुर्खाले छोडेका ऐतिहासिक तथा सांस्कृतिक विरासतको संरक्षणमा हामीले के योगदान पुर्यायौँ?
● पुराना स्थाननाम हराउँदै जाँदा हामीले किन पर्याप्त चासो देखाउन सकेनौँ?
● नयाँ नाम स्थापित हुँदा हामीले कुन मापदण्ड अपनायौँ?
● कुनै व्यक्तिको योगदान र समाजले दिएको सम्मानको मूल्याङ्कन गर्दा हामी कति निष्पक्ष हुन सक्छौँ?
● सार्वजनिक सडक सङ्केत बोर्ड राख्दा ऐतिहासिक पहिचान, स्थानीय स्वीकार्यता र प्रशासनिक प्रक्रियाबीच सन्तुलन कसरी कायम गर्न सकिन्छ?
यी प्रश्नहरूको उत्तर खोज्नु नै यस बहसको वास्तविक उद्देश्य हो।
म सुमन श्रेष्ठको छिमेकी र सधियार भएकाले उहाँको जीवनसङ्घर्ष तथा स्थानीय समाजसँगको सम्बन्धबारे आफ्ना अनुभव प्रस्तुत गरेको हुँ। यसलाई कसैप्रतिको व्यक्तिगत आग्रह वा पूर्वाग्रहका रूपमा नभई मैले देखेको, बुझेको र अनुभव गरेको विषयमाथिको विचारका रूपमा ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु।
मलाई लाग्छ, कुनै व्यक्तिले जीवनभर गरेको परिश्रम, स्थानीय विकासमा पुर्याएको योगदान र समाजबाट प्राप्त गरेको सद्भावलाई सहजै अस्वीकार गर्नु हुँदैन। त्यसैगरी, ऐतिहासिक स्थाननाम र पुर्ख्यौली पहिचानको महत्त्वलाई पनि बिर्सनु हुँदैन।
कसैको योगदानको सम्मान गर्नु भनेको इतिहास बिर्सनु होइन; इतिहासको संरक्षण गर्नु भनेको समाजसेवीको सम्मान अस्वीकार गर्नु पनि होइन।
हामीले दुवै पक्षलाई न्याय गर्न सक्नुपर्छ।
सडक सङ्केत बोर्डबाट कुनै व्यक्तिको नाम हटाउन सकिएला, परिवर्तन गर्न पनि सकिएला। तर, स्थानीय समाजले स्वेच्छाले दिएको माया, सम्मान र पहिचानलाई आदेशकै भरमा मेटाउन सकिँदैन। त्यस्तो सम्मानको वास्तविक मूल्य समय, व्यवहार र समाजको स्मृतिले निर्धारण गर्छ।
त्यसैले, सुमन चौकको नामकरणसम्बन्धी विवादमा व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर तथ्य, इतिहास, स्थानीय जनभावना र उचित प्रक्रियाका आधारमा बहस गरौँ।
विरोध गर्नुअघि वास्तविकता बुझौँ। समर्थन गर्नुअघि पनि तथ्य हेरौँ। अनि मात्र आफ्नो धारणा बनाऔँ।
हाम्रो उद्देश्य कसैलाई जिताउनु वा कसैलाई हराउनु होइन; हाम्रो साझा इतिहासको संरक्षण गर्नु, समाजमा योगदान पुर्याउने व्यक्तिको उचित मूल्याङ्कन गर्नु र भविष्यका पुस्तालाई सही इतिहास हस्तान्तरण गर्नु हो।
यही नै हाम्रो सामूहिक जिम्मेवारी हो भन्ने मेरो विश्वास छ ।
FOUNDER/CHIEF EDITOR :