लिस्बन, पोर्चुगल । फ्रान्समा बढ्दो महँगीविरुद्ध शनिबार निकालिएको देशव्यापी र्यालीले उग्र रूप लिएपछि देशका विभिन्न सहरहरूमा व्यापक हिंसा, लुटपाट र आगजनीका घटना भएका छन् । फ्रान्समा विद्यार्थीको नेतृत्वमा गत सेप्टेम्बरदेखि नै आन्दोलन चलिरहेको थियो ।
पेरिस प्रहरीले आइतबार दिएको जानकारी अनुसार राजधानीमा शनिबार भएको हिंसात्मक प्रदर्शनका क्रममा मात्रै ८५५ जनालाई हिरासतमा लिइएको छ। पेरिसकी उपमेयर लामिया एल अराजेले राजधानीमा शनिबार यसअघि कहिल्यै नदेखिएको हिंसात्मक दृश्यहरु देखिएको बताइन् ।
शनिबारको देशव्यापी विरोध प्रदर्शनका क्रममा देशभर कुल १,२०० जनालाई पक्राउ गरिएको फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले जानकारी दिएका छन्। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा १५० प्रहरी घाइते भएका छन्।
फ्रान्सको लिमोजिस सहरमा प्रदर्शनकारीहरूले १४३ वर्ष पुरानो ऐतिहासिक टाउन हलमा आगजनी गरेका छन् । आगजनीका कारण उक्त पुरानो भवनको छानामा ठूलो क्षति पुगेको छ । अहिले आगो नियन्त्रणमा आइसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
प्रदर्शनकारीहरुले कारमा आगजनी तथा पसलहरुमा लुटपाट मच्चाएका थिए । फ्रान्समा आइतबार पनि मूल्यवृद्धिको विरोधमा प्रदर्शन जारी छ ।
युरोपभर दैनिक उपभोग्य वस्तु, सेवा र आवासको बढ्दो महँगीविरुद्ध फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा हजारौँ नागरिक सडकमा उत्रिएका छन्।
फ्रान्स र इटलीमा प्रदर्शन हिंसात्मक बन्दै आगजनी, तोडफोड र लुटपाट भएका छन् भने प्रहरीसँगको झडपमा केही घाइते र दर्जनौँ पक्राउ परेका छन्।
बेल्जियममा भर्ना शुल्कविरुद्ध विद्यार्थी आन्दोलन चर्किएको छ भने पोर्चुगलमा आवास संकटविरुद्ध दशौँ हजारले लिस्बनमा प्रदर्शन गरेका छन्।
युरोपभर दैनिक उपभोग्य वस्तु र सेवाको बढ्दो महँगीविरुद्ध आक्रोशित हजारौँ नागरिकहरू सडकमा उत्रिएका छन्। फ्रान्समा गत सेप्टेम्बरमा विद्यार्थीहरुले थालेको आन्दोलनमा शनिबारसम्म आइपुग्दा धेरै समूहहरु मिसिएका थिए ।
जसकारण, शनिबार ठूलो आगजनी, तोडफोड र हिंसाका घटना भए । तर, शनिबार विरोध प्रदर्शन फ्रान्समै मात्र सिमित थिएन । बेल्जियम, इटाली र पोर्चुगलमा पनि शनिबार बेग्ला-बेग्लै रुपमा प्रदर्शन आयोजना भएका छन् ।
फ्रान्सको गृह मन्त्रालयका अनुसार फ्रान्सभरका प्रदर्शनमा ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए । ठाउँ-ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच कडा झडप भएको थियो।
विद्यार्थीहरूको साताव्यापी प्रदर्शनपछि सुरु भएका यी मार्चहरूले उग्र रूप लिँदै तोडफोड, लुटपाट र आगजनीमा परिणत भएका छन्। हिंस्रक समूहहरूले सरकारी भवन, विलासी बुटिक, सुपरमार्केटहरूमाथि आक्रमण गर्नुका साथै प्रहरीका गाडी र अधिकारीहरूलाई समेत निशाना बनाएका थिए।
इटलीको मिलानमा पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीले मिलानस्थित सिटी सेन्टरमा आगजनी गरेका छन् । त्यस्तै विभिन्न स्टोरहरुमा लुटपाट गरेका छन् ।
महँगी र युद्धको विरोधमा स्वतस्फूर्त रुपमा आन्दोलन शान्तिपूर्ण रुपमा सुरु भएको थियो । तर, मास्क लगाएका आन्दोलनकारीहरुले ढुंगा प्रहार गर्ने तथा आगजनी गर्ने काम गरेपछि आन्दोलन नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।
भीडलाई नियन्त्रणमा लिन प्रहरीले टियर ग्याँस र पानीको फोका प्रयोग गरेको थियो । यसक्रममा कम्तीमा दुई प्रहरी घाइते भएको र ५० प्रदर्शनकारी पक्राउ परेको इटलीको समाचार एजेन्सी ला प्रेसेले जनाएको छ ।
उता, बेल्जियमको राजधानी ब्रसेल्समा पनि विश्वविद्यालयको भर्ना शुल्कविरुद्ध केही सातायता विद्यार्थीहरु आन्दोलित थिए ।
त्यसक्रममा प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। शुक्रबार विद्यार्थीहरुको प्रदर्शनमा अन्य असन्तुष्ट समुहहरु पनि मिसिदाँ प्रहरीलाई अवस्था नियन्त्रणमा लिन कठिन भयो ।
प्रदर्शनकारीहरूले आफूहरूमाथि ढुंगामुढा प्रहार गर्नुका साथै विभिन्न स्थानमा आगजनी गरेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।
पोर्चुगलमा पनि बढ्दो महँगी र आवासको संकटप्रति दशौं हजारले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले राजधानी लिस्बनमा भेला भएर प्रदर्शन गरेका हुन् ।
FOUNDER/CHIEF EDITOR :