प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन ४-५ नोभेम्बर काठमाडौंमा, अध्यक्षमा प्रभु थापा निर्विरोध हुने अपेक्षा

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन ४-५ नोभेम्बर काठमाडौंमा, अध्यक्षमा प्रभु थापा निर्विरोध हुने अपेक्षा
www.europenepalikhabar.com २०८३ कार्तिक १४ गते, शनिबार, 31-10-2026


युरोपनेपाली खबर,पोर्चुगल । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आगामी ४ र ५ नोभेम्बर २०२६ (१८ र १९ कार्तिक २०८३) मा नेपालको राजधानी काठमाडौंमा आयोजना हुँदैछ। विश्वका लगभग ४० देशबाट करिब ३५० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको अधिवेशनले आगामी चार वर्षका लागि नयाँ अन्तर्राष्ट्रिय नेतृत्व समेत चयन गर्नेछ।

विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरूलाई संगठनात्मक रूपमा एकताबद्ध गर्दै उनीहरूका साझा सरोकार, अधिकार र पहिचानका विषयलाई सशक्त रूपमा उठाउने उद्देश्यका साथ आयोजना हुन लागेको यस अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ।

अधिवेशनमा विशेषगरी प्रवासी नेपाली समुदायले लामो समयदेखि उठाउँदै आएको 'एकपटकको नेपाली, सधैँको नेपाली' भन्ने मान्यता तथा वंशजको आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता र संरक्षणको विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ। त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका श्रमिक नेपालीहरूको हक, अधिकार, सुरक्षा, सम्मान र सामाजिक संरक्षणका सवाललाई पनि प्राथमिकताका साथ उठाइने विश्वास गरिएको छ।

अधिवेशनले समसामयिक राजनीतिक तथा सामाजिक विषयमा छलफल गर्नुका साथै संगठनको भावी कार्यदिशा तय गर्ने र संगठनात्मक अनुशासन, पारदर्शिता, संस्थागत एकता एवं प्रभावकारी नेतृत्वलाई केन्द्रमा राखेर नयाँ कार्यसमिति चयन गर्नेछ।

यसैबीच, अध्यक्ष पदका उम्मेदवारका रूपमा प्रस्तुत हुनुभएका अमेरिकानिवासी तथा हाल अन्तर्राष्ट्रिय कमिटीका उपसचिव प्रभु थापाको उम्मेदवारीलाई सबैभन्दा महत्त्वकासाथ हेरिएको छ। संगठनात्मक अनुभव, कुशल सांगठनिक क्षमता, अनुशासन र विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव अन्तर्राष्ट्रिय नेतृत्वका लागि उहाँका सबल पक्षका रूपमा लिइएका छ।

संगठनलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउँदै सामूहिक नेतृत्वको अवधारणालाई व्यवहारमा उतार्न सक्ने नेतृत्वका रूपमा थापालाई हेरिएको छ। उहाँको अनुभव र कार्यक्षमताले प्रवासी नेपाली मञ्चलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त र प्रभावकारी बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

अधिवेशनमा सहभागी प्रतिनिधिहरूबीच आपसी समझदारी, सहमति र एकताको वातावरण निर्माण हुने तथा अध्यक्ष पदका उम्मेदवार प्रभु थापा निर्विरोध निर्वाचित हुने अपेक्षासमेत गरिएको छ।

समग्रमा, यस अधिवेशनले प्रवासी नेपालीहरूको अधिकार र पहिचानको संरक्षण, संगठनात्मक सुदृढीकरण तथा मातृभूमिप्रतिको दायित्वलाई थप प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। नयाँ नेतृत्वले प्रवासमा रहेका नेपालीहरूको साझा आवाजलाई अझ बुलन्द बनाउँदै भावी पुस्तासम्म नेपाली पहिचान र मातृभूमिसँगको सम्बन्धलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित