राजकुमार थापा, युरोपनेपाली खबर ।
१० नोभेम्बर, लिस्बन, पोर्चुगल । पोर्चुगलमा नोभेम्बर ११ बुधबारका दिन मौसम अत्यन्त खराब हुने पूर्वानुमानपछि सरकारले देशभर आपत्कालीन सतर्कता (Situation of Alert) घोषणा गरेको छ।
एट्लान्टिक क्षेत्रबाट विकसित भएको 'स्टोर्म चार्ल्स' (Storm Charles) नामक शक्तिशाली मौसमी प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा भारी वर्षा, तीव्र हावाहुरी, चट्याङ तथा समुद्रमा विशाल छाल आउने सम्भावना रहेको छ।
पोर्चुगलको समुद्र तथा वायुमण्डलीय संस्थान (IPMA) ले लिस्बनसहित मुख्यभूमि पोर्चुगलका आठ जिल्लामा उच्चस्तरको मौसम चेतावनी जारी गरेको छ। विशेषगरी लिस्बन जिल्लामा नोभेम्बर ११ को दिउँसोदेखि रातिसम्म हावाहुरीको उच्च जोखिम रहने जनाएको छ।
हावाको गति १२० देखि १४० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने
IPMA का अनुसार दक्षिणपश्चिम दिशाबाट चल्ने तीव्र हावाको गति प्रतिघण्टा १२० किलोमिटरसम्म पुग्न सक्छ। खुला तथा बढी जोखिमयुक्त स्थानहरूमा हावाको झोक्का प्रतिघण्टा १४० किलोमिटरसम्म पुग्न सक्ने चेतावनी दिइएको छ।
लिस्बन जिल्लामा बुधबार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म भारी तथा निरन्तर वर्षाका कारण ओरेन्ज अलर्ट र दिउँसो १२ बजेदेखि राति ९ बजेसम्म हावाहुरीका कारण रेड अलर्ट लागू हुनेछ।
त्यसैगरी समुद्रमा ५ देखि ७ मिटरसम्म अग्ला छाल उठ्न सक्ने र अधिकतम छालको उचाइ १३ मिटरसम्म पुग्न सक्ने चेतावनी दिइएको छ।
आठ जिल्लामा उच्चस्तरको मौसम चेतावनी
मौसमको प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै IPMA ले लिस्बन, सेतुबल, फारो, बेजा, एभोरा, सान्तारेम, लेइरिया र पोर्तालेग्रे जिल्लामा हावाहुरीको रेड अलर्ट जारी गरेको छ।
देशका अन्य जिल्लाहरूमा पनि वर्षा, हावाहुरी र समुद्री छालसम्बन्धी विभिन्न तहका चेतावनी जारी गरिएका छन्।
सरकारले सार्वजनिक सतर्कता घोषणा गर्यो
मौसमको गम्भीर अवस्थालाई ध्यानमा राख्दै पोर्चुगल सरकारले नोभेम्बर ११ का लागि मुख्यभूमि पोर्चुगलभरि मध्यरात १२ बजेदेखि राति ११:५९ बजेसम्म 'सिचुएसन अफ अलर्ट' घोषणा गरेको छ।
सरकारको घोषणाअनुसार जोखिम न्यूनीकरणका लागि विद्यालय तथा अत्यावश्यक नभएका सार्वजनिक सेवाहरू बन्द गर्ने, खुला स्थानमा आयोजना हुने कार्यक्रमहरू स्थगित गर्ने तथा जोखिमयुक्त पार्क, बगैँचा र वन क्षेत्रमा आवतजावतमा अस्थायी प्रतिबन्ध लगाउने निर्णय गरिएको छ।
त्यसैगरी समुद्री तट, नदी किनार तथा बाढीको जोखिम रहेका क्षेत्रमा सर्वसाधारणको आवतजावत नियन्त्रण गरिनेछ।
नागरिकलाई अनावश्यक यात्रा नगर्न आग्रह
पोर्चुगलका आन्तरिक प्रशासन मन्त्री लुइस नेभेसले बुधबारको मौसम अत्यन्त कठिन हुन सक्ने भन्दै सम्भव भएसम्म घरभित्रै सुरक्षित रहन र अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
सम्भावित भारी वर्षाका कारण सहरी क्षेत्रमा पानी जम्ने, सडक तथा भूमिगत मार्गमा बाढी आउने, रुख तथा बिजुलीका पोल ढल्ने, घर तथा भवनका छाना र अन्य संरचनामा क्षति पुग्ने र विद्युत् तथा सञ्चार सेवामा अवरोध आउन सक्ने जोखिम रहेको सरकारले जनाएको छ।
नेपाली समुदायलाई पनि विशेष सतर्कता अपनाउन आग्रह
पोर्चुगलमा ठूलो संख्यामा नेपाली समुदायको बसोबास तथा रोजगारी रहेकाले यस मौसमी जोखिमप्रति विशेष सावधानी अपनाउन आवश्यक देखिएको छ।
विशेषगरी निर्माण क्षेत्र, कृषि फार्म, डेलिभरी सेवा, रेस्टुरेन्ट तथा बाहिरी क्षेत्रमा काम गर्ने नेपाली श्रमिकहरूलाई मौसमको अवस्थाबारे जानकारी लिएर मात्र आवतजावत गर्न सुझाव दिइन्छ।
हावाहुरी चलिरहेका बेला रुखमुनि, बिजुलीका पोल, निर्माणाधीन भवन, कमजोर छाना तथा अस्थिर संरचनाको नजिक नबस्न र सवारीसाधनसमेत त्यस्ता स्थानमा पार्किङ नगर्न आग्रह गरिएको छ।
आपत्कालीन अवस्था आइपरे पोर्चुगलको आपत्कालीन सेवा नम्बर ११२ मा सम्पर्क गर्न सकिनेछ।
मौसमसम्बन्धी थप तथा अद्यावधिक जानकारीका लागि IPMA र पोर्चुगलको नागरिक सुरक्षा निकाय (ANEPC) का आधिकारिक सूचनाहरू नियमित रूपमा हेर्न पनि आग्रह गरिएको छ।
FOUNDER/CHIEF EDITOR :