प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन भोलिदेखि काठमाडौंमा, ३८ देशका ३५० प्रतिनिधि सहभागी हुँदै

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन भोलिदेखि काठमाडौंमा, ३८ देशका ३५० प्रतिनिधि सहभागी हुँदै
www.europenepalikhabar.com २०८३ कार्तिक १७ गते, मंगलबार, 3-11-2026

युरोपनेपाली खबर ।

३ नोभेम्बर, लिस्बन, पोर्चुगल । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु हुने भएको छ। अधिवेशनमा विश्वका ३८ देशबाट करिब ३५० जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने भएका छन्।

अधिवेशनबारे जानकारी दिन आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले प्रवासी नेपालीहरूले भोग्दै आएका साझा समस्या र चुनौती समाधानका लागि एकीकृत पहल आवश्यक रहेको उल्लेख गरे । अधिवेशनले यस दिशामा महत्वपूर्ण निर्णय र मार्गनिर्देशन गर्ने भट्टले विश्वास व्यक्त गरे।

मञ्चका अध्यक्ष रमेश पाण्डेले अधिवेशनको तयारी पूरा भएको जानकारी दिँदै विश्वभरका प्रवासी नेपालीहरूको सहभागितामा अधिवेशन आयोजना हुन लागेको बताए। 


‘श्रमिक अधिकार, वंशजको नागरिकताको सुनिश्चितता–समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजना हुन लागेको अधिवेशन कात्तिक १८ र १९ गते दुई दिनसम्म सञ्चालन हुनेछ।

अधिवेशनको उद्घाटन पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ। त्यसैगरी, समापन समारोहलाई पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष पाण्डेका अनुसार विश्वभर छरिएर रहेका नेपालीहरूलाई एउटै संगठनात्मक छातामुनि गोलबद्ध गर्दै उनीहरूको हक, अधिकार र पहिचानको संरक्षण गर्नु अधिवेशनको प्रमुख उद्देश्य हो। उनले भने, “प्रवासी नेपालीहरू नेपालको आर्थिक, सामाजिक तथा राष्ट्रिय समृद्धिका महत्वपूर्ण साझेदार हुन्। उनीहरूको सीप, ज्ञान, अनुभव र पुँजीलाई नेपालको विकाससँग जोड्न मञ्चले निरन्तर काम गरिरहेको छ।”

उनका अनुसार प्रवासमा रहेका नेपाली श्रमिकहरूको अधिकार, वंशजको नागरिकताको निरन्तरता तथा संवैधानिक र राजनीतिक अधिकार सुनिश्चित गर्ने विषय अधिवेशनका प्रमुख एजेन्डा हुन्। साथै, गैरआवासीय नेपाली संघलगायत प्रवासमा सक्रिय अन्य संघसंस्थासँगको सम्बन्ध र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल हुनेछ।

हाल मञ्चको राष्ट्रिय कमिटी विश्वका ३८ देशमा, पाँचवटा महादेशमा महादेशीय कमिटी तथा ६० भन्दा बढी देशमा सम्पर्क सञ्जाल विस्तार भएको आयोजकले जनाएको छ। प्रवासमा रहेका दशौँ हजार नेपाली यस संगठनमा आबद्ध रहेको मञ्चको दाबी छ।

अधिवेशनले आगामी चार वर्षका लागि नयाँ अन्तर्राष्ट्रिय कार्यसमिति चयन गर्नेछ। अध्यक्ष पाण्डेका अनुसार नयाँ नेतृत्वले विश्वभरका राष्ट्रिय कमिटीहरूबीच आपसी समन्वय र सहकार्य बढाउँदै संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

अधिवेशनका अवसरमा विश्वव्यापी ‘भिडियो कन्टेन्ट क्रिएसन प्रतियोगिता’ समेत आयोजना गरिएको छ। सूचना तथा प्रविधिको युगमा गुणात्मक र सिर्जनात्मक सामग्री निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा उत्कृष्ट भिडियो निर्माण गर्ने एक जना सर्जकलाई ७०० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित