अमेरिकामा नरेश भट्ट आफ्नै श्रीमती ममता काफ्लेको क्रुर हत्यारा ठहर

अमेरिकामा नरेश भट्ट आफ्नै श्रीमती ममता काफ्लेको क्रुर हत्यारा ठहर
www.europenepalikhabar.com २०८३ कार्तिक २४ गते, मंगलबार, 10-11-2026


पोर्चुगल  । अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्ट दोषी ठहर भएका छन्। मंगलबार भएको अन्तिम फैसलामा अदालतले नरेशलाई आफ्नै श्रीमतीको हत्यामा दोषी ठहर गरेको हो।

ममता काफ्ले सन् २०२४ को जुलाईदेखि बेपत्ता भएकी थिइन्। उनको हत्या गरी शव लुकाएको अभियोगमा नरेशविरुद्ध मुद्दा चलाइएको थियो। लामो समयदेखि चर्चामा रहेको यस प्रकरणमा अदालतले अन्ततः नरेशलाई दोषी ठहर गरेको हो।

मुद्दाको सुनुवाइका क्रममा अभियोजन पक्षले नरेशविरुद्ध विभिन्न परिस्थितिजन्य प्रमाण प्रस्तुत गरेको थियो। भट्ट दम्पतीको घर तथा एउटा आरामा भेटिएको रगतको डीएनए ममतासँग मेल खाएको प्रमाण अदालतमा पेस गरिएको थियो।

त्यस्तै, ममता बेपत्ता भएपछि नरेशले सरसफाइका सामग्री खरिद गरेको, पन्जा लगाएर विभिन्न स्थानमा फोहोर फालेको भिडियो फुटेज तथा श्रीमती हराएमा वा मृत्यु भएमा के हुन्छ भन्ने विषयमा गुगलमा खोजी गरेको तथ्यलाई पनि अभियोजन पक्षले महत्त्वपूर्ण प्रमाणका रूपमा प्रस्तुत गरेको थियो।

अभियोजनकर्ताका अनुसार नरेशले ममता बेपत्ता हुनुअघि नै सम्बन्धविच्छेद, श्रीमती हराएमा हुने कानुनी प्रक्रिया तथा श्रीमतीको मृत्यु भएपछिको अवस्थाबारे इन्टरनेटमा खोजी गरेका थिए। यी गतिविधिले घटनाको पृष्ठभूमि र अभियुक्तको योजनाबारे संकेत गर्ने अभियोजन पक्षको तर्क थियो।

सुनुवाइका क्रममा ममता र नरेशबीचको वैवाहिक सम्बन्ध राम्रो नरहेको तथ्य पनि बाहिर आएको थियो। ममताले श्रीमान्सँग छुट्टिने विषयमा आफ्ना साथीहरूसँग कुराकानी गर्ने गरेकी थिइन्। उनले छुट्टै बैंक खाता खोल्ने, नयाँ फोन लिने र बस्नका लागि अर्को ठाउँ खोज्ने तयारीसमेत गरेकी थिइन्।

ममता अमेरिकी नागरिकता प्राप्त गर्ने अन्तिम प्रक्रियामा रहेकी थिइन्। तर, अगस्ट ५ मा तय भएको अन्तिम अन्तर्वार्तामा उनी उपस्थित भइनन्। यही अवधिमा नरेशले घर बेच्ने प्रयास गरेको विषयलाई पनि अभियोजन पक्षले शङ्कास्पद घटनाक्रमका रूपमा प्रस्तुत गरेको थियो।

अदालतमा प्रतिवादी पक्षले अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाणमा प्रश्न उठाउँदै साक्षीहरूको बयान र स्मरणशक्तिको विश्वसनीयतामाथि समेत प्रश्न गरेको थियो। तर, अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाण र घटनाक्रमका आधारमा अदालतले नरेशलाई आफ्नै श्रीमतीको हत्यामा दोषी ठहर गरेको हो।

ममताको शव अहिलेसम्म फेला परेको छैन। शव फेला नपरे पनि अभियोजन पक्षले प्रस्तुत गरेका डीएनए, भिडियो फुटेज, डिजिटल खोजी तथा अन्य परिस्थितिजन्य प्रमाण यस मुद्दामा महत्त्वपूर्ण बनेका थिए।

मंगलबारको फैसलासँगै ममता काफ्ले बेपत्ता प्रकरणमा लामो समयदेखि चलिरहेको न्यायिक प्रक्रियाले महत्त्वपूर्ण निष्कर्ष पाएको छ। फैसला सुन्न अमेरिकास्थित नेपाली समुदायका प्रतिनिधिहरुको अदालतमा बाक्लो उपस्थिति थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित