काठमाडौंमा प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन आयोजना हुने

काठमाडौंमा प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन आयोजना हुने
www.europenepalikhabar.com २०८३ मंसीर ३ गते, बिहीबार, 19-11-2026


‘महिला सशक्तिकरणको आधार: रोजगारी, उद्यम र व्यापार’ मूल नारासहित जनवरी ४ मा सम्मेलन

लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी २०८३ पुस २० गते, तदनुसार ४ जनवरी २०२७ मा काठमाडौंमा ‘प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन’ आयोजना गर्ने भएको छ। ‘महिला सशक्तिकरणको आधार: रोजगारी, उद्यम र व्यापार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलन नेपाल सरकारसँगको सहकार्यमा सम्पन्न हुनेछ।

एनआरएनएको स्थापना सन् २००३ मा भएयता महिला नेतृत्व, उद्यमशीलता तथा आर्थिक सशक्तिकरणलाई केन्द्रमा राखेर विश्वस्तरीय सम्मेलन आयोजना गर्न लागिएको यो पहिलो पटक हो। विश्वका ९० देशमा रहेका गैरआवासीय नेपाली महिला तथा नेपालमा विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूलाई एउटै साझा मञ्चमा जोड्दै अनुभव, ज्ञान, सीप र अवसर आदानप्रदान गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

सम्मेलनमार्फत महिला सशक्तिकरणका क्षेत्रमा विद्यमान नीतिगत, कानुनी तथा व्यवहारिक चुनौतीहरूको पहिचान गरी तिनको समाधानका लागि आवश्यक पहल, सहकार्य र भावी कार्यदिशा तय गरिनेछ।

सम्मेलनमा महिला सशक्तिकरणसँग प्रत्यक्ष सरोकार राख्ने चार प्रमुख विषयगत क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यपत्र प्रस्तुति, बृहत् छलफल तथा अन्तरक्रिया सञ्चालन गरिनेछ।

पहिलो विषयगत क्षेत्रअन्तर्गत महिला सशक्तिकरणसँग सम्बन्धित विद्यमान ऐन, नीति, निर्देशिका तथा संस्थागत संरचनाको समीक्षा गरिनेछ। तिनमा रहेका चुनौती र सुधारका सम्भावित क्षेत्रबारे छलफल गर्दै विशेषगरी डायस्पोरामा रहेका नेपाली महिलाका अधिकार, अवसर तथा आवश्यक कानुनी सुधारका विषयलाई प्राथमिकताका साथ उठाइनेछ।

दोस्रो विषयगत क्षेत्र वैदेशिक रोजगारीसँग सम्बन्धित हुनेछ। वैदेशिक रोजगारीमा जानुअघिको तयारी, गन्तव्य मुलुकमा महिलाको सुरक्षा, अधिकार, मानसिक स्वास्थ्य तथा स्वदेश फर्किएपछि सम्मानजनक पुनःएकीकरणका सवालमा छलफल गरिनेछ। यस प्रक्रियामा एनआरएनएको भूमिका र सम्बन्धित निकायहरूसँगको आवश्यक सहकार्यका क्षेत्रसमेत पहिचान गरिने आयोजकले जनाएको छ।

तेस्रो विषयगत क्षेत्र महिला उद्यमशीलता, व्यवसायिक साझेदारी तथा आर्थिक अवसर विस्तारमा केन्द्रित हुनेछ। स्वदेश तथा विदेशमा रहेका नेपाली महिला उद्यमीबीच सहकार्य र साझेदारी विस्तार, वित्तीय स्रोत तथा प्रविधिमा पहुँच अभिवृद्धि, महिला उद्यमशीलताको विकास र व्यवसाय विस्तारका सम्भावनाबारे छलफल गरिनेछ। साथै, नेपाली मौलिक उत्पादनको उत्पादन, प्रवर्द्धन, बजारीकरण तथा अन्तर्राष्ट्रिय निर्यातमा महिलाको सहभागिता विस्तार गर्ने विषयलाई समेत प्राथमिकता दिइनेछ।

चौथो विषयगत क्षेत्र प्राकृतिक विपद्, जलवायु परिवर्तन, महिला तथा बालबालिकाको सुरक्षा र संरक्षणसँग सम्बन्धित हुनेछ। रसुवा–भोटेकोशी बाढीलगायत प्राकृतिक विपद् तथा जलवायु परिवर्तनले महिला र बालबालिकामा पारेका प्रभाव, जलवायु न्याय तथा विपद् व्यवस्थापनमा महिलाको भूमिकाबारे विमर्श गरिनेछ। लैङ्गिक हिंसा तथा मानव बेचबिखनविरुद्ध महिला र बालबालिकाको सुरक्षा एवं संरक्षणका विषयसमेत छलफलको प्राथमिकतामा रहनेछन्।

महिला सशक्तिकरणबिना राष्ट्रको दिगो तथा समावेशी समृद्धि सम्भव नहुने मान्यताका साथ आयोजना हुन लागेको सम्मेलनले स्वदेश तथा विदेशका विभिन्न क्षेत्रमा सफलता हासिल गरेका नेपाली महिलाका प्रेरणादायी अनुभव, संघर्ष र सफलताका कथालाई उजागर गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, नेपालका सातै प्रदेश तथा स्थानीय तहमा क्रियाशील महिला उद्यमीहरूलाई पुँजी, सीप, प्रविधि र बजारसँग जोड्ने महत्वपूर्ण सेतुका रूपमा सम्मेलनले भूमिका निर्वाह गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

सम्मेलनलाई सफल, प्रभावकारी तथा उपलब्धिमूलक बनाउन नेपाल सरकारका सम्बन्धित निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, महिला उद्यमी, विज्ञ, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालालाई सक्रिय सहभागिता, सहयोग र सहकार्यका लागि गैरआवासीय नेपाली संघले हार्दिक अनुरोध गरेको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित