लिस्बन, पोर्चुगल ।
युरोपनेपाली खबर, २७ नोभेम्बर, बिहीबार । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को एकता घोषणा हुने भएको छ । भोलि शुक्रबार हुने तयारी रहेको एकताको घोषणा अब आउँदो आइतबार हुनेछ ।
प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री शुशीला कार्कीको रोहवरमामा आगामी आइतबार (३० नोभेम्बर) प्रधानमन्त्री कार्यालय सिंहदरबारमा एकता घोषणाको सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ । सहमतिमा डा. बद्री केसी र महेश श्रेष्ठले हस्ताक्षर गर्ने छन् । वार्ता समितिहरुले यसको सहजीकरण गर्नेछन् ।
एकता घोषणा कार्यक्रममा संसारभरिमा एनआरएनकर्मीहरु भेला हुने अपेक्षा गरिएको छ ।
विगत ४-५ बर्ष देखि विभाजित भएर छुट्टैछुट्टै गतिविधि गर्दै आएका डा. बद्री केसीले नेतृत्व गरेको संस्थापन र महेश श्रेष्ठको गत मे को महाधिवेशनबाट बनेको समिति बीच एकता हुन लागेको हो ।
एकतापछि संघको १२ औं महाधिवेशन आयोजना गर्न ११ सदस्यीय स्टेरिङ कमिटी बन्नेछ भने उक्त कमिटीको संयोजकमा डा. बद्री केसी र महेश श्रेष्ठ रहने तयारी गरिएको छ । संघको १२ औं महाधिवेशन आगामी फेब्रुअरीमा आयोजना हुनेछ । स्टेरिङ कमिटीमा रहेका व्यक्तिहरुले १२ औं महाधिवेशनको निर्वाचनमा भाग लिन पाउने छैनन् ।
१२ औं महाधिवेशनका लागि एक महिनाको अवधि राखेर आवश्यक राष्ट्रिय समितिहरुले सदस्यता खुलाउने छन् । सदस्यता MRS सिस्टमबाट खोलिनेछ । पहिलेको MIS सिस्टमलाई अब MRS( Member Register System) सिस्टम भनिने छ ।
केन्द्रको घोषणा भएपछि देशदेशका राष्ट्रिय समन्वय परिषदको एकता प्रक्रियालाई पनि तीब्र बनाइने छ ।
FOUNDER/CHIEF EDITOR :