एनआरएनए केन्द्रीय उपाध्यक्ष तिलक गैरेद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

एनआरएनए केन्द्रीय उपाध्यक्ष तिलक गैरेद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग
www.europenepalikhabar.com २०८३ भदौ २६ गते, शुक्रबार, 11-09-2026


युरोपनेपाली खबर, लिस्बन, पोर्चुगल । मातृभूमि नेपालमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तिलक प्रसाद गैरेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका छन्।

नवलपुरको गैँडाकोट स्थायी घर भएका गैरे विगत दुई दशकदेखि पोर्चुगलमा रहेर कृषि व्यवसायमा सक्रिय छन्। विदेशमा रहेर व्यवसायिक जीवन अघि बढाइरहे पनि नेपाल र नेपाली समुदायप्रतिको आफ्नो जिम्मेवारीलाई उनले निरन्तर प्राथमिकतामा राख्दै आएका छन्।

सन् २००७ देखि एनआरएनए अभियानमा सक्रिय गैरेले प्रवासमा रहेका नेपालीलाई संगठित गर्ने, उनीहरूका समस्या तथा आवश्यकताका विषयमा आवाज उठाउने र नेपालमा आइपर्ने प्राकृतिक विपत्ति तथा संकटका समयमा सहयोग जुटाउने कार्यमा लामो समयदेखि योगदान दिँदै आएका छन्।

नेपालमा पछिल्लो समय आएको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिले आफूलाई गम्भीर रूपमा प्रभावित बनाएको बताउँदै गैरेले विपद्को यस कठिन घडीमा पीडित नेपालीको साथमा उभिनु आफ्नो मानवीय तथा सामाजिक दायित्व भएको बताए।

उनले एनआरएनएको माध्यमबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरेको ५ लाख रुपैयाँ सहयोगलाई आर्थिक सहयोग मात्र नभई मातृभूमिप्रतिको जिम्मेवारी र प्रवासी नेपालीको एकताको भावनाको प्रतीकका रूपमा लिएका छन्।

“विदेशमा रहेर कमाएको सफलताको केही अंश मातृभूमि र आफ्नै नेपाली दाजुभाइ–दिदीबहिनीको दुःखमा उपयोग गर्न सक्नु नै हाम्रो जिम्मेवारी हो,” भन्ने भावनाका साथ गैरेले विपद्को समयमा सबै नेपालीलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन्।

बाढी तथा पहिरोबाट प्रभावित परिवारको तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि राज्यको प्रयासलाई प्रवासी नेपालीको सहयोगले थप बल पुर्‍याउने उनको विश्वास छ। विपद्का बेला व्यक्तिगत तथा राजनीतिक सीमाभन्दा माथि उठेर मानवता, सहकार्य र एकताको भावनाबाट पीडितको साथमा उभिनुपर्नेमा उनले जोड दिएका छन्।

दुई दशकदेखि पोर्चुगलमा रहेर पनि नेपालसँगको भावनात्मक सम्बन्धलाई निरन्तर बलियो बनाउँदै आएका गैरेको यो सहयोगले प्रवासमा रहेका नेपालीको मातृभूमिप्रतिको जिम्मेवारी र सामाजिक उत्तरदायित्वलाई थप उजागर गरेको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित