भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरू आज २५ औँ दिनमा पनि निरन्तर जारी रह्यो।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चालित राहत कार्यको समीक्षा बैठक सम्पन्न
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा सञ्चालित राहत तथा मानवीय सहयोगका कार्यक्रमको समीक्षा बैठक सम्पन्न भएको छ। अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन महासचिव डा. चिरञ्जीवी खड्काले गर्नुभएको थियो। बैठकमा बाढी प्रभावित
क्षेत्रमा हालसम्म एनआरएनएको समन्वयमा सञ्चालन गरिएका राहत तथा मानवीय सहयोगका कार्यक्रमको समीक्षा गरिएको थियो। प्रभावित परिवारको आवश्यकता, स्थानीय अवस्था तथा भौगोलिक अवस्थालाई ध्यानमा राख्दै आगामी राहत वितरणका लागि आवश्यक रणनीति र कार्ययोजनाबारे पनि छलफल गरिएको
थियो। बैठकमा हालसम्मको राहत अभियानबाट करिब १,००० परिवार प्रत्यक्ष रूपमा लाभान्वित भएको तथा करिब १,००० जनाले स्वास्थ्य सेवा र मानसिक परामर्श प्राप्त गरेको जानकारी गराइएको थियो। राहत संकलन, विभिन्न संघसंस्था तथा सहयोगी निकायसँगको सहकार्य र सरकारसँगको समन्वयबारे
पनि जानकारी गराइएको थियो। स्थलगत भ्रमणमा सहभागी टोलीले प्रभावित क्षेत्रको अवस्था, देखिएका आवश्यकता तथा भ्रमणका क्रममा प्राप्त अनुभव आदानप्रदान गरेको थियो। राहत तथा मानवीय सहयोग अभियानमा सहकार्य र योगदान पुर्याउने विभिन्न एनसीसी, सहयोगी संस्था, दातृ निकाय
तथा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी व्यक्ति तथा संस्थाप्रति बैठकमार्फत धन्यवाद व्यक्त गरिएको छ।
राहतलाई निरन्तरता दिँदै पुनर्निर्माणमा सरकारसँग सहकार्य गर्ने
बैठकले राहत तथा मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिँदै पुनर्निर्माणको चरणमा सरकारसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ। भोटेकोशी बाढीबाट भएको क्षतिपछि पुनर्निर्माणका लागि आवश्यक योजना र आगामी कार्यदिशाबारे छलफल गर्न भोलि सोमबार राष्ट्रिय पुनर्निर्माण
प्राधिकरणमा आयोजना हुने छलफलमा संघका पदाधिकारी सहभागी हुने कार्यक्रम रहेको छ।
५ करोड ७३ लाख ५६ हजार संकलन
भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको छ। भोटेकोशी-रसुवा बाढी २०२६ को वित्तीय प्रतिवेदनअनुसार यस अभियानका लागि कुल ८ करोड ७७ लाख २१ हजार ९०६ रुपैयाँ ६६ पैसा प्रतिबद्धता प्राप्त भएकोमा हाल ५ करोड ७३ लाख
५६ हजार ४३४ रुपैयाँ २८ पैसा संकलन भएको छ। यस अभियान अन्तर्गत एनसीसीएसबाट ३ करोड ६४ लाख ५२ हजार ९७० रुपैयाँ ४२ पैसा र व्यक्तिगत सदस्यहरूबाट १ करोड ४३ लाख ७१ हजार ६४७ रुपैयाँ ४० पैसा प्राप्त भएको छ भने बैंकमा जम्मा हुन बाँकी विदेशी सहयोगसहित विभिन्न स्रोतबाट
३ करोड ५८ लाख २० हजार २२ रुपैयाँ ३८ पैसा उठ्न बाँकी रहेको छ। यसैबीच आज बसेको बैठकले पुर्व प्रतिबद्ता अनुसार आर्थिक सहयोग रकम पठाउन समेत सम्बन्धित सबैलाई आग्रह गरेको छ
ठूलो स्याफ्रुका ९८ प्रभावित परिवारलाई राहत सामग्री वितरण
एनआरएनएको समन्वय तथा सहजीकरणमा भारतको SikhAid Charitable Trust द्वारा गोसाइँकुण्ड गाउँपालिका–१, ठूलो स्याफ्रुका ९८ प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ। बाढी प्रभावित परिवारका लागि ग्यास चुलो, भान्साका सामग्री, प्रेसर कुकर तथा कम्बललगायत सामग्री
वितरण गरिएको हो। भारतबाट राहत सामग्रीसहित आएको SikhAid को टोलीले आज स्थानीय जनप्रतिनिधिको समन्वय तथा निगरानीमा प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको हो।