गैरआवासीय नेपाली सघका केन्द्रीय अध्यक्ष डा हेमराज शर्माले नेपाल सरकारद्वारा प्रस्तावित राजदूतहरूलाई बधाई तथा शुभकामना दिएका छन् ।
शर्माद्वारा जारी विज्ञप्ति अनुसार, "सरकारद्वारा भारत, चीन, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (यूके), जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि प्रस्तावित सम्पूर्ण राजदूतज्यूहरूमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ ।
सम्बन्धित क्षेत्रको ज्ञान, अनुभव, विशेषज्ञता तथा व्यवसायिक पृष्ठभूमि भएका व्यक्तित्वहरूलाई विभिन्न मुलुकका लागि राजदूतमा सिफारिस गर्नुलाई नेपाल सरकारको नवीनतम र सकारात्मक कदमका रूपमा लिएका छौँ।
विशेषगरी गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वपदाधिकारी एवं नेपाली डायस्पोरासँग नजिकबाट जोडिएर काम गर्नुभएका व्यक्तित्वहरूसमेत राजदूतका लागि सिफारिस हुनुभएकोमा हामी खुसी व्यक्त गर्दछौँ। उहाँहरूको अनुभव, ज्ञान र नेपाली समुदायसँगको निकट सम्बन्धले सम्बन्धित मुलुकमा नेपालको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउन तथा दूतावास र नेपाली समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ।
नेपालको राष्ट्रिय हित र द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउँदै आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा अघि बढाउन तथा विदेशमा रहेका नेपाली समुदायका साझा हित र सरोकारका विषयमा यहाँहरूसँग आगामी दिनमा सहकार्य र समन्वय गर्न पाउने अपेक्षा राखेका छौँ।
अन्त्यमा सिफारिस हुनुभएका सम्पूर्ण राजदूतज्यूहरूको संसदीय सुनुवाइको सफलता र उहाँहरूको आगामी जिम्मेवारी सफल रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।"
FOUNDER/CHIEF EDITOR :