नेप्लिज् वुमन एसोसिएसन पोर्चुगलद्वारा भोटेकोसी बाढीपहिरो पीडितलाई १ लाख ५१ हजार सहयोग प्रदान

नेप्लिज् वुमन एसोसिएसन पोर्चुगलद्वारा भोटेकोसी बाढीपहिरो पीडितलाई  १ लाख ५१ हजार सहयोग प्रदान
www.europenepalikhabar.com २०८३ असोज ५ गते, सोमबार, 21-09-2026


पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलका महिलाहरूको सक्रिय अगुवा संस्था नेप्लिज् वुमन एसोसिएसन पोर्चुगलले भोटेकोशी बाढी पीडितलाई १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

संस्थाले गत सेप्टेम्बर १३ तारिख आइतबार लिस्बनको मार्टिम मुनिज पार्कमा दीप प्रज्वलन कार्यक्रम समेत आयोजना गरेको थियो । उक्त दीप प्रज्वलन कार्यक्रमबाट ६० हजार रकम सङ्कलित भएको थियो त्यस्तै बाँकी रकम संस्थाका कार्यसमिति सदस्य तथा सहयोगी मनहरूबाट थप रकम संकलन गरी कुल रु. १ लाख ५१ हजार १ सय ५१ सहयोग जुटाएको थियो ।


रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि नेप्लिज वुमन एसोसिएसन पोर्चुगलले सेप्टेम्बर २१ तारिख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको एसोसिएसनकी अध्यक्ष गीता रेउलेले बताइन् ।

रकम सहयोगबारे जानकारी गराउन संस्थाकी अध्यक्ष रेउलेको नेतृत्वको कार्यसमितिका पदाधिकारीहरू पोर्चुगलस्थित नेपाली राजदूतावासमा पुगेर राजदूत प्रकाशमणि पौडेल र प्रथम सचिव रामबाबु नेपालसँग भेट गरी जानकारी गराएका थिए ।

उक्त भेटमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले महिलाहरूको सक्रिय संस्था नेप्लिज् वुमन एसोसिएसन पोर्चुगलको सहयोगको प्रशंसा गर्दै प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारका लागि उक्त सहयोग प्रशंसनीय र प्रेरणादायी रहेको बताए ।

‘सङ्कटको समयमा मातृभूमि र विपद्पीडित नागरिकप्रति नेप्लिज वुमन एसोसिएसन पोर्चुगलले देखाएको परोपकारी भावना र मानवीय सहयोगले सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ,’ राजदूत पौडेलले भने ।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा थोरै भए पनि सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो संस्था नेप्लिज वुमन एसोसिएसन पोर्चुगलको तर्फबाट सहयोग गरेको संस्थाले जनाएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित