सदस्यता नविकरण तथा नयाँ वितरणमा मनलाग्दी भएपछि एनआरएनए अष्ट्रेलिया समावेशी समुहको आपत्ति

सदस्यता नविकरण तथा नयाँ वितरणमा  मनलाग्दी भएपछि एनआरएनए अष्ट्रेलिया समावेशी समुहको आपत्ति
युरोपनेपाली खबर २०७८ असार ९ बुधबार, 23-06-2021


सिड्नी । गैर आवासीय नेपाली नेपाली संघ अष्ट्रेलियाको सदस्यता नविकरण तथा नयाँ सदस्यता लिँदा मनलाग्दी गर्न लागिएको भन्दै एनआरएनए अष्ट्रेलियामा समावेशी समूहले आपत्ति जनाएको छ ।

३१ जुलाईमा हुने निर्वाचनको लागि सदस्यको समय १० मे देखि जुन १० सम्म एक महिना राखिएको थियो । उक्त समय अपुग भएको कारण थप २ हप्ता थपिएको थियो । अहिले पेपल र गिफ्ट कार्डमार्फत एनआरएनको सदस्यता नविकरण तथा नयाँ सदस्यता लिँदा शुल्क तिर्न सकिने भएकोमा समावेशी समूहको तर्फबाट असहमति प्रकट भएको हो ।

पहिलाको प्रावधान अनुसार कुनै व्यक्तिले आफ्नो परिवारको मात्र सदस्यता लिन पाउने राखिएकोमा अहिले पेपल र गिफ्ट कार्डबाट शुल्क तिरेर सदस्यता बनाइएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । पेपल र गिफ्ट कार्डबाट शुल्क तिर्दा एकै व्यक्तिले धेरैको सदस्यता भर्न सक्ने भन्दै उक्त कदमको विरोध गर्दै समावेशी समूहको तर्फबाट ओएनएफका अध्यक्ष राजन कुमार बस्नेत, एनपीपीएफ अष्ट्रेलियाका अध्यक्ष प्रविण कंडेल, र एनएसए उपाध्यक्ष उपेन्द्र श्रेष्ठले संयुक्त पत्रकार सम्मेलन गर्दै विधान अनुसार नै सदस्यता वितरण गर्न आग्रह गरेका छन् ।

समावेशी समुहले (२०१३ देखि निरन्तर प्रतिष्पर्धा) स्वच्छ र स्वस्थ वातावरणमा निर्वाचनमा भाग लिन सक्षम र शसक्त उम्मेद्धारहरू घोषणा गरिसकेको भन्दै उनीहरुले यस विचमा एनआरएन अष्ट्रेलिया केन्द्रिय कार्यसमितिले गरेको पेपल र गिफ्ट कार्ड, कार्यकारी सदस्य उम्मेद्वारीको योग्यता र गत (१९-२१) निर्वाचनमा भएका कमीकमजोरीलाई आगामी दिनमा नदोहोर्याउने गरि मेलवर्नमा भएको संझौता उल्लंघन भएको भन्दै उनीहरुको विरोध रहेको हो ।

अघिल्लो निर्वाचनको समयमा नै खारेज भइसकेको पेपल र गिफ्ट कार्डबाट यसपटक फेरी सदस्यताको शुल्क लिन थालिएको भन्दै उक्त कदम चाँडो भन्दा चाँडो फिर्ता लिन आग्रह गरेका छन् । यसअघि इमेल लगायतबाट जानकारी गराएका उनीहरुले मंगलवार औपचारिक रुपमा पत्रकार सम्मेलन गरी चेतावनी दिएका हुन् ।

समावेशी समूहका संयोजक राजन कुमार बस्नेतले पेपल र गिफ्ट कार्डबाट सदस्यता लिने कार्य अघिल्लो निर्वाचनमा नै विरोध भएपछि बन्द गर्ने सहमति भएको बताए । तर वर्तमान नेतृत्वले निर्वाचनलाई प्रभाव पार्नेगरी अन्तिम घडीमा यी दुई प्रविधिबाट सदस्यताको शुल्क तिर्न मिल्ने बनाइएको भन्दै सो कदम नरोकिए कानूनी उपचारमा जाने चेतावनी दिए ।

एनआरएनए अभियन्ता तथा प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको अध्यक्ष अजय राजबंशीले एनआरएनएको निष्पक्ष सदस्यता वितरण र स्वच्छ चुनावको पक्षमा आफूहरु रहेको भन्दै धाँधली गर्न खोजिए कुनै पनि हालतमा सहन नसकिने चेतावनी दिए ।

‘गत २०१९–२१ निर्वाचनको समयमा पनि पेयपलबाट सदस्यता वितरण गर्ने विषयमा ठूलो विरोध भएर अब त्यसलाई प्रयोग नगर्ने सहमति भएको हो,’ एनआरएनए पूर्व कोषाधयक्ष अच्युत थपलियाले भने, ‘यस पटकको निर्वाचनको अन्तिम क्षणमा आएर यसो गर्दा दालमा कुच काला हे भन्ने देखिएको छ ।’ उनले अन्तिम समयमा आएर पेपल र गिफ्ट कार्डबाट सदस्यता थप्ने निर्णय एक महिना अघि नै किन गरिएन ? भन्दै प्रश्न गरे ।

एनआरएनए न्यूसाउथ वेल्स सहसंयोजक चुन्ना क्षेत्रीले आफूहरुको अनुरोधलाई सम्बोधन नभएको खण्डमा कानूनी उपचारमा जान बाध्य हुने चेतावनी दिए । ‘निर्वाचनलाई निष्पक्ष बनाउनुपर्ने दायित्व बोकेको समितिले चुनाव प्रभावित गर्न खोज्नु कानूनभन्दा बाहिर हो,’ उनले भने, ‘यदि एक दुइ दिनमै यो निर्णय फिर्ता नभए कानूनी उपचारमा जान्छौँ ।’

२२ जुन मंगलवार सिड्नीको क्याम्सीमा संयुक्त पत्रकार सम्मेलन गरी जारी गरिएको विज्ञप्तीमा विगत समयको भन्दा वर्तमान अवस्थामा एनआरएनको को भुमिका र जिम्मेवारी बढेको र प्रवासमा रहेका करिव ४०-८० लाख नेपालीहरुका वालिग मताधिकारको कार्यन्वयनमा सरकारको ध्यान आकर्षण, नेपाल अवस्थित पैत्रिक सम्पति माथिको स्वामित्व, जगेर्ना, वंशजको निरन्तरता (एक पटकको नेपाली सधैको लागि नेपाली ) अभियानलाई साकार बनाउनु पर्ने जिम्मेवारी एनआरएनलाई रहेको भन्दै निर्वाचनलाई पारदर्शी बनाउनुपर्नेमा अन्यथा गर्न खोजिएको बताइएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित