एउटा पत्रकारको बकपत्र : राजा वीरेन्द्रको श्रीपेच सहितको फोटोमुनि एक मगन्ते लेखेपछि..

एउटा पत्रकारको बकपत्र : राजा वीरेन्द्रको श्रीपेच सहितको फोटोमुनि एक मगन्ते लेखेपछि..
युरोपनेपाली खबर २०७८ पुष २४ शनिबार, 08-01-2022


-खिलध्वज थापा

प्रधानमन्त्री शेरबहादुर देउवा त्यस दिन आफ्ना अर्थमन्त्री रामशरण महतलाई हप्काउँदै थिए- त्यति एउटा खाता पनि बन्द गरेको रहेनछस्।

अर्थमन्त्री महतको एउटा खाता विदेशी ब्यांकमा छ भनेर सदनमा प्रतिपक्षी दल नेकपा (एमाले) ले रडाको मच्चाइरहेको थियो। सभामुख रामचन्द्र पौडेललाई प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न हम्मे हम्मे परिरहेको थियो। त्यसै सम्बन्धी समाचारहरूले अखबारका पानाहरू भरिने गरेका थिए।

यस्तैमा एक दिन म र माथवरसिंह बस्नेत प्रधानमन्त्रीको संसद् सचिवालय भवनस्थित च्याम्बरमा लुसुक्क छिरेका थियौं। बस्नेतका लागि प्रधानमन्त्री कार्यालयको ढोका सामान्यतः खुला हुन्थ्यो। उनैले मलाई त्यहाँ लगेका थिए।

हामी पस्ने बित्तिकै अर्थमन्त्री हस्याङफस्याङ गर्दै त्यहीं आइपुगे। शायद देउवा आफैंले उनलाई बोलाएका थिए। उनलाई के देख्नु थियो, देउवा बम्किहाले। हाम्रो उपस्थितिको समेत हेक्का नराखेर उनले महतलाई लोप्पा ख्वाए।

महतको अनुहार हेर्नलायक भयो। उनी कालो-नीलो भए। निन्याउरो मुख लगाएर भने, ‘उहिले विदेशमा नोकरी गर्दा ब्यांकमा खाता खोल्न लगाइएको थियो। तलब खातामा राखिदिन्थे, त्यसैले। नोकरी छोडेपछि खाता बन्द गर्न बिर्सेछु।’

रामशरण महत मौन बसिरहे। देउवाले फेरि भने, ‘मन्त्री नभए पनि मन्त्रालय तैंले नै चला। नदेखिने गरेर। भएन?’

प्रधानमन्त्रीले उनलाई तत्काल पदबाट राजीनामा दिन लगाए। भने, ‘अर्को उपाय छैन।’

अर्थमन्त्री घोसे मुन्टो लगाएर चूपचाप बसिरहे। केही बेरमा प्रधानमन्त्री देउवा नरम देखिए। आश्वस्त पार्दै भने, ‘ए बाबा, हल्ला शान्त भएपछि फेरि तँलाई नै नियुक्त गरौंला। सदन चलेसम्म हो।’

महत मौन बसिरहे। देउवाले फेरि भने, ‘मन्त्री नभए पनि मन्त्रालय तैंले नै चला। नदेखिने गरेर। भएन?’

त्यसपछि बल्ल महतले देउवाकै टेबलमा राजीनामापत्र लेख्न थाले।

देउवा नेपाल विद्यार्थी संघको सभापति भएको वेला महत महामन्त्री थिए। दुवै सँगसँगै काम गर्थे, सँगसँगै हिंड्थे, सँगसँगै खान्थे, पिउँथे। उनीहरूबीच आत्मीय सम्बन्ध थियो। तँ-तँ म-मको सम्बन्ध थियो।

देउवाले नै महतलाई योजना आयोगको उपाध्यक्षबाट तानेर अर्थ मन्त्रालयको कार्यभार सुम्पेका थिए। राजनीतिक भागबण्डाका कारण कालान्तरमा महत गिरिजाप्रसाद कोइरालाका पक्षमा उभिए भने उनका सहोदर भाइ प्रकाशशरण देउवाको भागमा परे।

लोकदीपको किन भए लुप्त

एउटा थियो, सरकारी अङ्ग्रेजी साप्ताहिक पत्रिका सन्डे डिस्प्याच। त्यही पत्रिकाको एउटा अङ्कमा प्रकाशित एक आलेखमा सन्दर्भवश राजा वीरेन्द्रको श्रीपेच सहितको भव्य औपचारिक फोटो छापियो। फोटोको क्याप्शन थियो- वसन्तपुरमा एक मगन्ते।

त्यही अङ्कको अर्को आलेखमा प्रसङ्गवश काठमाडौंको वसन्तपुरमा कुनै एक मगन्तेले भीख मागिरहेको दृश्य पनि छापिएको थियो। त्यसको क्याप्सन थियो- श्री ५ महाराजाधिराज वीरेन्द्र।

सरकारी होस् अथवा गैरसरकारी पत्रिका, पञ्चायती व्यवस्था होस् अथवा अन्य कुनै व्यवस्था, यो एक गम्भीर सम्पादकीय भूल, अझ भनौं, अपराध थियो। द राइजिङ नेपालको सहप्रकाशन थियो सन्डे डिस्प्याच र त्यसको सम्पादक थिए, लोकदीप थापा। यद्यपि, अङ्ग्रेजी भाषा भएकाले सन्डे डिस्प्याचका पाठकहरूको सङ्ख्या सीमित थियो।

सञ्चार मन्त्री रुद्रप्रसाद गिरीसँग त्यस वेला मेरो राम्रो सम्बन्ध थियो। तर, यस घटनाले गर्दा मन्त्री स्वयं आफ्नो आसन हल्लिएको अनुभव गरिरहेका थिए। उनी यसमा आफूले केही गर्न नसक्ने भनेर टकटकिए।

भूल थाहा हुने बित्तिकै बजारमा पठाइएका त्यसका प्रतिहरू हतार हतार फिर्ता गरिएका थिए। तथापि, सम्पादक थापाको टाउकोमा सङ्कट मडारिरहेकै थियो। उनी कुनै पनि वेला प्रशासनको कब्जामा पर्न सक्थे। शुभेच्छुकहरूको सल्लाहमा उनी भूमिगत भए। बजारमा उनी पक्राउ परेको हल्ला पनि फैलियो। तर, कहिलेसम्म लुकेर बस्ने?

सम्पादकको नियतमा कुनै संशय थिएन। प्राविधिक असावधानीवश त्यस्तो भएको थियो। वस्तुतः पत्रिकाको पृष्ठ संयोजन गर्ने, सजावट गर्ने र शुद्धाशुद्धि हेर्ने जिम्मा सहसम्पादकको हुन्छ। तर, त्यसो भनेर सम्पादक नैतिक रूपमा मुक्त हुन मिल्दैन।

यसअघि चिनियाँ राष्ट्रपति याङ सुन कान नेपाल आउँदा राष्ट्रिय सङ्ग्रहालयमा प्रदर्शित केही पुराना हतियारको फोटो गोरखापत्र दैनिकमा ‘भोटसँगको युद्धमा लुटिएको तोप’ क्याप्सन सहित छापिंदा उब्जिएको विवादमा त्यसका सम्पादक गोपालप्रसाद भट्टराईले आफ्नो जिम्मा लिएर समाचार सम्पादक गोकुल पोख्रेललाई बचाएका थिए। त्यही नजीर लोकदीपको सामु पनि थियो। प्रकाशक गोरखापत्र संस्थानका अधिकारीहरू किंकर्तव्यविमूढ थिए।

पत्रकारहरूको हकहितका लागि भनिएको नेपाल पत्रकार सङ्घका पदाधिकारीहरू मौन थिए। उनलाई बचाउन हामी केही सरकारी पत्रकारहरू तत्कालीन सूचना तथा सञ्चार मन्त्री रुद्रप्रसाद गिरीकहाँ गयौं। उनीसँग त्यस वेला मेरो राम्रो सम्बन्ध थियो। तर, यस घटनाले गर्दा मन्त्री स्वयं आफ्नो आसन हल्लिएको अनुभव गरिरहेका थिए। उनी यसमा आफूले केही गर्न नसक्ने भनेर टकटकिए।

यस्तो कामका लागि मन्त्रीकहाँ गएर हुन्छ त? एक दिन पाका पत्रकार बालमुकुन्ददेव पाण्डेले मलाई भने, जानुपर्छ चिरणशमशेरकहाँ। असली शक्ति त उनै हुन्।

दैनिक समाजका सम्पादक पाण्डेले यस्ता धेरै प्रशासनिक झमेलाहरू झेलेका थिए। हामी राजदरबारका तत्कालीन संवाद सचिव चिरणशमशेर राणाको ढोका घचघच्याउन पुग्यौं। थापालाई घटनाबारे ब्रिफिङ पहिले नै भइसकेको रहेछ। हाम्रो कुरा सुनेपछि उनी यो कुरा राजालाई बिन्ती चढाइदिन राजी भए।

होनाहार तथा प्रतिभाशाली पत्रकार लोकदीप थापाले माफी मात्र पाएनन्, कालान्तरमा गोरखापत्र संस्थानको महाप्रबन्धक पनि भए।

महत्त्वपूर्ण समाचार सम्प्रेषण गर्न जिम्मा मजस्तो सिकारु दिने?

समाचारदाताको लापरबाही अथवा अतिआत्मविश्वासका कारण पनि समाचार गलत हुने गर्छन्। तत्कालीन राजदरबारका परम्परागत गतिविधि सम्बन्धी समाचार एउटै 'फर्मेट'मा हुन्थे। तीजको अवसरमा बडामहारानीको पशुपतिनाथ सवारी सम्बन्धी समाचार विगत वर्षमा जसरी हुन्थ्यो, त्यस वर्ष पनि त्यसरी नै हुने निश्चित थियो। तिनै बडामहारानी, तिनै पुजारी, तिनै सुरक्षाकर्मी, त्यही स्वागत व्यवस्था, सबै त्यस्तै। समाचार प्याटर्न पनि उस्तै।

एकपटक तीजको अवसरमा बडामहारानी पशुपति सवारी हुने भएपछि त्यसको समाचार बनाउन मलाई खटाइयो। सवारी साँझपख हुने परम्परा नै थियो। म दिनभर फुक्का भएँ। म गएँ, साथीहरूसँग रञ्जना सिनेमा हलमा।

मभन्दा वरिष्ठ राससकर्मीहरूकै सल्लाहमा साँझ सिनेमा हलबाट फर्केपछि गत वर्ष तीजको बुलेटिन निकालेर तदनुकुल समाचार तयार पारेर डेस्कमा बुझाएँ। रेडियो नेपालले साँझ ७ बजेको बुलेटिनमा त्यही समाचार प्रसारण गर्‍यो। तर संयोगबस, त्यसपटक बडामहारानीको सवारी पशुपति मन्दिरमा भएको रहेनछ, महिनावारी भएका कारण।

दरबारको हप्की पाएपछि त्यो समाचारलाई तत्कालै किल (रद्द) गरियो। मलाई स्पष्टीकरण मागियो। पत्रकारिताको मात्र हैन, अहिलेसम्मकै जीवनमा मलाई मागिएको पहिलो र अन्तिम लिखित स्पष्टीकरण त्यही थियो। त्यसको जवाफ दिन पनि मलाई राससकै मेरा वरिष्ठ पत्रकारहरूले सिकाए।

त्यति महत्त्वपूर्ण समाचार सम्प्रेषण गर्ने जिम्मा मजस्तो सिकारु समाचारदातालाई दिने? भन्ने मेरो प्रतिप्रश्न थियो। राससमा म नवप्रवेशी कनिष्ठ पत्रकार थिएँ। प्रमुख समाचारदाता भैरव रिसालले मलाई त्यो काम दिएका थिए। उनैले स्थिति सम्हाले।

(पत्रकार थापाको २४ पुसमा विमोचन हुने पुस्तक ‘एक पत्रकारको बकपत्र’ बाट।)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: [email protected]
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित