टिकटकका सीईओ को हुन्, किन भए एकाएक भाइरल ?

टिकटकका सीईओ को हुन्, किन भए एकाएक भाइरल ?
www.europenepalikhabar.com २०७९ चैत १८ गते शनिबार, 1-04-2023


अमेरिकाको संसदीय सुनुवाइअघि शाउ प्रविधि क्षेत्रका सीमित मानिसमाझ परिचित थिए । अहिले आम मानिस र विशेषगरी युवा जमात उनको ‘फ्यान’ बनेका छन् । टिकटकभरि उनका भिडियोहरू सेयर गरिरहेका छन् ।

अमेरिकी संसद्को ऊर्जा तथा वाणिज्य समितिमा टिकटकका प्रतिनिधि आउने खबर पछिल्लो समय मिडियामा छाइरहेको थियो । तर जो आउन लागेका थिए, उनी कस्तो बोल्छन्, सांसदका प्रश्नहरूको प्रतिवाद कसरी गर्लान् वा कस्तो बयान देलान् भन्ने प्रस्ट थिएन । त्यो किनभने यसअघि उनी कहिले पनि मूलधारमा देखापरेका थिएनन् । तसर्थ, अमेरिकामा अब टिकटक पूर्ण रूपमा प्रतिबन्धित हुन सक्नेसम्मको आकलन कतिपयले गरेका थिए । तर अहिले माहोल केही फेरिएको छ ।

गत बिहीबारको सुनुवाइका लागि नीलो टाई–सुटमा सजिएका एक हसिला र ‘ह्यान्डसम’ युवा अमेरिकी संसद्को सामना गर्न आइपुगे । पाँच घण्टा लामो प्रश्नोत्तर अवधिभर उनले टिकटकको प्रतिरक्षामा आफ्ना भनाइहरू जोडतोडले दोहोर्‍याए । कम्पनीले प्रयोगकर्ताको डेटा सुरक्षित राख्ने, चिनियाँ कम्युनिस्ट पार्टीसँग टिकटकको कुनै सम्बन्ध नभएको र १५ करोड अमेरिकी टिकटक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न आफूहरूले सबै पहल गरेको उनको दाबी थियो । अमेरिकी नागरिकका डेटा अमेरिकामै भण्डार गरिने र त्यो अमेरिकी नागरिककै निगरानीमा रहेको उनको भनाइ थियो ।

अधिकांश पाका सांसदसामु राम्रो तयारीसाथ उपस्थित भएको भन्दै कतिपयले हाल उनको प्रशंसा गरिरहेका छन् । संसद्मा र्‍याखर्‍याख्ती पारिँदा र कतिपय सवालको स्पष्ट जवाफ नदिएरै पनि प्रशंसा बटुल्न सफल ती व्यक्ति हुन्, टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शाउ झी चीउ । संसदीय सुनुवाइअघि शाउ प्रविधि क्षेत्रका सीमित मानिसहरूमाझ मात्रै परिचित थिए । अहिले आममानिस र विशेषगरी युवा जमात उनका ‘फ्यान’ बनेका छन् । टिकटकभरि उनका भिडियोहरू सेयर गरिरहेका छन् ।

कतिपय अमेरिकी टिकटक प्रयोगकर्ता शाउलाई संसद्मा पर्याप्त बोल्ने वा प्रतिवाद गर्ने मौका नदिइएको भन्दै आफ्ना जनप्रतिनिधिसँग रिसाएका छन् । टिकटक नै नचलाउने ‘पाका सरकारी मानिस’ हरूले प्रश्न सोधेर शाउलाई व्याख्या गर्ने अवसर नदिएको, बोल्दाबोल्दै रोकेको उनीहरूको भनाइ छ । आफूहरूले टिकटकबाट थुप्रै ज्ञानबर्द्धक कुरा र नयाँ संस्कृतिबारे सिकेको उनीहरूले बताएका छन् । संसदीय सुनुवाइलगत्तै शाउलाई भेटेका दुई दर्जन अमेरिकी टिकटक इन्फ्लुएन्सरहरू संघीय राजधानी वासिङ्टन आएर प्रतिबन्धको विरोधमा आवाज उठाइरहेका छन् ।

शाउ संसदीय समितिमा उपस्थित हुँदाका तस्बिर र भिडियोहरू सम्पादन गरी, रोमान्टिक गीत, कविता वा भनाइहरू राखेर प्रशंसकहरूले उनको समर्थनमा अनेक पोस्ट गरिरहेका छन् । प्रशंसकलाई धन्यवाद दिँदै शाउले बनाएको भिडियो अहिले टिकटकमा भाइरल छ । यस्तोमा टिकटक प्रतिबन्ध गरे युवा मतदाताको गालामा झापड हानेसरह हुने अमेरिकाका किशोर अभियन्ताहरूले बताउन थालेका छन् । पछिल्लो एक अध्ययनका अनुसार जेन जी (सन् २००० देखि २०१० बीच जन्मिएको पुस्ता) हरूले टिकटक प्रतिबन्धको ५३ देखि ३४ प्रतिशतसम्मको अन्तरले विरोध गरेको एनबीसी न्युजले जनाएको छ ।

को हुन् शाउ ?

टिकटकसँग जोडिएका कुनै पनि सार्वजनिक कार्यक्रममा यसअघि कम्पनीकी चिफ अपरेटिङ अफिसर (सीओओ) भेनेसा पप्पाज टिकटक प्रतिनिधिका रूपमा देखिने गरेकी थिइन् । टिकटकले केही उथलपुथल सहेका पछिल्ला वर्षहरूमा उनी कम्पनीको ‘देखिने अनुहार’ रहे पनि यसका प्रमुख व्यक्ति भने वासिङ्टनबाट हजारौं कोस टाढा, सिंगापुरमा जन्मे/हुर्केका पूर्वसैनिक शाउ झी चीउ थिए । वर्तमान समयको सबैभन्दा चर्चित एपका प्रमुख शाउ पृष्ठभूमिमै बसेर हरेक निर्णय लिने गर्थे ।

यसपालि पहिलो पटक यी ४० वर्षे सीईओ सार्वजनिक रूपमा देखापरेका हुन् । सन् २०२१ देखि टिकटकसँग जोडिएका उनी त्यसअघि लामो समय बैंक तथा भेन्चर क्यापिटल फर्महरूमा आबद्ध थिए । उनी आएपछि गत वर्ष मात्रै आईओएस र गुगल प्ले स्टोरमा टिकटक ६७ करोड २० लाख पटक थप डाउनलोड भएको स्टाटिस्टाको तथ्यांक छ । कम्पनीले प्रयोगकर्ताका कन्टेन्ट, म्यासेज, खरिद–बिक्रीका विवरण, ठेगाना, मेटाडेटा र कुकिजहरू विज्ञापनका लागि संकलन गर्ने यसको गोपनीयता नीतिमा उल्लेख छ । ‘हामी के संकलन गर्छौं भन्नेबारे हामी हाम्रा प्रयोगर्तामाझ सक्दो पारदर्शी हुनेमा प्रतिबद्ध छौं,’ संसदीय सुनुवाइका क्रममा शाउले भनेका थिए, ‘यस क्षेत्रका अन्य कम्पनीहरूको भन्दा हामी बढी डेटा संकलन गर्छौं भन्ने मलाई लाग्दैन ।’

शाउले अन्य कम्पनीबारे बोल्दा यसलाई अतिशयोक्ति किन मानिएको छैन भने उनी यस क्षेत्रबारे थोरबहुत अनुभवी छन् । हाल टिकटकको प्रतिस्पर्धी रहेको फेसबुक सन् २००९ मा स्टार्टअप अवस्थामै छँदा शाउले त्यसमा प्रशिक्षार्थी (इन्टर्न) का रूपमा काम गरेका थिए । त्यो बेला उनी हार्भर्ड बिजनेस स्कुलमा पढ्थे । त्यहीँ उनको भेट ताइवानी मूलकी अमेरिकी युवती भिभियान काओसँग भयो, जोसँग उनले पछि विवाह गरे । हाल उनीहरूका दुई सन्तान छन् । शाउको अनुमानित कुल सम्पत्ति करिब २० करोड अमेरिकी डलर रहेको बताइन्छ ।

सन् २०१० मा स्नातक सकेर शाउले हङकङस्थित भेन्चर क्यापिटल फर्म र बेइजिङस्थित एक उपभोक्ता विद्युत् निर्माता कम्पनीमा काम गरेका थिए । हार्भर्डमा भर्ना हुनुअघि उनले बेलायत युनिभर्सिटी कलेज लन्डनमा अर्थशास्त्रमा स्नातक गरेका थिए । त्यहाँको गोल्डम्यान स्याक्समा इन्भेस्टमेन्ट बैंकरका रूपमा केही समय जागिर पनि खाएका थिए । पछि चीन आएर साओमीमा सीएफओका रूपमा काम गरी कम्पनीलाई सन् २०१८ मा सार्वजनिक गर्न उनी सफल भएका थिए । इन्भेस्टमेन्ट बैंकिङको पृष्ठभूमि र फेसबुक, डीएसटी ग्लोबल, साओमीजस्ता कम्पनीको अनुभव भएकाले नै उनलाई टिकटकमा उपयुक्त ठानिएको थियो ।

शाउले टिकटकको सीईओ र बाइटडान्सको चिफ फाइनान्सियल अफिसर गरी दोहोरो भूमिकामा काम थालेका थिए । हाल उनी बाइटडान्सका सीईओ लिआङ रुबोप्रति उत्तरदायी छन् । ‘प्रमुख कार्यकारीका रूपमा टिकटकमा महत्त्वपूर्ण भूमिका स्विकारेकाले उनले निकै ठूलो इज्जत कमाएका छन्,’ अमेरिकी क्यापिटल मार्केट कम्पनी वेडबुस सेक्युरिटिजका प्रबन्ध निर्देशक ड्यान इभ्स भन्छन्, ‘अमेरिकी सांसदहरूसँगको तनाव मत्थर गर्न उनी सबैभन्दा उत्तम व्यक्ति हुने बाइटडान्सको बुझाइ थियो ।’

युवा सीईओको संकेत

चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकका प्रमुख शाउलाई अमेरिकी सांसदहरूले सुनुवाइका क्रममा घण्टौंसम्म प्रश्न सोधेर बयान लिएको पृष्ठभूमिमा विश्वकै मूल्यवान् कम्पनीमध्ये एक एप्पलका प्रमुख टिम कुक भने चीन सरकारद्वारा आयोजित ‘चीन विकास मञ्च’ कार्यक्रममा सहभागी हुन बेइजिङ पुगेका थिए । संयोगवश कुनै बेला ‘गायब’ भएका चिनियाँ अर्बपति ज्याकमा पनि ३ वर्ष लामो जापान र अन्य क्षेत्रको बसाइपछि हालसालै पहिलो पटक हाङ्झाओमा सार्वजनिक कार्यक्रममा देखा परेका थिए, त्यहाँ उनको कम्पनी अलिबाबाको कार्यालय छ ।

चिनियाँ समाचार माध्यमहरूले टिकटक र एप्पलका प्रमुखहरूको भ्रमणको तुलना गर्ने अवसरको रूपमा पछिल्ला घटनाहरूलाई प्रयोग गरिरहेका छन् । ‘चिनियाँ कम्पनीका प्रमुखलाई वासिङ्टनमा घण्टौं केरकार गरिएको समयमा एप्पलका प्रमुखले चीनमा न्यानो स्वागत र आफ्नो बजार प्रवर्द्धनको अवसर पाएका छन्,’ चीन सरकारको स्वामित्वमा रहेको ग्लोबल टाइम्सले लेखेको छ, ‘यसले के देखाउँछ भने चीन खुला र उदार व्यापारको प्रवर्द्धन नगर्ने देश होइन ।’

कोभिड नियन्त्रणको कदम र प्रविधि क्षेत्रमाथि पार्टीको नियमन कायम गर्ने प्रयासका कारण चीनसँग बहुराष्ट्रिय कम्पनीहरू सशंकित बनेको अवस्थामा ज्याक माको व्यावसायिक दृश्यमा फिर्ती र वासिङ्टनमा चिनियाँ व्यावसायिक ‘पोस्टर ब्वाई’ लाई उतारेर चीनले सशंकित अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न खोजेको भान हुने अनुमान गर्नेहरू पनि छन् । शाउको वासिङ्टन भ्रमणले टिकटकको बढ्दो समस्या कम हुन्छन् कि थपिन्छन् भन्ने हेर्न रोचक हुनेछ ।

(एजेन्सीको सहयोगमा)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित